20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

जघन्य मुद्दाका अभियुक्त उम्मेदवार बन्न नपाउने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २, २०७४  

कोहलपुर, २ बैशाख / स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि कानुन बमोजिम दोषी ठहरिएका, कैद तथा मुद्धा खेपिरहेका र कालो सूचीमा परेका व्यक्ति उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन ऐनको दफा १३ को उपदफा (ञ) अनुसार प्रचलित कानून बमोजिम कालो सूचीमा रहेका व्यक्ति उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको हो ।
यस्तै उपदफा (घ) अनुसार निर्वाचन सम्बन्धी प्रचलित कानून बमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको व्यक्ति समेत उम्मेदवार बन्न नपाउने व्यवस्था रहेको छ । बाँकेका गाउँपालिका र नगरपालिकामा विगतमा अदालत, प्रहरीबाट दोषी ठहरिएका, बैकबाट कालो सूचीमा परेका व्यक्ति समेत उम्मेदवारी बन्न थालेपछि निर्वाचन ऐनले छेक्ने भएको छ । ऐन अनुसार भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्मकैद वा बीस वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो पैmसला अन्तिम भएका व्यक्ति समेत उम्मेदवार बन्न नपाउने व्यवस्था गरेको छ ।
सङ्गठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तब्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको, जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाह सम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्ति उम्मेदवार बन्न नपाउने क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका निर्वाचन अधिकारी बसन्तराज अधिकारीले बताए । उम्मेदवारी दर्ताका क्रममा फौजदारी, कसुर भएका र सजाए पाएका व्यक्ति भेटिए उम्मेदवारी रद्ध हुने उनले भने ।
बाँकेमा अहिले पनि अदालत र प्रहरीले कसुरदार देखि मुद्धा दर्ता गरेका र दोषी ठहरिएका व्यक्ति कैद भुक्तान नगरि फरार रहेकोले निर्वाचन ऐनले उम्मेदवार बन्न रोक्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालयले अहिले पनि १५० जनाको जघन्य मुद्दाका फरार अभियुक्त भन्दै नाम, ठेगाना, अभियोगसहित सावर्जनिक गरेपनि पक्राउ गर्न सकेको छैन । विगत ३० बर्षदेखि अभियुक्त फरार हुँदा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन् । त्यस्ता फरारमा राजनैतिक दलका व्यक्ति समेत छन् । यस्तै बाँकेमा अदालतबाट दोषी ठहरिएका पाँच सय व्यक्ति फरारको सूचीमा छन् । यसरी फरार हुनेमा राजनैतिक दलका व्यक्ति समेत रहेको पाएको छ ।
प्रहरी, अदालत कर्मचारी फरारको खोजीमा रहेको बेला निर्वाचन ऐनले यस्ता व्यक्तिलाई उम्मेदवारी बन्न रोकेको छ । प्रहरीले राजनैतिक आड, पहूच भएका व्यक्ति, व्यापारी र उद्योगीलाई पक्राउ गर्न सकेको छैन् । बाँके प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले फरार अभियुक्त पक्राउ गरिने बताए । फरार व्यक्ति पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयमा सईको कमाण्डमा सुरक्षाकर्मी परिचालन गर्दै आएको उनले भने । फरार सूचीमा केही राजनैतिक दल रहेको र उनीहरुलाई छुट नहुने प्रहरीको भनाई छ ।

प्रकाशित मितिः शनिबार, बैशाख २, २०७४     12:31:24 PM  |