डडेल्धुरा ।
डडेल्धुरा अस्पताललाई स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुबाट हटाएको भन्दै विरोध हुन थालेको छ । हजारौँ बिमितलाई स्वास्थ्य बीमा कार्यक्रमबाट वञ्चित हुने गरी प्रथम बिन्दुबाट हटाइएको भन्दै विरोध हुन थालेको हो । माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञप्ति नै जारी गर्दै विरोध गरेका छन् भने अन्य दलका नेताहरु र सर्वसाधारणले पनि प्रथम सेवा बिन्दु कायम गर्न माग गरेका छन् ।
यस्तै, बोलन्या थलीले अस्पतालको मुख्य प्रवेश गेटमा कालो ब्यानर लगाएको छ । बोलन्या थलीका अध्यक्ष यादव जोशीले स्वास्थ्य बीमाको प्रथम बिन्दु हटाएको विरोधमा कालो ब्यानर राखिएको बताए । स्वास्थ्य बीमा बोर्डले सुदूरपश्चिमको एकमात्र संघीय अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाएको थियो । प्रथम सेवा बिन्दुबाट हटाइएसँगै साउन १ गतेदेखि प्रथम सेवा बिन्दुबाट सिफारिस लिएर आएका बिमित बिरामीहरूले मात्र डडेल्धुरा अस्पतालमा बीमा सुविधा पाउने जानकारी अस्पतालले गरेको छ ।
डडेल्धुरामा प्रथम सेवा बिन्दु जोगबुढा अस्पताललाई राखिएको छ । यस्तै, नेपाली काँग्रेसका नेता कार्यकर्ताले पार्टी सभापति शेरबहादुर देउवालाई प्रथम सेवा बिन्दुबाट हटाइएको भन्दै ध्यानाकर्षण गराएका छन् । पूर्वमन्त्री गोविन्दराज बोहराको नेतृत्वमा देउवा निवास गएको टोलीले डडेल्धुरा अस्पताललाई फेरि स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुमा कायम गर्न माग गरेका थिए ।
देउवाले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई फोन गरेर सोबारे बुझेको नेविसंघ डडेल्धुराका अध्यक्ष पवन ऐरले बताए । ‘तीन महिनाका लागि डडेल्धुरा अस्पताललाई प्रथम सेवा बिन्दु कायम गर्ने र त्यसपछि प्रत्येक स्थानीय तहमा एउटा प्रथम बिन्दु बनाएर डडेल्धुरा अस्पताललाई रेफरल अस्पताल बनाउने तयारी भइरहेको स्वास्थ्यमन्त्रीले जानकारी गराउनुभएको थियो,’ ऐरले भने ।
निर्णय सच्याउन रास्वपाको माग
सरकारले डडेल्धुरा अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा बिन्दुबाट हटाएकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डडेल्धुराले आपत्ति जनाएको छ । रास्वपाका जिल्ला सभापति इन्जिनियर सुरेन्द्र अवस्थीले बुधबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवाको लाभ लिन पाउने नागरिकको हक प्रतिकूल हुने गरी गरिएको अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाउने निर्णय सच्याउन माग गरेका छन् । नेपाल सरकारअन्तर्गत स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचारका लागि डडेल्धुरालाई प्रथम सेवा बिन्दुबाट हटाउने निर्णय गरेको छ ।
रास्वपा डडेल्धुराले उक्त निर्णयप्रति गम्भीर असहमति र खेद व्यक्त गरेको छ । ‘जनताको पहुँचमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको महत्वपूर्ण स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पहिलो सेवा बिन्दुको रुपमा समावेश गरिएको डडेल्धुरा अस्पतालबाट हजारौँ नागरिकले प्रत्यक्ष लाभ लिँदै आएका थिए,’ सभापति अवस्थीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर स्वास्थ्य बीमा बोर्डको यो निर्णयले दुर्गम ग्रामीण भेगका जनताको स्वास्थ्य अधिकारमाथि गम्भीर आघात पुगेको छ ।’
रास्वपाले सम्बन्धित निकायलाई यो निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए जनस्तरबाट दबाबमूलक कार्यक्रम सुरु गर्ने चेतावनी दिएको छ । यस्तो गैरजिम्मेवार निर्णयले सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकको स्वास्थ्य उपचार सेवामा प्रतिकूल असर पार्ने राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेश समितिका निवर्तमान महामन्त्री पारस बाहुनले बताए ।









प्रतिक्रिया दिनुहोस्