खजुरा गाउँपालिका नगरपालिकामा स्तरोन्नतिको सम्मुखमा रहेको छ । खजुरा व्यवस्थित बसोबास भएको र पुरानो बजारसमेत रहेको गाउँपालिका हो । खजुराको पूर्वमा कोहलपुर नगरपालिका र जानकी गाउँपालिका, उत्तरमा बैजनाथ गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला र दक्षिणमा भारत पर्दछ । साबिकका बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर र रनियापुर गाउँ विकास समितिलाई समेटेर आठ वटा वडा कायम गरी २०७३ सालमा गाउँपालिका बनाइएको थियो ।
तिलक गाउँले ।
बाँकेको खजुरा गाउँपालिका नगरपालिकामा स्तरोन्नतिको सम्मुखमा रहेको छ । खजुरा व्यवस्थित बसोबास भएको र पुरानो बजारसमेत रहेको गाउँपालिका हो । खजुराको पूर्वमा कोहलपुर नगरपालिका र जानकी गाउँपालिका, उत्तरमा बैजनाथ गाउँपालिका, पश्चिममा बर्दिया जिल्ला र दक्षिणमा भारत पर्दछ । साबिकका बागेश्वरी, सीतापुर, राधापुर, उढरापुर, सोनपुर र रनियापुर गाउँ विकास समितिलाई समेटेर आठ वटा वडा कायम गरी २०७३ सालमा गाउँपालिका बनाइएको थियो ।
हुन त गाउँपालिका गठन हुँदै खजुरालाई नगरपालिका घोषणा गर्ने प्रयास पनि भएका थिए । तर धेरै पूर्वाधार र शर्तहरू पूरा नभएकोले त्यतिबेला नगरपालिका घोषणा हुन सकेन । अहिले स्थानीय सरकार र माथिल्ला सरकारमार्फत भएका पूर्वाधार विकासले खजुरा नगरपालिका स्तरमा पुगिसकेको सम्बद्धहरू बताउँछन् ।
खजुरा वडा नम्बर २ का वडाध्यक्ष धनराम ओली अन्य नगरपालिकाका तुलनामा खजुुरा नगरपालिका बन्न नहुने कुनै आधार नरहेको बताउँछन् । उनले सडकदेखि फोहोर व्यवस्थापनमा खजुराले काम गरिसकेकोले अब माथिल्ला सरकारले यसको मूल्यांकन गरेर निर्णय गर्न बाँकी रहेको बताए । तर, खजुरालाई नगरपालिका घोषणा गर्दा अरु स्थानीय तहलाई पनि घोषणा गर्नुपर्ने राजनीतिक दबाब आउने जोखिम माथिल्ला सरकारले लिन नचाहेको हुनसक्ने ओलीको भनाइ छ ।
स्थानीय नागरिक अगुवा राजेन्द्र आचार्य नगरपालिकामा स्तरोन्नति हुँदा नागरिकहरूले तिर्नुपर्ने करमा वृद्धि हुने भएपनि त्यससँगै सुविधा पनि बढ्ने उनको भनाइ छ । खजुरामा विद्यालयदेखि विश्वविद्यालयसम्म स्थापना भइसकेको, पश्चिम नेपालको एकमात्र क्यान्सर विशेष अस्पताल पनि खजुरामै रहेको र सडकलगायत अन्य पूर्वाधारको पनि विकास भइसकेकोले अब नगरपालिका बन्नका लागि उपयुक्त छैन भन्न नमिल्ने आचार्यको बुझाइ छ ।
स्थानीय तहको वर्गीकरण सम्बन्धमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले केही शर्त र सुविधाहरूको व्यवस्था गरेको छ । ती शर्त र सुविधाको मापदण्डमा पनि खजुरा गाउँपालिका नगरपालिकामा स्तरोन्नति हुने आधार पर्याप्त भइसकेको देखिन्छ । यद्यपि केही भौतिक पूर्वाधारको निर्माणमा ढिलाइ भने भइरहेको छ ।
स्थानीय सरकार सञ्चालन ऐनले तोकेको शर्तमा उल्लेखित जनसङ्ख्याको मापदण्ड भने गाउँपालिकामा पूरा भएको छैन । तराईका जिल्लामा नगरपालिका हुनका लागि न्यूनतम ७५ हजार स्थायी बासिन्दा र पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तरिक आय कम्तीमा तीन करोड रूपैयाँ हुनुपर्दछ । राष्ट्रिय जनगणना २०७८ अनुसार, खजुरा गाउँपालिकाको कूल जनसङ्ख्या ६२ हजार सात सय ८९ रहेको छ । यो सङ्ख्या नगरपालिकाका लागि तराई क्षेत्रमा तोकिएको न्यूनतम ७५ हजारको मापदण्डभन्दा कम हो । तर, घोषणा भइसकेका कतिपय नगरपालिकामा नै जनसङ्ख्याको यो मापदण्ड पुगेको देखिँदैन ।
ऐनले नगरपालिका हुन औसत वार्षिक आन्तरिक आय कम्तीमा तीन करोड रूपैयाँ हुनुपर्ने शर्त राखेको छ । पछिल्ला वर्षमा भएको आम्दानी हेर्दा यो शर्त पूरा गर्न समस्या नरहेको देखिन्छ । पछिल्ला दुई वर्षमा वार्षिक करिब दुई करोडको राजस्व संकलन भएको देखिन्छ । गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्ल यसवर्ष राजस्व वृद्धिका लागि व्यवसाय दर्ता लगायतका व्यवस्थाहरू कार्यान्यन गर्न अभियान नै सञ्चालन गरिएकोले आगामी दिनमा आन्तरिक आय बढ्ने बताउँछिन् ।
ऐनले यसका अतिरिक्त भौतिक पूर्वाधार, शहरी सेवाको उपलब्धता र योजनाबद्ध विकासलाई पनि अनिवार्य शर्तका रूपमा लिइएको छ । पूर्वाधार विकासमा भने खजुराले फड्को मारेको देखिन्छ । गाउँपालिकाका विभिन्न वडामा सडक कालोपत्रे, ढल निकास, सडक बत्ती, र इन्टरनेट सुविधा विस्तार भएको छ । गाउँपालिका अध्यक्ष डम्मर विक तुफान भन्छन्, ‘खजुरामा प्रायः सबै स्थानमा ठूला गाडीहरू पुग्न सक्ने अवस्था बनेको छ । मुख्य बजारमा हुलाकी राजमार्गको फोरलेन सडक बनेको अवस्था छ । र थप सडकहरू हरेक वर्ष निर्माण गर्दै जाने हाम्रो योजना छ ।’
यसैगरी बसपार्क निर्माणका लागि ‘क’ गाउँमा जग्गा खरिद भई निर्माणको काम अघि बढेको छ । डम्पिङ साइटका लागि जग्गाको खोजी भइरहेको गाउँपालिका उपाध्यक्ष मल्लले बताइन् । यद्यपि हाललाई जानकी गाउँपालिकासँग समन्वय गरी एक गैर सरकारी संस्थामार्फत फोहोर व्यवस्थानको काम गाउँपालिकाले सुरु गरिसकेको छ । गाउँपालिकाको शीतभण्डार निर्माण भई सञ्चालनको तयारीमा छ । सभाहल पनि निर्माण भइसकेको छ । ‘एक घर एक धारा’ खानेपानीका योजनालाई पूर्णता दिन लागिपरेको गाउँपालिका अध्यक्ष विक बताउँछन् । स्वास्थ्य सेवातर्फ गाउँपालिकामा क्यान्सर विशेष अस्पताल सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालनमा छ भने १५ शय्याको अर्काे अस्पताल पनि निर्माण पूरा हुने चरणमा छ ।
शिक्षामा उत्कृष्ट सामुदायिक विद्यालय, निजी विद्यालय, प्राविधिक धारतर्फका विद्यालय, कृषि तथा वन विज्ञानअन्तर्गतको क्याम्पस सञ्चालनमा छन् भने लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्र पनि खजुरामै रहनेगरी काम भइरहेको छ । खेलमैदान लगायतका पूर्वाधारहरू पनि गाउँपालिकामा बनेका छन् । व्यवस्थित वधशाला, शवदाहस्थल लगायतका संरचनाको निर्माणका लागि पनि गाउँपालिकाले प्रयास गरिरहेको जनाएको छ । गाउँपालिकाले आवधिक विकास योजना तयार गरेको छ, जसले योजनाबद्ध विकासलाई मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले गाउँपालिकाले नगरपालिका घोषणाका लागि गर्नुपर्ने कागजी प्रक्रियाहरू पनि सुरु गरिसकेको बताए । उनका अनुसार गाउँपालिकाबाट माथिल्ला सरकारमा पत्राचार गरेपछि उनीहरूले गर्ने मूल्यांकनपछि नगरपालिका घोषणाको प्रक्रिया पूरा हुने विश्वास व्यक्त गरे ।
गाउँपालिका उपाध्यक्ष मल्लले पनि आफूहरूले कागजी प्रक्रिया र भौतिक निर्माणका कामलाई समानान्तररूपमा अघि बढाइरहेको बताइन् । ‘निर्माण हुन बाँकी रहेका बसपार्क, डम्पिङ साइट लगायतका योजनाहरू पूरा गर्ने हाम्रो प्राथमिकतामा छ । हामीले नीतिगत रूपमा पनि नगरपालिकामा स्तरोन्नति गर्न पहल गरिरहेका छौँ,’ उनले भनिन् । गाउँपालिका अध्यक्ष विक केही ठूला वडाहरूलाई विभाजन गरेर वडाको सङ्ख्या बढाउने विषयमा पालिकास्तरमा सहमति भइसकेको बताए । अब गाउँपालिकाबाट प्रदेश सरकारमा नगरपालिकामा स्तरोन्नतिको प्रस्ताव लैजाने उनको भनाइ छ । विकले भने, ‘हामी पूर्वाधारका हिसाबले नगरपालिको स्तरमा पुगिसकेका छौँ । बाँकी प्रशासनिक र राजनीतिकरूपले पहल गर्ने काम हाम्रो प्राथमिकतामा छ ।’









प्रतिक्रिया दिनुहोस्