कोहलपुर र बैजनाथका दुई युवाको रहस्यमय मृत्यु



जेठ २८ गते कोहलपुर २ का पारस रोकाया गाउँ नजिकैको बाटोमा बेहोस अवस्थामा भेटिएका थिए । परिवारले घर पु¥याएलगत्तै उनको मृत्यु भयो । यस्तै, बैजनाथ ४ का प्रनिस बाठा मगर जेठ ३१ बेवारिसे अवस्थामा कोहलपुर ११ र १२ स्थित एक मध्यवर्ती सामुदायिक वनमा मृत भेटिएका थिए । जेठ २६ गतेदेखि सम्पर्कमा नरहेका दुवै जना मृत भेटिएपछि परिवारले हत्या भएको हुन सक्ने आंशका गरेका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले जनाएको छ ।

कोहलपुर ।

जेठ ३१ गते बिहान कोहलपुर–१२ का चन्द्रबहादुर विक बिहानै घरबाट निस्किए । कोहलपुर ११ र १२ मा रहेको मध्यवर्ती मसुरीखेत सामुदायिक वनका चौकीदार उनी बिहान ७ गते नै जंगलतिर गएका थिए । जब उनी डुडुवा खोला पार गरेर जंगलक्षेत्रको बाघजोर्दो भन्ने ठाउँमा पुगे एक्कासि गन्ध आयो । उनी भन्छन्, ‘त्यसपछि के रहेछ भनेर यताउती हेर्दा अलि पर पानीमा मान्छे घोप्टो परेको देखेँ । पहिला त आत्तिएँ, नजिकै जाँदा अर्धवैँशे केटा रहेछन् ।’ त्यहीबाट आफूले हतार हतारमा सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्षलाई फोन गरेको बताए ।

विकले फोन गर्नेबित्तिकै वनका अध्यक्ष घटनास्थलमा पुगे । पछि उनैले निकुञ्जका कर्मचारी र इलाका प्रहरी कार्यालयमा फोन गरे । चौकीदार विकका अनुसार केही समयपछि प्रहरी घटनास्थलमा पुग्यो । लास उठायो । लास गलेको र अर्धनग्न अवस्थामा भेटिएको उनले मिसन टुडेलाई बताए । सोही दिन दिउँसो ३ बजेतिर बैजनाथ ४ की अनिता बुढाको मोबाइलमा फोन आउँछ । त्यतिबेला उनी कोहलपुरबाट घर जान भनेर सालका बुटा नजिकै पुगेकी थिइन् । उनी भन्छिन्, ‘एक्कासि मेरो नम्बरमा फोन आयो ।’

फोन उठाउनेबित्तिकै फोनवालाले चप्परगौडी बिटबाट प्रहरी बोलेको बताए । सुरुमै उनलाई फोनवालाले तपाईँको घरको मानिस हराएको छ ? भनेर सोधे । उनले मलिन स्वरमा आफ्नो देवर केही दिनदेखि सम्पर्कविहीन भएको उत्तर दिइन् । फोनवालाले एकजना युवाको लास भेटिएको र यकिन गर्न आउन भने । त्यसपछि आफू आत्तिएर आफ्नी देउरानीको दिदीको घरमा गएको अनिता बताउँछिन् । त्यसपछि उनी देउरानी मिरा थापा र बुवा मानबहादुर थापालाई लिएर चप्परगौडी पुगिन् । त्यतिबेलासम्म ती युवाको लास पोष्टमार्टमका लागि प्रहरीले भेरी अस्पताल लगिसकेको रहेछ ।

प्रहरीले मोबाइलमा फोटो खिचेका रहेछन्, फोटो हेरेपछि पत्ता लाग्यो, त्यो लास बैजनाथ ४ का २९ वर्षीय ज्ञानु भनिने प्रनिस बाठा मगरकै रहेछ। श्रीमती मिराले नै उक्त लास आफ्नै श्रीमानको रहेको बताइन् । बेवारिसे अवस्थामा मृत भेटिएका मगरको शव अर्धनग्न थियो । त्यसपछि अनिता, मिरा र मान बहादुर सिधै भेरी अस्पताल पुगे । आफूहरु त्यहाँ पुगेर लास हेरेको र लास पूरै सडेको अवस्थामा रहेको अनिता बताउँछिन्।
असार ४ गते मिसन टुडे प्रनिसको घर पुग्दा सन्नाटा थियो । छोराको मृत्युको खबर सुनेका बुवा बेहोस् अवस्थामै थिए ।

कलिलो उमेरमै जीवनसाथी गुमाएकी मिरा ओछ्यानमा पल्टिरहेकी थिइन् । श्रीमान गुमाउँदाको अथाह पीडा उनको अनुहारमा प्रष्टै भल्किन्यो । मिराले आफ्नो श्रीमानसँग अन्तिमपटक जेठ २६ गते कुराकानी भएको बताइन् । उनका अनुसार सो साँझ प्रनिस एकजना साथी लिएर घर आएका थिए । उनले मलिन स्वरमा भनिन्, ‘दाईसँगै सुत्छु भनेका थिए । जेठानीको घरमा सुत्न गएका थिए । मैले जाने होइन मसँगै सुत्ने हो भनेको थिए, नाईँ नाईँ जान्छु आज मात्रै सुत्छु । भनेको नमानेरै गए ।’ जाने बेलामा ‘यार्सागुम्बाको फोटो देखाएर यसको व्यापार गर्छु, १८ लाख आउँछ भनेका थिए’ मिराले गला नै अवरुद्ध पार्दै भनिन् । आफूले ‘पर्दैन केही पनि गर्न’ भनेको उनी बताउँछिन् । ‘कमाउँदैनौ भन्ने थाहा छ । पैसा पनि माग्दैन भनेको थिएँ । नाईँ नाईँ राम्रो हुन्छ भनेर प्रनिस घरबाट हिँडे ।’ उनले बताइन् ।

त्यसपछि उनी घर आएनन् । अर्को दिन मिराले फोन गरिन्, म्यासेज गरिन् । प्रनिसलाई खाना खान आउनु भनेर फोन गरेकी थिइन्, मिराले । न फोन रिसिभ भयो, न त म्यासेजको रिप्लाई नै आयो । ‘अर्को दिन पनि फोन गरेँ, लाग्यो उठेन । २८ गते साँझबाट मोबाइल नम्बर स्वीच अफ भन्यो, पहिले पनि दुई तीनमा जाने आउने गरिरहन्थे । त्यस्तै होला भनेँ । अहिले यस्तो खबर सुनियो,’ आँसु खसाल्दै उनले भनिन् ।

परिवार भन्छ, ‘हत्या गरिएको हो, दोषीमाथि कारबाही होस्’

प्रनिसकी दिदी वविता थापा आफ्नो भाइको हत्या गरिएको बताउँछिन् । उनी भन्छिन्, ‘प्राकृतिक मृत्यु होइन् त्यति कमजोरपनि थिएन मेरो भाइ। कुनै न कुनै परिबन्धमा पारेर मारिएको छ ।’ आफ्नो भाइलाई बिनाकारण मार्ने मार्ने मान्छे पत्ता लगाइदिन उनले आग्रह गरिन् । ‘मेरी बुहारी र भदिनीलाई टुहुरो बनाउनेलाई कडाभन्दा कडा कारबाही होस्’ उनले भनिन् ।

श्रीमती मिरापनि भन्छिन्, ‘मेरो बुढा त्यत्तिकै मर्ने मान्छे त होइन, जस्ता तस्ता मान्छे मलाई जित्न सक्दैनन् भन्ने मान्छे हो । मेरो बुढालाई कसैले मारेकै हो ।’ मृतक प्रनिसका ससुरा मानबहादुर थापाका अनुसार घटना रहस्यमयी देखिन्छ । उनले घटनाको यथार्थ छानबिन हुनुपर्ने माग गरेका छन् । आफ्ना ज्वाइँको शव नग्न अवस्थामा भेटिएको भन्दै कालगतिले मृत्यु हुनै नसक्ने बताए ।

‘उनीसँग भएको मोबाइलसमेत नहुनु, लगाएका कपडा नहुनु, जंगलमा बेवारिसे अवस्थामा शव भेटिनु । यी सबै कुरा सामान्य छैनन् त्यसैले छानबिन हुनुपर्छ’ थापाले मिसन टुडेसँग भने । थापाले आफ्नै ज्वाइँसँगै भएका युवापनि मृत अवस्थामा भेटिनु रहस्यमय भएको उनको भनाइ छ। २६ गते प्रनिससँग भएका भनिएका कोहलपुरका एक अर्का युवासमेत मृत भेटिएको उनीहरुले दाबी गरेका छन् । कोहलपुर २ का पारस रोकाया जेठ २८ गते मृत भेटिएका थिए ।

मृतक पारसका बुवा सर्जन रोकायाका अनुसार उक्त दिन पारस बाटोमा बेहोस अवस्थामा भेटिएका थिए । आफूले बाटोमै भेटेर घर लिएपछि पानी खुवाएको उनले बताए । पछि घरमै छोराको मृत्यु भएको मिसन टुडेलाई बताए । यद्यपी उनको परिवारले घटनाको अनुसन्धानका लागि प्रहरी समक्ष कुनै निवेदन दर्ता गराएको छैन ।

‘हामी अनुसन्धानमै छौँ’ः प्रहरी

कोहलपुर प्रहरीले फरक फरक मितिमा कोहलपुर र बैजनाथका एक एक युवाको शव भेटिएको बतायो । इलाका प्रहरी कार्यालय कोहलपुर प्रहरी निरीक्षक रेशमलाल पौडेल जेठ ३१ गते कोहलपुर १२ मा बैजनाथ ४ का युवाको शव मृत अवस्थामा फेला परेको बताउँछन् । उनका अनुसार उक्त दिन त्यहाँका स्थानीयले शव भेटिएको खबर गरेका थिए । आफूसमेत त्यहाँ पुगेर उद्धार गरिएको उनले बताए ।

पौडेलले शव चिनिने अवस्थामा नरहेको र अर्धनग्न अवस्थामा रहेको बताए । पछि शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा लगिएको उनले बताए । यस्तै जेठ २८ गते कोहलपुर २ का पारस रोकाया पनि बेहोस अवस्थामा भेटिएको परिवारले जानकारी दिएको उनले बताए । परिवारले जानकारी दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । यद्यपि उनको परिवारले शव पोष्टमार्टम गर्न दिएन । प्रहरी निरीक्षक पौडेलले भने, ‘दुई जनाको शव भेटिएको हो । एक जनाको परिवारबाट अनुसन्धानका लागि निवेदन आएको छ ।

प्रारम्भिक रुपमा बुझ्दा हत्या भएको देखिँदैन् । हामी अनुसन्धानमै छौँ ।’ पौडेलका अनुसार प्रनिसको पोष्टमार्टम रिपोर्ट आइसकेको छ । रिपोर्टमा बाहिरी शरीरमा कुनै चोटपटक नदेखिएको उनले बताए । बाहिरी शरीरमा कुनै चोट नदेखिएपछि थप अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशालामा स्याम्पल परीक्षण गर्न पठाइएको उनले बताए । यता, प्रनिसको परिवारले कल डिलेट मागेर अनुसन्धानको माग गरेको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ७ गते बुधबार