रबिन्द्र घिमिरे । जानकी (बाँके) ।
बाँकेको जानकी गाउँपालिकाले एक सामुदायिक विद्यालयलाई तीन लाख रुपैयाँसहित सम्मानित गरेको छ । पालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा पालिकाभरमा उत्कृष्ट (प्रथम) स्थान हासिल गर्न सफल शिवपुरी माध्यमिक विद्यालयलाई सम्मानित गरेको हो । जानकी गाउँपालिका वडा नम्बर १ स्थित उक्त विद्यालयलाई तीन लाख रुपैयाँसहित सम्मानपत्रद्वारा सुशोभित गरिएको पालिकाले जनाएको छ ।
त्यसैगरी सामुदायिक विद्यालयहरुमध्ये बाट नै द्वितीय भएको श्री नेरा मावि भाटनपुर्वालाई दुई लाख र संस्थागत विद्यालयतर्फ शतप्रतिशत नतिजा प्राप्त गर्ने बाल विकास इमि स्कुल, ब्राइट स्टार इमि स्कुल र जनसेवा इमि स्कुललाई समेत सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कवड्डीतर्फ द्वितीय स्थान प्राप्त गरेका खिमराज खत्री र एथ्लेटिक्सतर्फ १०० मिटर र २०० मिटर दौडमा द्वितीय स्थान प्राप्त गरेका आरुसी भट्टराईलाई पनि जनही १०÷१० हजार रुपैयाँ र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विक, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, पालिकाका शाखागत प्रमुखहरु, कर्मचारीहरु लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्