सागर गैरे ।
बाटो काट्दै गर्दा मैले मेहेन्दी हसनलाई देखेँ । उनी पुरानै अवस्थामा थिए, जस्तो वर्षौंअघि म देख्थेँ । त्यही सुस्त गति, त्यस्तै पुरानो साइकल । मैले उनीतिर हात उठाउँदै भनेँ, ‘सलाम चाचाजी !’ मुसुक्क हाँस्दै उनले साइकल रोके । ‘बाबू और के छ हालखबर ?’ उनले साइकल रोक्दै सोधे । मेरो त ठीकै छ बरु तपाईंको सुनाउनुस्,’ मैले उनैतिर प्रश्न तेस्याएँ । उनलाई देख्नेबित्तिकै मलाई गफुर कवाडीको सम्झना आउँछ ।
‘हिजोआज गफुर देखिन्नन् त, के छ उनको हालखबर ?’ मैले सोधेँ । साइकलको पाइडल चलाउने उनका खुट्टा रोकिएजस्तै उनका शब्द पनि केहीबेर थामिए । ‘गफुर त माटोमा मिलिसक्यो,’ उनको स्वरमा कम्पन थियो । म स्पष्ट हुन सकिन र फेरि सोधेँ– ‘किन, के भयो र गफुरलाई ?
‘गफुर बितेको दुई महिना भइसक्यो,’ उनले भने ।
‘गफुर जयसपुरमा आफ्नी बहिनीको घरमा बस्थ्यो । त्यो आधा घर उसको पनि थियो । बिरामी भयो । त्यहीँ बित्यो । म पनि माटो दिन (मलामी) गएको थिएँ उसलाई…,’ मेहेन्दी के–के भनिरहेका थिए । उनका शब्दले कतै मन आराले चिरेजस्तो चरक्क चिरियो । गफुर बितेको कुराले म निःशब्द भएँ । गफुरसँग भेट्ने धोको बाँकी थियो । जुन अब कहिल्यै पूरा नहुने भयो । मेरो मनमा गफुरका स्मृति चित्रहरू घुम्न थाले ।
पछाडि हात बाँधेर हिँडिरहने गफुर कहिले नेपालगन्जतिर देखिन्छ कि भनेर कति नियाल्थेँ म । कुनै चिया पसलमा, एक हातमा बिँडी र अर्काे हातमा चियाको कप समातेर बसेको गफुर देखिन्छ कि भनेर स–साना टहरा र घुम्टी पसलहरूमा पनि नजर घुमाउँथेँ । कहिलेकाहीँ सपनामा गफुर देखिन्थ्यो । सलाम बाबू भन्दै हाँसिरहेको, सधैँजस्तै सरल र आत्मीय । तर त्यो अब केवल स्मृति हुने भयो ।
‘यस्तै हो, संसारमा जन्म लिएपछि छाड्ने त सम्झना मात्र त हो,’ मैले आफँैले आफैँलाई सम्झाएँ । मेहेन्दीसँग छुट्टिएपछि म चुपचाप घर फर्किएँ, तर म वास्तवमा गफुरकै यादमा भासिइरहेको थिएँ । उफ् ! गफुर बितेको थाहा पाएको भए, म पनि त उसलाई माटो दिन जान्थेँ ।
तर त्यो अवसर पनि छुट्यो । साढे तीन दशकअघिको कुरा हो । बिहानको साढे चार बज्दै हुन्थ्यो । कोहलपुरका सडकहरूमा अँध्यारो अझै हराएको हुँदैनथ्यो तर त्यो अँध्यारोलाई चिर्दै नेपालगन्जतर्फबाट साइकलको लाम प्रत्येक दिनजस्तो आउँथ्यो । जाडो होस् या गर्मी, कवाडीहरू कहिल्यै ढिला गर्दैनथे । बस, वर्षातका एकाध महिना मात्र जब गाउँलेहरू खेतिपातीमा व्यस्त हुन्थे, त्यतिबेला उनीहरू देखिँदैनथे ।
कोहलपुरको बजार बिस्तारै ब्युँझिँदै हुन्थ्यो । केही पसलहरू त्यतिबेलै खुलिसकेका हुन्थे । तीमध्ये सबैभन्दा चर्चित थियो, बलदेव भुजुवाको नास्ता पसल, जहाँ बिहानै चिया, छोला समोसा र जेरी पुरी पाकिसकेको हुन्थ्यो । यी खानाको सुगन्ध बिहानै बाटैमा फैलिन्थ्यो ।
कोहलपुरमा अरू दुई मिठाई पसल पनि थिए, अर्जुन मिष्ठान्न भण्डार र मालिका मिठाई पसल । कवाडीहरू यिनै पसलहरू अगाडि साइकल अड्याउँथे, अनि थकित आवाजमा एक प्लेट छोला समोसा र एक गिलास चिया माग्थे । नास्ता खाएपछि उनीहरू हाते पम्पबाट टन्न पानी पिउँथे र फेरि साइकलको हेन्डिल समाउँथे । उनीहरूका साइकलको क्यारियरमा आलु, प्याज, काउली, भेली, चिनी, मैदा, दाल, चामल आदि राखिएका तीन चार वटा बोरा हुन्थे । सीमापार भारतको बजारबाट ल्याइएका ती सामानहरू कोहलपुरका मूल्यभन्दा सस्ता पर्थे । त्यसैले स्थानीय व्यापारीहरू समेत उनीहरूकै प्रतिक्षामा हुन्थे ।
साइकलमा एकाध बोरा बाँधेर अर्काे किसिमका कवाडीहरू हिँड्थे । जो मौसमसँगै बदलिने फलफूल बोकेर ल्याउँथे । गर्मीमा आँप र लिची, जाडोमा स्याउ र सुन्तला, कहिलेकाहीँ ममफली र केरा पनि । उनीहरू गाउँ–गाउँ डुल्थे, कहिले मधुर त कहिले कर्कश स्वरमा कराउँथे– ‘टुटाफुटा लोहा–प्लास्टिक से ममफली बदल्लो…!’ उनीहरूको पोसाकबाट भारतीय हुलिया झल्किथ्यो । चेक लुङ्गी, मोटो सर्ट, रबरको चप्पल । टाउकोमा गम्छा बाँधेर, घाम र धुलो खेप्दै उनीहरू गाउँबस्ती चहार्थे । पुराना साइकल, लोहा, प्लास्टिक, धाराटुटी, जे भेटिन्छ त्यो लिन्थे । कतै पैसासँग, कतै फलफुलसँग साट्थे । बिहान साइकल चढेर आउने उनीहरू साँझपख बसको छतमा साइकल राखेर रूपैडिहा फर्किन्थे सिधै भन्सारतर्फ । दिनभरि सङ्कलन गरेका चिजवस्तुहरू उनीहरू भारततिरको बजारमा बेच्थे ।
तिनै कवाडीको भीडमा हुन्थ्योे, गफुर कवाडी । सबै कवाडीजस्तै ऊ पनि श्रमिक थियो, तर उसँग एउटा फरकपन थियो । उसका हाँस्न सक्ने आँखा थिए, ऊ मीठो शैलीमा कुरा गथ्र्योे । त्योभन्दा पनि बढी ऊ पुरानो कोहलपुरलाई सम्झाउने गरी कथा भन्न सक्थ्यो । उसको कथा, ऊजस्तै पुराना तर अझै बाँचिरहेका कवाडीहरूको इतिहास थियो । गफुर कोहलपुरको कुनै सरकारी कागजमा दरिएको नाम होइन । तर उसले कोहलपुर बजारको गन्ध थाहा पाएको थियो । बजारले गर्ने विभेद र नश्लभेद बुझेको थियो । चिया पसलमै बसेर यहाँको दलाली र ठगी पहिल्याएको थियो । फलामका टुक्राहरू र प्लास्टिकका थुप्रामाथि बसेर कोहलपुरको एक सानो तर गहिरो इतिहास बुझेको थियो ।
उसको जन्म भारतको मटेरा गाउँमा भएको हो । मटेरा गाउँ जहाँ साँझपख सहरको उज्यालो देखिँदैन । बिहान मानिसहरूलाई चिया होइन, खेतको कामले ब्यूँझाउँछ । उसका बाबु बिरामी परेपछि चाँडै बिते ।
उसका आफन्तहरू नेपालको जयसपुरमा थिए । गफुर आमासँगै जयसपुर स¥यो । आमा सब्जी बेच्थिन्, गफुर भाइबहिनी सम्हाल्थ्यो । बाल्यकाल ऊभित्र लुकेको कवाडीपनको पहिलो अभ्यास थियो । जसमा च्यातिएको लुगा पनि सम्हाल्नुपर्ने, आधा पेट भए पनि बाँड्नुपर्ने बाध्यता थियो । उमेर बढ्दै गयो । एकदिन गफुरको विवाह भयो । उनीहरूको एक छोरो जन्मियो । गफुर आफैँले छोराको नाम राख्यो, बहादर। बहादर हुर्किएपछि बाबुलाई साथ दिन थाल्यो । बाबु–छोरा गाउँ–गाउँ साइकलमा डुल्थे । बदाम, बतासा मिठाई, बरफ लिएर गाउँ पस्थे । बस् जिन्दगी जसोतसो चलेको थियो । तर एउटा साँझ थकित मन लिएर घर फर्किएको गफुर विष्मित भयो । उसकी बिरामी श्रीमती चुपचाप बिती । गफुरको आँखा रसाएन । मृत्यु जिन्दगीको अर्काे पाटो हो भन्ने बुझेको गफुरले यसलाई नियति ठानेर सह्यो । श्रीमती बिते पनि बाबू छोराले आफ्नो भागको जिन्दगी जिइरहे ।
छोराले रूपैडिहा नेपालगन्ज रिक्सा चलाउन थालेको थियो । एकदिन त्यही छोरो पनि बिरामी प¥यो । गफुरले छोरालाई उपचारका लागि भेरी अस्पताल लग्यो । छोराको बिमारी बीसको उन्नाइस भएन । बहादरलाई बिमारीले असाध्यै च्यापेको थियो । ‘बापु । म मर्ने भएँ, मलाई बचाउ बापु,’ छोराले मृत्युशैयाबाट बिलौना ग¥यो । आफ्नो बशको कुरा हुन्थ्यो भने गफुर छोराको भागको मृत्यु आफूले लिन्थ्यो होला । यो उसको बशको कुरा थिएन । उसले अल्लाहसँग निकै प्रार्थना ग¥यो । तर जब छोरो बहादर पनि बाईस वर्षकै उमेरमा बित्यो तब गफुरको मनमा जीवनप्रतिको सबै विश्वास धरमराउन थाल्यो । त्यो दिनदेखि गफुरका कुनै चाहना बाँकी रहेनन् । इच्छा, आकांक्षा, चाहना सबै मरेर गए । तर जिन्दगी यन्त्रवत चलिरह्यो ।
अर्को बिहे गरेर पुनः घरजम गर्न पनि उसलाई कतिले सल्लाह नदिएका होइनन् । यो उमेरमा अर्को बिहे गरेर पनि के मतलब,’ उसले मनमनै संकल्प ग¥यो, ‘म अब अर्को बिहे गर्दिनँ ।’ गफुर पहिल्यैदेखि कोहलपुर आउजाउ गरिरहन्थ्यो । त्यसपछि भने ऊ कोहलपुरमै बस्ने गरी आयोे । उसका लागि कोहलपुर अब व्यापारका लागि मात्र होइन, जीवन बिसाउने थलो थियो । हिउँदको त्यो बिहान अलिकति असामान्य थियो । कुहिरोको चिसो पर्दाझैँ ओर्लिएको थियो कोहलपुरमा र सूर्य अझै च्यादर ओढेर सुतेजस्तो थियो । म बिहानको काममा व्यस्त हुँदैगर्दा मेरो नजर केही अपरिचित अनुहारहरूतर्फ मोडियो । हातमा साबेल, गैती र खन्ती बोकेका मानिसहरूको सानो समूह मेरो घरतिरै आउँदै थियो ।
‘को हुन् यिनीहरू ?’ मनभित्रै प्रश्न चिस्सिएर आयो, ‘कुन कामका लागि आएका हुन् ?’ ती मान्छेहरू मेरै घरको अगाडि खाली जमिनमा गएर उभिए । मेरो घरको दायाँबायाँको जमिन खाली थियो, जुन कहिले फोहोरको डम्पिङ साइट बन्थ्यो, कहिले सार्वजनिक शौचालय । त्यो ठाउँमा पहिले कुटानी पिसानीको मिल थियो, त्यसपछि फिल्म हल बन्यो, अनि धेरै समय खाली रहँदा झारले ढाकिएको थियो । त्यहाँ एउटा पुरानो हाते पम्प बाँकी थियो । मीठो, चिसो पानी आउने ।
यो जमिनमा कुनै भवन बनेको भए, सायद यो जमिन यसरी फरक फरक प्रयोजनका लागि प्रयोग हुन पाउने थिएन होला, म सोच्थेँ । म उनीहरूको नजिक गएँ र सोधेँ, ‘के बन्दैछ यहाँ ?’ जवाफ आयो– ‘कवाड पसल खोल्न लागेको ।’ त्यो खाली जमिन अब फेरि एउटा नयाँ प्रयोगका लागि तयारीमा थियो । कसैले झारपात उखेले, कसैले पुराना खाडल पुरे । केहीबेरमै एउटा रिक्सा आइपुग्यो । रिक्सामा थिए पुराना जस्तापाता, खिया लागेका पाइप र पुराना फलामका थुप्रै सामान । म हेर्दै थिएँ । एक जनाले खन्तीले जमिन खोस्रिए, अनि खाडलमा फलामे पाइप गाड्न थाले । मेरो घरको दक्षिणतर्फ, उनीहरूकै पसल लाग्ने भयो । मेरो घरको पर्खाल नै अब उनको पसलको एक छेउको बार बन्यो । उत्तरमा इमानजीको घर थियो । बाँकी दुई छेउहरू पूर्व र पश्चिममा फलामे पाइप र पुराना जस्ताले घेरेर बार हाले । केही घन्टामै एउटा जस्ताको छानो टाँगिएको टहरो तयार भयो । भित्र ओढ्ने ओछ्याउने, बस्ने, सुत्ने कोठा, सामान राख्ने थलो सबै तयार भयो । साँझसम्म एउटा खाट पनि आइपुग्यो ।
दोस्रो दिन, पसलको बाहिर एउटा काठको खम्बामा तराजुको पल्ला झुन्ड्याइयो । त्यही दिनदेखि पसल औपचारिक रूपमा सुरु भयो । त्यहाँ सामान आउन थाल्यो । दुई दिनमै त्यो टहरोभित्र जीवनको गति महसुस हुन थाल्यो । साना ठूला मानिस, साइकलमा डुल्दै आएका किशोर, दुव्र्यसनीहरू, वृद्धवृद्धा सबै त्यहाँ आउँथे । कोही कागजका गत्ता बोकेर, कोही सिसाका बोतल बोकेर, कोही प्लास्टिकको भारीसँग । फोहोर जस्तो देखिने तर उपयोगी बन्न सक्ने ती वस्तुहरूको मोलभाउ हुन थाल्यो । त्यहाँका मालिक थिए, बुग्नु कवाडिया । तर उनी अक्सर पसलमा बस्दैनथे । पसल चलाउने मुख्य पात्र थियो उही गफुर । गफुर बुग्नुको जेठो दाजु थियो । समयले पाकेको अनुहार, कालो छाला, बुढ्यौली शरीर तर गफुर अझै पनि फुर्तिलो थियो । उसको साथमा एउटा फुच्चे केटो बस्थ्यो, अल्ताफ । ऊ बगिया स्कुलमा पढ्थ्यो । ऊ गफुरको बहिनीको छोरो थियो । अल्ताफ स्कुलबाट फर्किएपछि फुर्तिसाथ पसलको काम गथ्र्याे ।गफुर बिँडी पिउँथ्यो । बोल्न उस्ताद थियो । पसलमा आएकासँग ऊ मच्चिइमच्चिई कुरा गरिरहन्थ्यो । शुक्रबार ऊ मस्जिद जान छुटाउँदैनथ्यो । नमाज पढ्न । ऊ अल्ताफलाई काम सिकाउँथ्यो ।
पसलमा कुनै बोर्ड थिएन । मानिसहरू तराजु देखेरै कल्पना गर्थे त्यो कवाड पसल हो भनेर । म फुर्सदमा त्यो टहरोभित्रका गतिविधि नियाल्थेँ । यस्तो मलाई बानी परिसकेको थियो । त्यो टहरो हरेक दिन एउटा जीवित दस्तावेज बनिरहेको थियो जहाँ टुक्रिएका वस्तुहरू मात्र होइन, विगतका सपनाहरू पनि नयाँ मूल्यमा बदलिँदै थिए । मान्छेको जीवन जस्तै हरेक चिजको आयु हुँदो रहेछ । हरेक बस्तुको आ–आफ्नो मूल्य हुँदो रहेछ । पुराना, बिग्रेका, भाँचिएका, जसको जीवनचक्र सकिएको थियो त्यस्ता सामान गफुरको कवाड पसलसम्म आइपुग्थे ।
हरेक साता त्यहाँ कवाडको सानो पहाड नै बन्ने गथ्र्याे । रूपैडिहाबाट आएका मजदुरहरू कार्टुनका गत्ता बाँध्थे, बोरा खोल्थे, फलाम छुट्याउँथे, प्लास्टिकको थुप्रो अलग राख्थे । ती हातहरूमा थकान हुन्थ्यो, तर अनुहारमा थोरै मुस्कान पनि देखिन्थ्यो किनकि श्रममा आनन्द हुन्थ्यो ।
साँझपख, जब सबै पोका तयार हुन्थे, एउटा ट्रक बोलाइन्थ्यो । त्यो ट्रक भरिएपछि, गफुर कवाडी सामान लिएर नेपालगन्ज जान्थ्यो । पसल फेरि खाली हुन्थ्यो । एक किसिमले फेरि शून्यमा फर्किन्थ्यो, फेरि सुरुवात हुन्थ्यो । भारतबाट आएका सामान नेपालमा बिक्थे । टुट्थे, फुट्थे, भाँचिन्थे र फेरि कवाड भएर उतै फर्किन्थे । यस्तो चक्र चलिरहन्थ्यो । कवाड पसल सहरको अन्त्यजस्तो देखिए पनि, यो फेरि अर्काे सुरुवात थियो ।
कोहलपुर सानो बजार थियो । बजारमा मानिसहरू अनेक कामले आउँथे । कोही दूध बेच्न, कोही दही बेच्न, कोही फलफूल तरकारी बेच्न । कोहलपुर बजार बस्नुभन्दा अघिदेखि नै यहाँ कवाडीहरू आउन थालेका हुन् । पाँचु बेहना, बंशी मुसलमानहरू सबैभन्दा पहिले आएका कवाड व्यापारी थिए । एउटा समयमा गफुर पनि कोहलपुर आएको थियो । ऊ पीपल चौतारा तल प्लास्टिक थुपाथ्र्याे । गफुर कोहलपुरका चिया नास्ता पसलमा ठोक्किइरहन्थ्यो । नगर बस, टेम्पु, जिपमा भेटिइरहन्थ्यो । गफुर प्रायः बिँडी पिउँदै साइकलमा कुदिरहेको हुन्थ्यो ।
एउटा बालक जवान हुँदै गएझैँ गफुर बूढो हुँदै गइरहेको थियो । उसको जीवनमा भन्न मिल्ने नमिल्ने कति कुरा होलान् । उसले सम्झिनै नचाहने कति घटना होलान् । ऊसँग पनि मनमा कति आँधी कति बाढी थियो होला । मनका कुरा कसलाई पो सुनाउने ? सुनाएर पो के फाइदा ?
म गफुरलाई दिनहुँजस्तो देख्थेँ । हामीबीच उमेरको निकै दूरी थियो । तर उमेरको दूरीभन्दा आत्मीयताको दूरी छोटो थियो । एक दिन ऊ शिक्षण अस्पतालबाट आएको कवाड छुट्याउँदै थियो । म पनि नजिकै थिएँ । स्लाइनका बोतल, पुराना किताब कापीको थुप्रो थियो । जिज्ञासाले मलाई तान्यो । मैले केही कागज पल्टाएँ । एकाएक केही किताबहरू देखेँ, जुन मैले सायद किताब पसलमा पनि सजिलै भेट्न सक्ने थिइनँ ।
खुशवन्त सिंहको कम्पनी अफ वुमेन, एडोल्फ हिटलरको जीवनी, मारियो पुजोको गडफादर, शरद चन्द्रको देवदास । ती किताब कोहलपुर शिक्षण अस्पतालमा पढ्ने विद्यार्थीले बेचेको हुनुपर्छ । किताबका पानामा अझै कागजको गन्ध हराएको थिएन । मैले गफुरलाई भनेँ, ‘म यी किताब लान्छु है ।’
‘लैजानुस् बाबु, तराजुमा तौल्नुपर्छ,’ उसले मुस्कुराउँदै भन्यो । कवाडको मूल्यमा ती अमूल्य किताब लिएँ मैले । त्यो दिन म किताबभन्दा बढी सन्तुष्टि बोकेर फर्किएको थिएँ त्यो पसलबाट । त्यसपछिका दिनहरूमा हामीबीचको दूरी झन घट्यो । चिया पिउँदा, सूर्यास्त हेर्दा, कहिलेकाहीँ चुप लागेर बस्दा पनि हामी केही कुराहरू साझा गरिरहेका हुन्थ्यौँ । गफुरले तीन–चार वर्षजति पसल चलायो । त्यो पसल सामान बेच्ने ठाउँ मात्रै थिएन । उसका दिनहरू, सम्झनाहरू, जीवनका आँधीबेहरीहरू सँगाल्ने ठाउँ पनि थियो जस्तो लाग्दछ । तर अन्ततः जब जग्गाधनीले त्यो ठाउँ अर्काे कसैलाई दिने निर्णय गरे, पसल उठ्यो । त्यस दिन म चुपचाप पसलको शून्यता हेरिरहेँ अदालतमा बसेको साक्षीझैँ । जीवनका ती केही वर्ष, म र गफुर छिमेकी थियौँ । साँच्चै भन्ने हो भने, त्यही समय थियो जब मैले गफुरलाई गहिरिएर चिन्ने अवसर पाएँ । कवाडभित्र लुकेको एउटा कोहिनूर । इमान, विवेक र आत्मसम्मानको प्रतिरूप ।
पसल छोडेपछि गफुरसँग मेरो भेटघाट पनि क्रमशः पातलिँदै गयो । कोहलपुरको बाटोमा कहिले साइकल चढिरहेको, कहिले रिक्सामा बसेको गफुर आक्कलझुक्कल देखिरहन्थेँ । उसको आफ्नै काम थियो मेरो आफ्नै काम हुन्थ्यो । सबैको चटारो उस्तै त हो । कोहलपुर बसाइको वर्षौंपछि, जब जिन्दगीले दुबैलाई थकाएर केही बेर सुस्ताउने ठाउँ दिएको थियो, तब मात्र हामी एकअर्कालाई बुझ्न थालेका थियौँ । ऊ मात्र बूढो भएको थिएन म पनि बयष्क हुँदै गएको थिएँ । धेरै महिनापछि फेरि एकदिन गफुर कवाडी सडकमा लम्किँदै गरेको भेटियो । मैले हातले इसारा गरेर बोलाएँ । ‘गफुर चाचा ! के छ खबर ?’ ऊ टक्क रोकियो, फिस्स हाँस्यो अनि शिथिल स्वरमा भन्यो । ‘बाँचेकै छु बाबू ! जिन्दगी अझै थोरै बाँकी छ जस्तो लाग्छ ।’ ‘आउनुस् चाचा । एकछिन कतै बसेर चिया खाउँ र कुरा गरौँ,’ मैले भनेँ । त्यस दिन हामीले सँगसँगै चिया र पाउरोटी खायौँ । गफुर अब निकै बूढो देखिन थालेको थियो । ‘जबसे कोहलपुर पकडा, तबसे जयसपुर छुट गया,’ उसले भन्यो ।
उसको लामो जीवनको अधिकांश समय कोहलपुरमै बितेको हो । ‘गफुर चाचा तपाईं पहिलोपटक कोहलपुर कहिले आउनुभएको थियो सम्झना छ ?’ मैले सोधेँ । ऊ एकछिन चुप लाग्यो । ‘ठ्याक्कै याद त छैन, बाबू । तर बहुत साल भयो । जिन्गी नदीजस्तै बग्दै गयो । कहाँ पुगेर समन्दरमा मिसिन्छ थाहा छैन ।’ ‘एक दिन बीबी गई । त्यसको केही वर्षमै छोरा पनि गयो । छोराको मुख हेरेर बाँचिरहेको थिएँ । ऊ पनि गएपछि लाग्यो, अब जिन्गी जसरी पनि बित्छ ।’ त्यसपछि गफुर रूपैइडिहा, नेपालगन्ज, कोहलपुर गर्दै डुलिरह्यो वर्षौंसम्म । ऊ धेरै वर्ष गिट्टी ढुवानीको काममा पनि लाग्यो । ‘बीस वरष त गिट्टी चाल्ने काम गरेँ बाबू,’ गफुरले भन्यो । कहिले काँदुको खेतमा, कहिले अनवर जमिन्दारकोमा काम ग¥यो । कहिले शंकर शाहको तालबाट माछा ल्याएर कोहलपुरमा बेच्थ्यो । कहिले कटहर टिपेर नेपालगन्जसम्म पु¥याउँथ्यो ।
‘हाम्रा दिनहरू त्यस्तै थिए, मेहनतले बनेका,’ उसले भन्यो, ‘पढाइ–लेखाइ केही थिएन । जस्तो भए पनि काम गर्नैप¥यो ।’ गफुरले तरकारी पसल गरेन कि ! नेपालगन्ज कोहलपुर, लमही–कोहलपुरको सडक विस्तार भइरहेथ्यो । कोहलपुर चोकदेखि उत्तरतिरको बाटो खन्ने काम हुँदै थियो । ठेकेदार, गाडीका चालक, मजदुर सबको भिड लाग्थ्यो कोहलपुरका होटेलमा । काममा होमिएका ती सबले बेलुकाको भोक कोहलपुरमै मेट्थे । त्यतिबेला कोहलपुरमा तरकारी पाइने गफुरको पसल नै थियो । ‘बिकेको बेच्थेँ, बचेको तरकारी म गाउँलेहरूलाई बाँडिदिन्थेँ,’ गफुर ती दिन सम्झिँदै भन्छ ।
निबुवा गाउँ पुगेर उसले दुई–तीन रूपैयाँमा पुरै निम्बुको बोट ठेक्का लिने चलन बसालेको रहेछ । सात–आठ दिनसम्म एउटै बोटको निम्बु बेच्न पुग्थ्यो । सबै माल नेपालगन्जमै खपत हुन्थ्यो । ‘जिन्दगी त काट्नैपर्ने कुरा हो बाबू,’ गफुर सामान्य शब्दमा जीवनको गहनतम् कुरा बोलिदिन्छ, ‘निबुवामा निम्बु धेरै फल्थ्यो । त्यही भएर होला त्यो गाउँको नाम पनि निबुवा रहेको ।’ टिटिहिरियामा केही वर्ष पकौडी पकाएर पनि गफुरको जीवन चल्यो ।‘मान्छेलाई सबैभन्दा प्यारो आफ्नो स्वाभिमान हो,’ ऊ आपूmले अनुभव गरेको सत्य बोल्छ, ‘म कसैसँग हात पसार्न सक्दिनँ । आफ्नो पौरख, आफ्नै पसिना खाने हो । काम गरेर खान केको लाज ?’
कोहलपुरमा धेरै आए, धेरै गए । कति त केही महिना बस्दै हराए । सहरमा टिकिरहनु पनि गाह्रो कुरा रैछ । ‘सब अपनी अपनी नसिब की बात है,’ उसले फेरि सुस्केरा हाल्यो । उसले कोहलपुरमै जमिन किन्न नचाहेको होइन । थुप्रै पटक आफन्त, साथीहरूले जग्गा नापिदिन्छौँ भने । जतासुकै खुला चौर थियो, जमिन थियो, तर गफुरको भाग्य चाहिँ बाँझै रह्यो । ‘मेरो नसिबमै थिएन बाबू,’ उसले भन्यो, ‘टाउको फोरेर भाग्य भेटिँदो रहेनछ त ।’ हरेक व्यक्तिको आआफ्नै स्वभाव र बानी हुन्छ । गफुरका पनि यस्तै केही फरक आदत थिए । ऊ हिँड्दा सधैँ हात पछाडि बाँधेर हिँड्थ्यो । जसलाई चिन्थ्यो, उसलाई एक हात उठाएर शान्त स्वरमा सलाम गथ्र्यो । ‘यो सहरबाट म हराएँ भने पनि कसले खोज्छ र बाबू मलाई ?’ ऊ अक्सर भनिरहन्थ्यो, ‘यहाँ कसलाई पो फुर्सद छ र पराइका कथा सुन्ने ?’ म चुपचाप उसका कुरा सुनिरहन्थेँ । ऊ आफ्नो जीवनको किताबका पाना पल्टाउँदै, कथाको अन्तिम अध्यायजस्तो लाग्ने आत्मकथा सुनाउँदै जान्थ्यो ।
शब्दभन्दा बढी त्यो आँखाको गहिराइमा मैले धेरै कुरा अनुभूत गरेको थिएँ । गफुर कवाडी, कोहलपुरको एउटा इतिहासजस्तो लाग्छ मलाई ।
ऊ जताततै छ तर कहीँ छैन । कैयौँपटक सामान खरिद गरेकै कारण ऊ प्रहरी हिरासतसम्म पुग्नु परेको थियो । चर्काे मूल्य चुकाएर ऊ मुक्त भएका कथा कति छन् कति । एक दिन केटाहरूले तार ल्याएर बेचेका रहेछन् । गफुरलाई प्रहरीले चौकीमा पु¥याए । चौकीमा रात बित्यो । उसले भन्यो, ‘हम तो धन्दे मे थँे, चोरी से हमे क्या लेना देना ?’ तर सामान फिर्ता गरेर पनि ऊ पैसा तिर्न बाध्य भयो । ऊसँग एउटा साइकल थियो । कोहलपुरमा कसैले साइकल नै खोसिदियो ।
कहाँ प्रतिवाद गर्ने ? कसलाई भन्ने ? ऊ कतै उजुरबाजुर गर्न गएन । पछिल्लो समय उसको आँखामा चस्मा थियो ।‘चस्मा लगाउनु भएको छ त ? आँखा जाँच गरेर हो ?’ मैले जिज्ञासा राखेँ । ‘होइन, किनेको पनि होइन । कवाडको थुप्रोमा भेटेको हो,’ उसले चस्मा निकालेर रुमालले पुछ्यो । र, फेरि मिलाएर लगायो । ‘गज्जब सुहाएको छ तपाईंलाई,’ मैले उसको चस्माको प्रशंसा गरेँ। ऊ खिस्स हाँस्यो । ओठको कुनासम्म फैलिएको त्यो मुस्कानमा थुप्रै वर्षको थकान र सन्तोष मिसिएको थियो । निलो चेकको लुङ्गी, कालो रबरको चप्पल, पुरानो स्टकोट, टाउकोमा जालीदार टोपी, अनि पातलो सर्टमाथि हातैले बुनेको हरियो ऊनीको स्वीटर । त्यही थियो गफुर कवाडीको हुलिया । चिउँडो भरिएको सेतो दाह्रीले मुसलमान भएको परिचय आफँै दिन्थ्यो ।
हातका औँलाहरू खिरिला र काला थिए, जसले अघिल्लो पुस्ताको श्रमको कठोरता बयान गर्थे । ‘तपाईंका हातका औँलाका कापहरू कसरी काला भए ?’ मेरो यो प्रश्नमा उसले केही अप्ठेरो मानेजस्तो लाग्यो । ‘दुई प्याकेट बिँडी त दिनमै सकिन्छ,’ उसले औँलाका काप काला हुनुको रहस्य खोल्यो । गफुरले देखेको थियो कोहलपुरका खाली चौरहरू कसरी भरिए । कोहलपुर कसरी गाउँबाट सहरमा फेरियो । ‘हिजोका थारूहरू सिधा थिए,’ ऊ गर्वसाथ भन्छ, ‘हामीले पनि इमानका साथ रोजीरोटी कमायौँ ।’ पहिले यहाँ थोरै मानिस थिए । आउने आए । जाने गए । आज पनि आइरहेका छन् । भोलि पनि आउलान्, जाने जालान् । यो त सहरको चरित्र हो । ‘मेरो त केही छैन यहाँ । जे कमाएँ, खाएँ, सकियो । अब न त अगाडि कोही छ, न पछाडि,’ ऊ अलिकति अभिमानपूर्वक भन्छ, ‘म कसैको कुभलो सोच्दिनँ । कसैले नराम्रो सोचे म फर्केर जान्न ।’
ऊ अल्लाहको नजरमा कुनै कुरा लुकेर रहँदैन भन्ने विश्वास राख्छ । ‘जिन्दगीसँग कुनै गुनासो छैन् । मैले आफ्नो भागको जिन्दगी बाँचिसकेको छु। जुन दिन अल्लाहले गफुर आइज भन्छन् त्यो दिन चुपचाप जाने हो,’ गफुर भन्छ ।
तर पछिल्लो समय ऊसँग भेट भएको थिएन । मैले सामाजिक सञ्जालमा उसको सम्झनामा एक पोस्ट लेखेँ । जयसपुरमा उसलाई कसैले भनेछ, ‘तेरो बारेमा मोबाइलमा समाचार आएको छ ।’ अन्तिमपटक भेट्दा ऊ थोरै गम्भीर थियो, तर अनुहारमा अद्भुत कृतज्ञताको चमक थियो ।भन्थ्यो—‘जबसे कोहलपुर पकडा, तबसे जयसपुर छुटा ।’ तर म सोच्छु, जब उसले जयसपुर फेरि समात्यो, तब कोहलपुर साँच्चै छुट्यो । र एक दिन, सधैँका लागि छुट्यो । कहिलेकाहीँ लाग्छ , कुनै गल्लीबाट ऊ फुत्त निस्कनेछ र हात उठाउँदै भन्नेछ–‘सलाम बाबू ।’









प्रतिक्रिया दिनुहोस्