घरेलु नोकर्नी बनिन् रेडियम पत्ता लगाउने महिला वैज्ञानिक



एउटा यस्तो समय जहाँ महिलाहरूलाई उनीहरूको आफ्नो हक अधिकारबारे जान्ने कुराबाट उनीहरूलाई धेरै टाढा राखिएको थियो । संघर्षबाट अलग गरिएको थियो । उनीहरूलाई अन्य घरायसी काममा अल्झाइएको थियो । त्यस समयमा म्याडम क्युरीको विज्ञान जगतमा एक अभुतपूर्व ताराको जस्तै उदय भयो । र आज उनी न केवल विज्ञानको क्षेत्रमा न केवल महिला मुक्तिको अभियानमा बरु सारा मानवताको लागि उदाहरण बन्ने काम भएको छ ।


चिन्तामणि घिमिरे 

विज्ञान र ईश्वरमा यदि अन्तर गर्ने हो भने यति मात्र भन्न सकिन्छ कि ब्रह्माण्डमा जुन क्रियाहरू भइरहन्छन्, घटनाहरू घट्छन्, जसलाई हामी जान्न बुझ्न सक्छौँ, त्यो विज्ञान हो । जसलाई हामी जान्न, बुझ्न सक्दैनौँ, जसको बारेमा कुनै उपस्थिति छैन, जसलाई हामीले अनुभूति गरेका छैनौँ देखेका छैनौँ, जो काल्पनिक छ, त्यो ईश्वर हो, भगवान हो । विज्ञानको निरन्तर विकासले ईश्वरको÷भगवानको स्थान क्रमशः कम हुँदै गएको छ र विज्ञानमाथि मानिसहरूको विश्वास पनि बढेर गएको छ । विज्ञानको विकासको कडी हो हाम्रा वैज्ञानिकहरूको लामो फेहरिस्त । महिला वैज्ञानिकको रूपमा सर्वत्र चम्किएको नाम म्याडम क्युरीमा सबैको नजर जान्छ । म्याडम क्युरी प्रख्यात भौतिक तथा रसायनशास्त्री थिइन् । मार्याले रेडियमको खोज गरेकी थिइन् । विज्ञानका दुई शाखाहरू (भौतिक एवं रसायन विज्ञान)मा नोबेल पुरस्कारबाट सम्मानित हुने उनी पहिलो वैज्ञानिक थिइन् ।

म्याडम क्युरीलाई मेरी वा मार्या भनेर पनि चिन्ने गरिन्छ । यो उहाँको घरमा बोलाउने नाम थियोे । म्याडम क्युरी अत्यन्तै संघर्षशील नारी थिइन् पारिवारिक समस्यालाई हल गर्न अर्काको घरमा नोकर्नी बनेर काम गर्नुपरेको थियो । यहाँ एउटी नोकर्नी कसरी संघर्ष गर्दै महान वैज्ञानिक बन्न पुगिन् र दुई दुई वटा विषयमा नोबेल पुरस्कार प्राप्त गर्ने विश्वकै पहिलो महिला वैज्ञानिक बन्न पुगिन् भन्ने बारे उनको जीवन संघर्षको नालिबेली पस्कने जमर्को गरिएको छ । म्याडम क्युरीको बाल्यकालको नाम मार्या थियो । उनको जन्म सन् १८६७ को ७ नोभेम्बरमा पोल्यान्डको वारसा नगरमा भएको थियो । मार्याको पिताको नाम व्लाडिस्लाव स्कलोडोब्स्का थियो । पिता विज्ञान विषयको प्राध्यापनमा क्रियाशील थिए । आमा माडाम स्कलोडोब्स्का वारसा नगरमा छात्रा स्कुलमा प्रधान अध्यापिकाका साथै सङ्गितज्ञ थिइन् ।

त्यस समय पोल्यान्ड रुसको शासक जारको अधिनमा थियो । जहाँ केटीहरूको लागि सीमित विद्यालय थिए । जहाँ केही उत्साही महिलाहरूद्वारा सञ्चालन गरिएका हुन्थे । तर विश्वविद्यालयस्तरको पढाइको लागि पोल्यान्डमा कुनै सुविधा थिएन । मार्याको परिवार एउटा बौद्धिक परिवार थियो । मार्या आठ वर्षको हुँदा ठुली दिदीको मृत्यु भयो । त्यसको दुई वर्षपछि आमाको पनि क्षयरोगको बिरामीको कारण देहान्त भएको थियो । आमाको निधनको केही समयपश्चात् पिताको जागिर पनि छुट्यो । देशभक्ति सोचाइको कारण उनका पिताले जागिरबाट हात धुनुपरेको थियो । मार्याको परिवार तत्कालीन जार शासकको विरोधी थियो । उनीहरू देशभक्ति भावनाले ओतप्रोत थिए । कठिन परिस्थितिहरू एवं निर्धनतामा विद्यालय शिक्षा पूरा गरेपछि अब सवाल थियो विश्वविद्यालयस्तरको पढाइको जो कि पोल्यान्डमा बसेर सम्भव थिएन । त्यसको लागि फ्रान्स जानुपर्ने हुन्थ्यो । पितालाई घर व्यवहार चलाउन सकस परिरहेको बेला दुई बहिनी छोरीहरूलाई बाहिर पढ्न पठाउनु सामथ्र्यभन्दा बाहिरको कुरा थियोे ।

अतः मार्या एवं उनको दिदीले सल्लाह गरे कि बहिनीले जागिर गर्ने र दिदी पढ्न जाने । दिदीको पढाइपश्चात् दिदीले जागिर गर्ने र बहिनीले पढ्ने समझदारी भयो र सोहीअनुसार मार्याले वार्साको धनी जमिन्दारको घरमा बच्चाबच्चीहरूलाई स्याहार सुसार गर्ने र पढाउने काम गर्न थालि । र त्यस बापत प्राप्त भएको तलब दिदीलाई फ्रान्सको राजधानी पेरिसमा पठाउने गर्न थालिन् । उनको दिदी ब्रोन्याले पेरिसमा चिकित्साशास्त्रको अध्ययन गर्थिन् । चार वर्षको अध्ययन पूरा गरेपछि ब्रोन्याले जागिर गर्न थालिन् र बहिनी मार्याले जमिन्दारको घरमा बालबच्चा स्याहार सुसार गर्ने र पढाउने गर्नेको नोकरी छोडेर उच्च शिक्षा अध्ययनका लागि पेरिस गइन् । दिदीको विवाह भइसकेको थियो । दिदीले आफैँ प्रेम विवाह गरेकी थिइन् । मार्या केही समय दिदी भिनाजुसँगसँगै बसिन् र पछि कोठा लिएर अलग्गै बस्न थालिन् । अलग्गै बस्ने क्रममा कैयौँदिन भोकभोकै पनि रहनु प¥यो । दिदी भिनाजुले बेलाबेलामा सहयोग गर्ने गर्दथे । मार्याको जुझारु र संघर्षशील स्वभाव थियोे । कसैसँग नझुक्ने र नदब्ने बानी थियो । उनले जारशाही रुसी साम्राज्यप्रति अत्यन्तै घृणा गर्थिन् ।

त्यति मात्रै होइन त्यो घृणाको घेरा जारशाही रुसी साम्राज्य समर्थक पोल्यान्डवासी शासक, कर्मचारी र शिक्षकसम्म फैलिएको थियो । विश्वविद्यालय अध्ययनको दौरानमा उनी विभिन्न अध्ययन केन्द्रहरूसँग जोडिएकी थिइन् । जहाँ विज्ञान, प्रविधि, राजनीति र समाजवादको बारेमा थुप्रै बहस, छलफल र विचारहरूको आदानप्रदान हुन्थ्यो । उनको समाजवादप्रति गहिरो झुकाव थियोे । उनी पढाइमा अत्यन्तै तिक्ष्ण र लगनशील थिइन् । उनले पन्ध्र वर्षको उमेरमा स्वर्ण पदकसहित हाईस्कुलको शिक्षा पूरा गरेकी थिइन् । उच्च शिक्षा अध्ययनमा पनि छात्रवृत्ति प्राप्त गरेकी थिइन् । १८९१ मा मार्या स्कलोडोब्स्काले सोरबान विश्वविद्यालय पेरिसको विज्ञान विभागमा भर्ना भइन् । विश्वविद्यालयमा मार्या प्रथम स्थानमा उत्तीर्ण भइन् तथा छात्रवृत्तिबाट मार्याको अगाडिको पढाइ सुरु भयो । पढाइको दौरानमा नै मार्याको चिनजान विश्वविद्यालयको एक प्रोफेसर पियरे क्युरीसँग भयो । जो विश्वविद्यालयको प्रयोगशालामा सहायक पदमा नियुक्त भएका थिए । यसै दौरानमा मार्या र पियरेको बीचमा प्रेम भयो र यी दुवैले विवाह गरेर फ्रान्समा नै रहने निर्णय गरे । अब मार्या एवं पियरेको सम्पूर्ण समय आफ्नो प्रयोगशालामा नै व्यतित हुन्थ्यो ।विश्वविद्यालयस्तरको परीक्षा समाप्त भएलगत्तै पछि मार्याको पहिलो पुत्री इरीनको जन्म भयो ।

अब मार्याको अगाडि थियोे डाक्टरेटको उपाधि । जसको लागि कुनै नयाँ चिजको शोध आवश्यक थियो । मार्याको लागि समस्या थियो कुन विषयलाई शोधको लागि छान्ने । यी दिनहरूमा वैज्ञानिक हेनरी बेकेरलले एक लेख एक्सरेज किरणहरूको बारेमा लेखेका थिए तथा उनले यी अदृश्य किरणहरूको खोज गरेका थिए । तर यी किरणहरूको स्वभाव र उत्पत्तिको बारेमा अधिक जानकारी विश्वलाई थाहा थिएन । मार्यालाई आफ्नो सोधको लागि विषय प्राप्त भइसकेको थियो । यो सोध कार्यमा उनलाई सहयोग पियरे क्युरीले गरे । विश्वविद्यालयबाट प्राप्त एक कोठामा मारी र पियरे घण्टौँ सोधकार्यमा तल्लीन हुन्थे । उनीहरूले देखे कि थोरियमबाट पनि यस प्रकारको किरण निक्लन्छ । यस सिद्धान्तको लागि उनीहरूले नाम दिए ‘रेडियो एक्टिविटी’ । प्रयोगहरूद्वारा मारीले पाइन् कि केही यस्तो चीज जरुर छ जो युरेनियम वा थोरियमभन्दा धेरै शक्तिशाली छ, त्यो रेडियो एक्टिविटी यसैको कारण हो । अब उनको काम थियो त्यस बस्तुलाई एकत्रित गर्नु जसमा रेडियो एक्टिविटी छ तथा फेरि त्यसमा एक नौलो चीजको उत्पत्ति गर्नु । यस प्रकार मार्याले ‘पिचब्लेड’ एक प्रकारको खनिजबाट एक रेडियो एक्टिव तत्वलाई अलग गरिदिइन् । यसको नाम मार्याले गुलाम पोल्यान्डलाई सोचेर पोलेनियम (१८९८) नामाकरण गरिन् ।

सन् १९०२ मा तीन वर्ष नौ महिनापछि मारी एवं पियरेले सोध गर्दैगर्दा पिचब्लेडको केही अंशबाट चम्किलो कर्ण प्राप्त गरे । जसको नाम उनीहरूले ‘रेडियम’ राखे । रेडियमको आविष्कारले सम्पूर्ण विज्ञान जगतमा एक नयाँ क्रान्ति ल्याइदियो । मूलतत्व सदैव एक जस्तो रहन्छ, विज्ञानको यस धारणालाई रेडियमले विफल पारिदियो । रेडियो एक्टिविटिको कारण यो तत्व दोश्रो तत्वमा बदलिन्छ । चिकित्सा विज्ञान र रोगहरूको उपचारमा यो एक महत्वपूर्ण र क्रान्तिकारी खोज सावित भयो । १९०३ मा म्याडम क्युरीले पीएचडी पूरा गरिन् । १९०३ मा पियरे क्युरी, म्याडम क्युरीलाई संयुक्त रूपमा हेनरी बेकरलको साथ भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरियो । फ्रान्सको त्यस विश्वविद्यालयमा महिलाहरूलाई जागिर दिने प्रथा थिएन । परन्तु मारीको योग्यताले यी सबैमाथि विजय प्राप्त गरेको थियो । यसै बीचमा मारी एवं पियरेलाई दोश्रो सन्तानको रूपमा छोरी ईवको अवतरण भयो ।

अचानक १९०६ को एक साँझ पियरे क्युरीको एक सडक दुर्घटनामा मृत्यु भयो । पियरेको मृत्युपछि विश्वविद्यालयद्वारा मारी क्युरीलाई पदार्थ विज्ञान विभागको जिम्मेवारी सुम्पियो । विश्वविद्यालयद्वारा योभन्दा पहिले कुनै महिलालाई यति उच्च पद दिइएको थिएन । मारीको पहिलो आख्यानलाई सुन्नको लागि विज्ञान जगत, फिल्म जगत तथा मिडिया जगतका अनेक व्यक्तिहरूद्वारा सोरबान विश्वविद्यालयको हल खचाखच भरिएको थियो । म्याडम क्युरीले यस ऐतिहासिक आख्यानलाई त्यहीँबाट सुरु गरिन् जहाँ पियरे क्युरीले छोडेर गएका थिए । सन् १९१९ मा मारी क्युरीलाई पुनः रसायन विज्ञानको क्षेत्रमा रेडियमको शुद्धीकरण (आइसोलेशन अफ प्योर रेडियम)को लागि रसायन शास्त्रतर्फको नोबेल पुरस्कर पनि मिल्यो । विज्ञानका दुई शाखाहरूमा नोबेल पुरस्करबाट सम्मानित हुने मार्या पहिलो वैज्ञानिक हुन् ।

वैज्ञानिक आमाका दुई छोरीहरूले पनि नोबेल पुरस्कार प्राप्त गरे । ठुली छोरी इरीनलाई १९३५ मा रसायन विज्ञानमा नोबेल पुरस्कार प्राप्त भयो भने अर्की छोरी ईवलाई १९६५ मा शान्तिको लागी नोबेल पुरस्कार मिल्यो । यसै समय १९१४ मा प्रथम विश्वयुद्धको आरम्भ भयो । मारी क्युरीद्वारा खोज गरिएको रेडियमको प्रयोग अब विशालस्तरमा चिकित्सा विभागमा हुन लाग्यो । एक्स रे किरणद्वारा हाडहरूको चित्र खिच्न थालियो । क्यान्सरको उपचारमा पनि रेडियमको प्रयोग हुन लाग्यो । प्रथम विश्वयुद्धको समय युद्ध पीडितहरूको लागि म्याडम क्युरीले महिला संघको सहयोगबाट ‘एक्सरे भ्यान’को निर्माण गरिन् जो कि युद्धस्थलमा गएर घाइतेहरूको एक्सरे खिचिन्थ्यो ।

म्याडम क्युरी एवं पियरे क्युरीले रेडियम बनाउने विधिलाई कहिल्यै पनि पेटेन्ट गराएनन् । उनीहरूको विचारमा रेडियमको प्रयोग हरेक आवश्यक क्षेत्रमा जो कोहीले पनि गर्न पाउन भन्ने थियो । रेडियमको अत्यन्त धेरै सम्पर्कमा रहनुको कारण म्याडम क्युरीको स्वास्थ्यमाथि नराम्रो प्रभाव प¥यो । उहाँको आँखाको ज्योति सुस्तसुस्त बन्द हुँदै गयो । अन्ततः रेडियम नै मारी क्युरीको मृत्युको कारण बन्न गयो । रेडियमको प्रभावको कारण नै म्याडम क्युरीको शरीरमा रगतको कमी हुन गयो, जो कि उनको मृत्युको कारण बन्यो । म्याडम क्युरीको रेडियमसम्बन्धी सिद्धान्तहरू उल्लेख भएको डायरी फ्रान्सको म्युजियममा अहिलेसम्म पनि सुरक्षित रहेकोे पाइन्छ ।

एउटा यस्तो समय जहाँ महिलाहरूलाई उनीहरूको आफ्नो हक अधिकारबारे जान्ने कुराबाट उनीहरूलाई धेरै टाढा राखिएको थियो । संघर्षबाट अलग गरिएको थियो । उनीहरूलाई अन्य घरायसी काममा अल्झाइएको थियो । त्यस समयमा म्याडम क्युरीको विज्ञान जगतमा एक अभुतपूर्व ताराको जस्तै उदय भयो । र आज उनी न केवल विज्ञानको क्षेत्रमा न केवल महिला मुक्तिको अभियानमा बरु सारा मानवताको लागि उदाहरण बन्ने काम भएको छ । आफ्नो प्रतिभा, आफ्नो मेहनत, आफ्नो ध्येयप्रति लगन, आफ्नो ध्येयप्रति समर्पणको कारण हामी सबैको लागि अनुकरणीय बन्न पुगेकी छन् । युगौँयुगसम्म मानवजातिको मन मस्तिष्कमा जीवित रहनेछिन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार