भेरीमा स्वास्थ्य बीमा कार्यक्रमः स्वास्थ्य बीमा बोर्डको ‘केटाकेटी पारा’



नेपालगन्ज (बाँके)।

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आजदेखि स्वास्थ्य बीमा सेवातर्फ केवल रेफरल सेन्टरका रुपमा मात्र नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने भन्दै बुधबार बिहान एक सूचना जारी ग¥यो । अस्पतालले सार्वजनिक रुपमा सूचना जारी गरेपछि नेपालगन्जवासीले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यसको विरोध जनाए ।

हालसम्म स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमित नागरिकले अन्य स्वास्थ्य संस्थाबाट प्रेषणपुर्जी नलिई तथा प्रेषण पुर्जीसहित उपचार गर्न आउने दुवैथरीका नागरिकहरुलाई अस्पतालले स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालले उक्त सूचना जारी गरेपछि नागरिकहरु अन्योलमा परे ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले हालसम्म स्वास्थ्य बीमाअन्तर्गत प्रेषणपुर्जीबिना र प्रेषणपुर्जीसहित आउने गरेका दुवैथरीका नागरिकहरुलाई सेवा प्रदान गरिँदै आएपनि आज साउन १ गतेदेखि भने अन्य स्वास्थ्य संस्थाबाट प्रेषणपुर्जी लिएर आउनेलाई मात्र यो सेवा उपलब्ध गराइने बताएका थिए ।

उनले हालै नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले आफ्नो आधिकारिक वेवसाइटमा सार्वजनिक गरेको रेफरल सेन्टरहरुको सुचीअनुसार भेरी अस्पताललाई रेफरल सेन्टर (बीमा कार्यक्रम सञ्चालन गर्ने अन्य स्वास्थ्य संस्थाले रेफरल स्लिप (प्रेषणपुर्जी)सहित उपचार गर्न पठाएका बिमित नागरिकहरुलाई मात्र उपचार गर्ने संस्था)को रुपमा सूचीकृत गरेका कारण यस्तो व्यवस्था गरिएको उल्लेख गरेका थिए ।

स्वास्थ्य बीमा बोर्डको उपरोक्त व्यवस्थाअनुसार नयाँ आर्थिक वर्ष ०८२–८३ देखि लागु हुने गरी भेरी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमित सेवाग्राहीहरुलाई प्रथम सेवा केन्द्रको रुपमा नभई रेफरल सेन्टरका रुपमा मात्र सेवा प्रदान गर्ने भएकाले साउन १ गतेदेखि यो व्यवस्था लागु हुने अस्पतालले सूचनामार्फत जानकारी गराएको थियो । अस्पतालका अनुसार अबदेखि स्वास्थ्य बीमाअन्तर्गत सेवा लिन इच्छुक बिमित सेवाग्राहीहरुले सम्बन्धित स्वास्थ्य संस्था वा प्रथम सेवा केन्द्रबाट प्राप्त आधिकारिक स्लिप प्रेषणपुर्जा लिएर आएको खण्डमा मात्र अस्पतालमा स्वास्थ्य सेवा पाउने जनाइएको थियो ।

स्थानीय तहका स्वास्थ्य सेवाहरुलाई प्राथमिकता दिनका लागि भनेर यस्तो व्यवस्था गरिएपनि नागरिकहरुले भने दुःख पाउने देखिएको भन्दै सामाजिक सञ्जालमा दिनभर विरोध जनाएका थिए । तर, बुधबार बेलुका एक्कासि स्वास्थ्य बीमा बोर्डले भेरी अस्पताललाई पत्राचार गर्दै उक्त सेवालाई आगामी असोज मसान्तसम्म निरन्तरता दिन भन्यो ।

भेरी अस्पताललाई बीमा बोर्डले पठाएको पत्रमा भनिएको छ, ‘स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको सुचीअनुसार संघीय अस्पताल, विशेषज्ञ अस्पताल, विशिष्टीकृत अस्पताल र प्रतिष्ठानहरुमा स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु नभई प्रेषण केन्द्र मात्र रहने व्यवस्था भएकोमा बिमितहरुको स्वास्थ्य सेवालाई मध्यनजर गरी र श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०८२÷०३÷३२, चनं. २२८२ को पत्रानुसार प्रथम सेवा बिन्दुको वैकल्पिक व्यवस्था भए नभएको यकिन गरी रिफरल सेन्टर कायम गर्ने विषय उल्लेख भई आएको हुँदा हाललाई २०८२ असोज मसान्तसम्मको लागि त्यहाँ अस्पतालबाट प्रथम तथा रिफरल सेन्टरको रुपमा सेवा प्रदान गर्नुहुन निर्णयानुसार अनुरोध छ ।’

बीमा बोर्डको यस्तो अदूरदर्शी निर्णय र केटाकेटी पाराको चरित्रले स्थानीय नागरिक आश्चर्यमा परेका छन् । ‘स्वास्थ्य बीमा बोर्डले यतिसम्म अदूरदर्शी निर्णय र केटाकेटी पारा देखायो कि दिनभर यहाँका नागरिक तनावमा रहे, स्वास्थ्यजस्तो अति संवेदनशील क्षेत्रमा यसप्रकारको निर्णय ठिक होइन् ।’ एक स्थानीयले भने । बाँकेमा हाल स्वास्थ्य बीमाअन्तर्गत प्रथम सेवा प्रदान गर्ने स्थानीय तहमा चार वटा मात्र स्वास्थ्य संस्था रहेका छन् ।

बैजनाथ गाउँपालिकास्थित वनकटवा प्राथमिक स्वास्थ्य केन्द्र, खजुरास्थित खजुरा प्राथमिक स्वास्थ्य केन्द्र, नरैनापुरस्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र र कोहलपुरस्थित कोहलपुर नगर अस्पतालमा मात्र यो सुविधा सञ्चालनमा छ । यदि भेरी अस्पताल स्वास्थ्य बीमा सेवाअन्तर्गत रेफरल सेन्टरका रुपमा मात्र रहे नेपालगन्जका नागरिक बिरामी भएमा स्वास्थ्य बीमाअन्तर्गत उपचार गर्नका लागि पहिला उक्त स्वास्थ्य संस्थाहरुमा पुग्नुपर्नेछ । त्यहाँ पुगेर प्राथमिक सेवा बिन्दुबाट प्रेषणपुर्जी लिएर आएमा मात्र भेरीमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन् ।

बाँकेमा यसअघि स्थानीय तहका चार वटा स्वास्थ्य संस्थाबाहेक भेरी अस्पतालसहित फत्तेवाल आँखा अस्पताल फुलटेक्रा, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्वास्थ्य बीमाअन्तर्गत स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु र प्रेषण केन्द्रका रुपमा सेवा प्रवाह गर्दै आएका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ साउन १ गते बिहीबार