उत्कृष्ट वन समूह र कर्मचारी सम्मानित



वीरेन्द्रनगर ।

सुर्खेतमा उत्कृष्ट कार्यसम्पादन गर्ने सामुदायिक वन उपभोक्ता समूह र कर्मचारीहरुलाई सम्मान गरिएको छ । आर्थिक वर्ष २०८१–०८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने ३ वटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी पुरस्कार वितरण गरिएको हो । डिभिजन वन कार्यालयका अनुसार पुरस्कृत हुने वन समूहमा वीरेन्द्रनगर नगरपालिका–५ स्थित रामजानकी सामुदायिक वन उपभोक्ता समूह प्रथम भएको छ भने गुर्भाकोट नगरपालिका–१३ को लामपोखरी सामुदायिक वन उपभोक्ता समूह द्वितीय भएको छ ।

यस्तै सिम्ता गाउँपालिका–३ को औल्झायमा सामुदायिक वन उपभोक्ता समूह तृतीय भएको डिभिजनल वन अधिकृत बसन्तबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्लामा सक्रिय रुपमा काम गरिरहेकामध्ये उत्कष्ट हुने ३ वटै वन समूहलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद रुपैयाँसहित सम्मान गरिएको हो । पुरस्कार बुझन आएका वन समूहका प्रतिनिधिलाई समेत दोसल्लाले सम्मान गर्दै प्रमाणपत्र हस्तान्तरण गरिएको वन अधिकृत श्रेष्ठले बताए ।

उनले भने, ‘वन क्षेत्र, जङ्गल, वन्यजन्तु र जैविक विविधताको संरक्षणमा समर्पित वन समूहको भुमिका महत्वपूर्ण रहेको छ । ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’को लक्ष्यसहित वन कार्यालयले कार्यरत कर्मचारीलाई सेवामा कटिबद्ध बनाएको छ । तर वन संरक्षणमा सबैको योगदान आवश्यक छ ।’ त्यसैगरी डिभिजन वन कार्यालय सुर्खेतअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने वन अधिकृत सुनिलकमल कँडेल, फरेष्टर इच्छाबहादुर भण्डारी, वन रक्षक डम्मरबहादुर गाहा र चौकीदार जंगबहादुर बुढालाई पनि दोसल्ला ओढाएर सम्मानपत्रसहित प्रोत्साहन गराइएको छ ।

सम्मान समारोहमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठले यस्ता सम्मानले कर्मचारीलाई काम गर्ने मनोबल बढाउने बताए । उनले भने, ‘सामान्य लाग्ने कार्य पनि उच्च मनोबल र समर्पणका साथ गरेमा महत्वपूर्ण नतिजा दिन्छ । यसमा सुशासनसहितको दिगो वन व्यवस्थापन, वन क्षेत्रको उत्पादन वृद्धि र वन पैदावारमा वन समूह र कर्मचारीबीचको सहकार्य अपरिहार्य छ ।’

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन ६ गते मंगलबार