जाजरकोट ।
वातावरण संरक्षणका लागि डिभिजन वन कार्यालय जाजरकोटले जिल्लाको भेरी नगरपालिकामा बहुवर्षीय वन नर्सरी स्थापना गरेर ५४ हजार २३४ बिरुवा उत्पादन गरेको छ । कार्यालयका सूचना अधिकारी अज रावलले स्थायी बहुवर्षीय वन नर्सरी स्थापना गरेर बिरुवा हुर्काइएको बताए। उनका अनुसार गत वर्ष २०८१–०८२ मा नर्सरी स्थापना गरेर बिरुवा उत्पादन गरिएको हो । यता नलगाडमा स्थापना भएको नर्सरीमा भने बिरुवा उमार्ने काम सुरु नभएको उनको भनाइ छ ।
वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र सामुदायिक वन व्यवस्थापनलाई सशक्त बनाउन कार्यालयले ५४ हजार बढी बिरुवा हुर्काएको छ । त्यसमा जडीबुटी बिरुवा, डाले घाँस, बहुउपयोगी बिरुवा र बहुवर्षीय बिरुवा रहेका छन् । ती बिरुवामा कार्यालयको ९ लाख २ हजार २९४ रुपैयाँमा खर्च भएको छ । सूचना अधिकारीका अनुसार रिट्ठा, तेजपात, अमला, खयर, हर्रो, बर्रो, अमला, सिसौ, काउलो, धुपी, चिउरो, टिमुर, किम्बु, लस्सी, खयर, मयुर पङ्खी, कल्की फूल लगायतका विभिन्न प्रजातिका बिरुवाहरू हुर्काइएको छ ।
यी बिरुवाहरूबाट काष्ठ, जडीबुटी र डाले घाँस सौन्दर्यमूलक तथा धार्मिक प्रयोजनका लागि लगाइएको हो । उनले भने, ‘कार्यालय आफैँले स्थायी बहुवर्षीय नर्सरी स्थापना गरेर बिरुवा उत्पादन गर्न लागेको छ । यी बिरुवा सडक क्षेत्रमा तथा खाली जग्गाहरूमा लगाउन उपयोगी हुन्छन्। सडकलाई हराभरा र सौन्दर्य राख्नका लागि पनि यी बिरुवा प्रयोग हुनेछन् ।’
जाजरकोटमा हरियाली कार्यक्रमअन्तर्गत सडक किनारा, सडक डिभाइडर, सार्वजनिक र धार्मिक क्षेत्र (विद्यालय, पार्क, मन्दिर आदि)मा बिरुवा रोपेर हरियाली प्रवद्र्धन गर्ने उद्देश्य रहेको कार्यालये जनाएको छ । यी बिरुवाहरूले वातावरणीय सुधार मात्र नभई वनजन्य सम्पदाको दीर्घकालीन संरक्षणमा पनि योगदान पु¥याउने अपेक्षा छ ।









प्रतिक्रिया दिनुहोस्