वीरेन्द्र जैसी । नेपालगन्ज ।
गएको भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपालगन्जका तीनवटा शालिकहरू ढालिए भने एउटा शालिक तोडफोड गरियो । तोडफोडपछि कुरुप बनेका नेपालगन्जका चोकहरूमा पुनः शालिक ठडिने भएका छन् भने चोकहरूको सौन्दर्यीकरण पनि गरिने भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले जेनजी आन्दोलनका क्रममा ढालिएका दुई राजनीतिक व्यक्तित्व र एक सहिदको शालिक पुनः स्थापना गर्न लागेको हो ।
साथै सोही आन्दोलनमा तोडफोड गरिएको नेपाली राजनीतिका सर्वमान्य नेता गणेशमान सिंहको शालिक पुननिर्माण गर्ने र राजा विरेन्द्रको शालिक पनि पुनस्र्थापना गर्नेगरी अहिले चोकको पुनर्निर्माणको काम चलिरहेको छ । जेनजी आन्दोलनका क्रममा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला, नेपाली कम्युनिस्ट आन्दोलनका सर्वमान्य नेता पुष्पलाल र जनआन्दोलन २०६२–०६३ कि सहिद सेतु विकको शालिक ढालिएको थियो ।
यी सबै व्यक्तित्वका शालिकहरू एकैपटक पुनस्र्थापना गर्नेगरी उपमहानगरपालिकाले चोकको पुनर्निर्माण गरिरहेको छ । उपमहानगरपालिकाका इन्जिनियर चन्दनराज दासले नौ लाख ५० हजार रूपैयाँमा ती शालिकहरू पुनस्र्थापना र चोक पुनर्निर्माणको काम गर्न लागिएको जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षको असार मसान्तभित्रै ती शालिकहरू पुनस्र्थापना गरिसक्ने लक्ष्य राखिएको छ ।
कोटेशनमार्फत भइरहेको चोक पुनर्निर्माणमा अब सबै चोकहरूमा एकै प्रकारको टायल तथा मार्वलको प्रयोग गरिने भएको छ । सबै चोकहरू पुनर्निर्माणपश्चात् सौन्दर्यीकरण गरेर शालिकहरू पुनस्र्थापना गरिने उनले जानकारी दिए । पहिले ढालिएका शालिकहरू तोडफोड भएकोले नयाँ शालिकहरू तयार गरिएका र शालिक राख्ने ठाउँको पुनर्निर्माणपछि शालिक पुनस्र्थापना गरिने उनले जानकारी दिए ।
गणेशमानको शालिक भने तोडफोड मात्रै भएकोले मर्मत गरिने र राजा विरेन्द्रको शालिक पनि राजावादी तथा शालिक पुनस्र्थापनाको लागि आवाज उठाउँदै आएकाहरूको सहयोगमा उपमहानगरलाई हस्तान्तरण भइसकेकोले सोही शालिक पुनस्र्थापना गरिने छ । जेनजी आन्दोलनका क्रममा काँग्रेस, एमाले, माओवादी लगायतका राजनीतिक दलको बढी आस्था रहेका व्यक्तिहरूका शालिकहरू ढालिएपछि विभिन्न क्रियाप्रतिक्रियाहरू व्यक्त भएका थिए ।
कतिले पुराना राजनीतिक शक्तिहरूप्रतिको वितृष्णा पोखिएको प्रतिक्रिया दिएका थिए भने कतिले इतिहास चेत नभएकाहरूले काम भनेका थिए । यद्यपि ढलेका शालिकहरू प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा सहिदहरूका हुन् । नेकपा एमाले बाँकेले स्थानीय तहले शालिकहरू पुनस्र्थापना नगरे पार्टीले नै गर्ने चेतावनी दिएको थियो ।
अन्य राजनीतिक दलहरूले पनि शालिक पुनस्र्थापना गर्न दबाब दिएका थिए । उपमहानगरमा बसेको सर्वपक्षीय बैठकले शालिकहरू पुनस्र्थापनाको जिम्मा उपमहानगरलाई दिने निर्णय गरेको थियो । त्यसपश्चात् ढलेका शालिकहरू ठड्याएर उपमहानगरपालिकाले डोरीको सहायताले अड्याएको थियो । शालिकहरूलाई फाँसी लगाएको जस्तो देखिएको भन्दै त्यतिबेला तीव्र आलोचना भएको थियो ।
उपमहानगगरले ढलेका शालिकहरू उठाइरहँदा राजावादी तथा धम्बोझी चोकमा राजा वीरेन्द्रको शालिक राख्नुपर्छ भनेर अभियान चलाउँदै आएकाहरूले वीरेन्द्रको शालिक पुनस्र्थापना नभए अरु शालिक पनि राख्न नदिने चेतावनी दिएका थिए । त्यसपश्चात् राप्रपाका महामन्त्री एवं पूर्वप्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणाको उपस्थितिमा राजा वीरेन्द्रको शालिक उपमहानगरलाई हस्तान्तरण गरिएको थियो ।
अब नेपालगन्जका सबै चोकहरूमा एकैपटक सबै शालिक पुनस्र्थापना गर्ने तयारी उपमहानगरपालिकाको छ । पछिल्लो जेनजी आन्दोलनले नेपालगन्जमा रहेका पुराना सबै शालिकहरू पुनस्र्थापना गर्नुका साथै नयाँ दुई शालिकहरू पनि थपेको छ । वडा नम्बर १ का बासिन्दा रहेका जेनजी सहिदहरू सुलभ श्रेष्ठ र आयुष थापाको शालिक पनि स्थापना भएको छ ।
सबै शालिकमा पोखियो जनताको रिस
नेपालगन्जमा शालिकको राजनीति चर्काे हुने गरेको छ । विशेषगरी राजाका शालिक र नेताका शालिक पक्षधरहरूको लडाइँले यहाँको राजनीति तरंगित हुन्छ । जनआन्दोलनका क्रममा ढालिएको त्रिभुवन चोकमा रहेको राजा त्रिभुवनको शालिक पनि अनेक टकरावपश्चात् डा. धवलशमशेर राणा मेयर हुँदा पुनस्र्थापना गरिएको थियो । उक्त स्थानमा रहेको शालिक २०६२–०६३ को आन्दोलनका क्रममा आक्रोशित आन्दोलनकारीले तोडफोड गरेका थिए ।
२०७९ सालमा धम्बोझी चोकमा राजा वीरेन्द्रको शालिक राख्न नदिएको झोँकमा राजावादीहरूले सहिद सेतु विकको शालिक तोडफोड गरेका थिए । राजावादीहरूले अहिले पनि सेतु विक चोेकमा राजा ज्ञानेन्द्रको शालिक राख्नुपर्ने माग गर्ने गरेका छन् । पछिल्लोपटक जेनजी आन्दोलनका क्रममा पनि सेतु विकको शालिक तोडफोड गरियो । यससँगै नेपालगन्जमा सबै राजनीतिक व्यक्तित्वका शालिकहरूमाथि जनताको रिस पोखिएको थियो ।









प्रतिक्रिया दिनुहोस्