एमाले बाँकेद्वारा सांसद चौधरीलाई कारबाही



कोहलपुर ।

नेकपा एमाले जिल्ला कमिटी बाँकेले आफ््नो पार्टीका सदस्य एवम् लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई अनुशासनको कारबाही गरेको छ । पार्टी हितविपरीत काम गरेको भन्दै एमाले जिल्ला कमिटी बाँकेले चौधरीलाई साधारण सदस्यबाट निलम्बित गरेको हो ।

नेकपा एमाले जिल्ला कमिटी बाँकेका अध्यक्ष निरक गुरुङले मंगलबार एक पत्र सार्वजनिक गर्दै चौधरीमाथि पार्टी विधानको धारा ३ र ४ बमोजिम अनुशासनको कारबाही गरिएको जनाएका छन् । पार्टीलाई हानि नोक्सानी पु¥याउने मनसायका साथ पटक–पटक पार्टीका केन्द्रीय अध्यक्ष, महासचिवलगायतका नेताहरूलाई गाली गलौज गर्ने काम गरेकाले उनीमाथि कारबाही गरिएको पत्रमा जनाइएको छ ।

‘हामीले बारम्बार सचेत गराउँदा र स्पष्टीकरण सोध्दा पनि उहाँबाट पटक–पटक यस्ता गतिविधि दोहोरिरहेकाले उहाँलाई अनुशासनको कारबाही गरेका हौँ,’ एमाले जिल्ला कमिटी अध्यक्ष गुरुङले भने, ‘सामाजिक सञ्जालहरूमा लगातार नेताहरूका विरुद्ध गालीगलौज गर्ने काम उहाँबाट भइरहेपछि हामीले गत कागत कात्तिक ४ गते स्पष्टीकरण सोधेका थियौँ तर स्पष्टीकरणमा पनि उहाँले गल्ती महसुस गर्नुको साटो पार्टी र नेताका विरुद्ध लिखित जवाफ दिनुभएको हुँदा उहाँमाथि कारबाही गरिएको हो ।’

यसअघि पनि पार्टीका तर्फबाट पटक–पटक सचेत गराउँदा पनि चौधरीले आफूलाई पार्टीभन्दा माथि ठानेर आफ्ना पार्टी र नेताविरोधी क्रियाकलाप दोहो¥याएको अध्यक्ष गुरुङले आरोप लगाए । जिल्ला कमिटीले चौधरीलाई साधारण सदस्यबाट निलम्बन गर्दै त्यसको बोधार्थ पार्टी केन्द्रीय कार्यालय, लुम्बिनी प्रदेश कमिटी र बाँकेअन्तर्गतका पालिका कमिटीहरूमा पठाएको जनाएको छ ।

जिल्ला कमिटीको यो कारबाही पछि अब चौधरीको सांसद पद के हुन्छ भन्ने कुरामा धेरैको चासो देखिएको छ । आफूमाथि कारबाही भएको भन्ने कुरा आफूलाई कुनै जानकारी नभएको सांसद चौधरीले बताए । तपाईंमाथि त एमाले जिल्ला कमिटीले साधारण सदस्यबाट निलम्बनको कारबाही गरेछ नि ? भन्ने मिसन टुडेको जिज्ञासामा सांसद चौधरीले भने, ‘ए हो र ! मलाई त कुनै जानकारी छैन त ।’ आफूलाई यसबारे कुनै पनि माध्यमबाट जानकारी नआएको उनले बताए ।

यदि जिल्लाले गरेको यो कारबाहीलाई नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले पनि मान्यता दिँदै प्रदेश सभामा लिखित पत्र पठाएमा प्रदेश सभा सदस्य चौधरीको सांसद पद जोखिममा पर्न सक्छ । ‘हामीले पार्टीको लुम्बिनी प्रदेश संसदीय दललाई पनि यो कारबाहीबारे जानकारी गराएका छौँ,’ एमालेका बाँकेका अध्यक्ष गुरुङले भने, ‘अब पार्टीको संसदीय दलले के गर्छ त्यो उसैको कुरा हो ।’

तर नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले भने पार्टी प्रदेश कमिटीको यो कुनै एजेन्डा नभएको बताए । उनले पार्टीको आन्तरिक मतभेदलाई यसरी बाहिर ल्याउन नहुने बताउँदै सामाजिक सञ्जालमा व्यक्त गरिएका कुरालाई लिएर अनावश्यक विवाद सिर्जना गर्ने काम गर्न नहुने बताए ।

‘उहाँ (दुर्गा चौधरी) एक जना जननिर्वाचित सांसद हो । फेरि उहाँले कुनै व्यक्तिको नाम किटेरै विरोध गरेको पनि होइन, यस्तो विषयलाई अनावश्यक रूपमा उछाल्नुहुँदैन ।’ यो कारबाहीको विषय संसदीय दलको कुनै एजेन्डा नभएकाले कारबाहीको प्रक्रिया अगाडि नबढ्ने उनले स्पष्ट पारे ।

सांसद चौधरीले केही समयअघि पार्टी र नेताहरूका गतिविधिलाई लिएर सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि व्यक्त गर्दै आएका थिए । जसले स्थानीय पार्टी कमिटीमा विवाद सिर्जना हुँदै आएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर १२ गते बुधबार