नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशमा एचआईभी परीक्षणको दायरा विस्तार हुँदै जाँदा संक्रमणदर भने क्रमश घट्दै गएको छ । पछिल्ला पाँच आर्थिक वर्षको एचआईभी परीक्षण तथा संक्रमणसम्बन्धी तथ्यांकले परीक्षणको दायरा विस्तार भएपछि संक्रमणदर घटेको देखाएको हो । आर्थिक वर्ष २०७८–०७९ देखि २०८२–०८३ सम्मको पछिल्लो अध्यावधिक तथ्यांकअनुसार परीक्षण गराउने व्यक्तिको सङ्ख्यामा पनि वृद्धि भएको छ ।
तर एचआईभी संक्रमण पुष्टि हुने दर निरन्तर घट्दो अवस्थामा रहेको छ । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजनामा सम्पन्न सञ्चारकर्मीहरूसँगको अन्तक्र्रियाका अवसरमा कर्णालीमा एचआईभीको अवस्थाबारे जानकारी गराइएको हो । उक्त तथ्यांकअनुसार आर्थिक वर्ष २०७८–०७९ मा १२ हजार ९० जनाको एचआईभी परीक्षण गरिएकोमा ७० जनामा संक्रमण पुष्टि भएको थियो । सो वर्ष संक्रमणदर ०.५८ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०७९–०८० मा परीक्षण सङ्ख्या बढेर १७ हजार २४९ पुगे पनि संक्रमितको सङ्ख्या ५६ मा झरेको थियो, भने संक्रमणदर ०.३२ प्रतिशतमा सीमित भएको थियो । निर्देशनालयका एचआईभी फोकल प्रर्सन पदम केसी का अनुसार आर्थिक वर्ष २०८०–०८१ मा १७ हजार ९८५ जनाको परीक्षण गर्दा ४० जनामा संक्रमण पुष्टि भएको थियो । उक्त वर्ष संक्रमणदर ०.२० प्रतिशतमा झरेको देखिन्छ ।
आर्थिक वर्ष २०८१–०८२ मा परीक्षण सङ्ख्या नौ हजार २७९ मा घटे पनि संक्रमितको सङ्ख्या ३९ रहेको थियो । भने संक्रमणदर ०.४२ प्रतिशत पुगेको थियो । सबैभन्दा पछिल्लो आर्थिक वर्ष २०८२–०८३ को हालसम्म भने परीक्षणको दायरा व्यापक रूपमा विस्तार गरिएको छ । यो अवधिमा ३५ हजार ८२४ जनाको परीक्षण गरिएकोमा ३१ जनामा मात्र संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमणदर ०.०९ प्रतिशतमा झरेको छ, जुन पछिल्ला पाँच वर्षकै न्यून दर हो ।
जिल्लागत रूपमा आर्थिक वर्ष २०८१–०८२ को तथ्यांक हेर्दा सुर्खेतमा सबैभन्दा बढी पाँच हजार ९५३ जनाको परीक्षण गरिएको थियो । त्यसमध्ये २८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कालीकोटमा एक हजार ४३१ जनाको परीक्षण गर्दा संक्रमण पुष्टि नभएको देखिएको छ, भने जाजरकोटमा ८८३ जनाको परीक्षण गर्दा संक्रमित भेटिएका छैनन् ।
रूकुम पश्चिममा ४४४ जनाको परीक्षण गर्दा चार जना, दैलेखमा ४१५ जनाको परीक्षण गर्दा चार जना तथा सल्यानमा १५३ जनाको परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको तथ्यांकमा उल्लेख छ । मुगु, हुम्ला, जुम्ला र डोल्पामा सो अवधिमा संक्रमण पुष्टि भएको छैन ।स्वास्थ्यकर्मीहरूका अनुसार एचआईभी परीक्षण सेवाको पहुँच विस्तार, जनचेतनामा वृद्धि, जोखिमयुक्त व्यवहारमा कमी तथा उपचार सेवाको सहज उपलब्धताले संक्रमणदर घटाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
तर केही जिल्लामा अझै पनि नयाँ संक्रमित भेटिइरहेका कारण परीक्षण, परामर्श तथा रोकथामका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको निर्देशनालयले जनाएको छ । एचआईभी परीक्षण सेवाप्रति नागरिकको पहुँच बढ्दै गएको र संक्रमण नियन्त्रणका प्रयास सकारात्मक दिशामा अघि बढिरहेको तथ्यांकले देखाउँछ ।
तर संक्रमण पूर्ण रूपमा अन्त्य नभएकाले नियमित परीक्षण, सुरक्षित व्यवहार र जनचेतना अभिवृद्धिलाई निरन्तरता दिनुपर्ने स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको भनाइ छ । यता स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०८२–०८३ मा एचआईभी संक्रमित तथा प्रभावित व्यक्तिहरूको स्वास्थ्य, उपचार र जीवनस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
निर्देशनालयका अनुसार एचआईभी संक्रमित तथा प्रभावितहरूलाई पोषण तथा खाद्य सामग्री वितरण एवं व्यवस्थापन, टेस्ट किट व्यवस्थापन, प्रदेशस्तरीय एचआईभी÷एड्स कार्यक्रमको वार्षिक समीक्षा, कारागारमा रहेका कैदीबन्दीहरूलाई एचआईभी परीक्षण तथा परामर्श सेवा प्रदान गर्ने लगायतका गतिविधि सञ्चालन भइरहेका छन् ।
नेपालमा एचआईभीको अवस्था
नेपालमा एचआईभी महामारीको अवस्था हेर्दा हाल अनुमानित ३४ हजार ३३७ जना एचआईभी संक्रमित रहेको तथ्यांकले देखाएको छ । तीमध्ये १५ वर्षभन्दा माथिका पुरुष संक्रमितको सङ्ख्या १९ हजार २७९ र महिलाको सङ्ख्या १४ हजार रहेको छ । संक्रमित बालबालिकाको सङ्ख्या एक हजार ५८ रहेको छ, जुन कुल संक्रमितमध्ये करिब ३ प्रतिशत हो ।
तथ्यांकअनुसार नेपालमा वार्षिक रूपमा ६१४ नयाँ एचआईभी संक्रमण हुने गरेको छ, भने एड्ससँग सम्बन्धित कारणबाट वार्षिक ५६९ जनाको मृत्यु हुने गरेको छ । एचआईभी संक्रमित गर्भवती आमाबाट बच्चामा संक्रमण हुने अनुमानित नयाँ सङ्क्रमणको सङ्ख्या ३७ रहेको छ, जसलाई रोकथामका लागि विशेष सेवाको आवश्यकता रहेको स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले बताएका छन् ।
स्वास्थ्यकर्मीहरूका अनुसार एचआईभी रोकथाम, समयमै परीक्षण, उपचारमा पहुँच र सामाजिक लाञ्छना तथा भेदभाव न्यूनीकरणमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सके संक्रमण नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उल्लेख छ । यस्तै एचआईभी सम्बन्धी जनचेतनामूलक सामग्री प्रकाशन, एआरटी तथा पीएमटीसीटी साइटहरूको स्थलगत अनुशिक्षण तथा अनुगमनका साथै एआरटीमा रहेका व्यक्तिहरूको प्रयोगशाला परीक्षण खर्च सोधभर्ना गर्ने कार्यक्रम पनि समावेश गरिएको निर्देशनालयले जनाएको छ ।
यसैबीच एएचएफ नेपालले पनि एचआईभी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको संस्थाका कार्यक्रम संयोजक संजय कुमार पौडेलले बताए । उनका अनुसार संस्थाले लक्षित समुदायमा एचआईभी परीक्षण सञ्चालन गरी नयाँ एचआईभी पोजिटिभ व्यक्तिहरूलाई एआरटी केन्द्रसँग जोड्ने लगाएतका विभिन्न गतिविधि गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्