कैलाली ।
बाढी आउँदा डुङ्गाको सहायताले नदी पार गर्नुपर्ने समस्याको अन्त्य भएको छ । झोलुङ्गे पुल सञ्चालनमा आएपछि कैलालीको कैलारी गाउँपालिका–३ मोहनपुरका स्थानीयलाई डुङ्गाको सहायताले नदी पार गर्नुपर्ने समस्याको अन्त्य भएको हो । ९५ घरधुरी रहेको सो गाउँको जनसङ्ख्या ५२५ रहेको छ । मोहनपुर र भितरिया गाउँका स्थानीयको समस्यालाई मध्यनजर गरेर संघीय सरकारको सहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार विभागअन्तर्गत सस्पेन्सन ब्रीज डिभिजनको तीन करोड ४३ लाखको लागतमा उक्त झोलुङ्गे पुल निर्माण गरिएको हो ।
सो पुल निर्माणका लागि एमपी ठेगिम सनलाइट जेभी नेपालगन्ज बाँके निर्माण कम्पनीसँग २०७८ असोज १३ गते सम्झौता भएर २०८१ माघ १० गते पुल निर्माणको काम सम्पन्न भएको थियो । झोलुङ्गे पुल निर्माण सम्पन्नपश्चात् सो क्षेत्रका नागरिक निकै खुसी छन् । वडा नम्बर ४ भितरिया जोड्ने झोलुङ्गे पुल निर्माणले उनीहरूलाई निकै राहत प्रदान गरिरहेको छ । पुल निर्माणपश्चात् किनमेलका लागि भारतीय बजार चन्दन चौकी जान अन्त्य भएको भल्मन्सा शीतलप्रसाद डगौराले जानकारी दिए ।
उनले भने, ‘हामी यो गाउँमा बस्ने सबै मुक्तकमैया हौँ । २०३६ सालबाट यो क्षेत्रमा बसोवास गर्दै आएको उनले बताए । पहिला नदी नजिकै थियो, वर्षातमा डुवान हुँदा ठाउँसारी गरेर अन्त जानुपर्ने बाध्यता थियो ।’ उनले भने, ‘डुङ्गाको व्यवस्था नहुँदा रुखको वेराको सहायताले धेरै वर्षसम्म नदी वारपार गर्नुपर्ने अवस्था थियो ।’ नेपाल रेडक्रस सोसाइटी, मर्सिकोर संस्थाले डुङ्गा र लाइफ ज्याकेटको सहयोग गर्दा नदी पार गर्न केही सहज भएको उनले बताए ।
अहिले पुल निर्माण भयो र नदीले धार परिवर्तन गर्दा १० वर्षदेखि बाढी नआएको उनले बताए । २०६४ सालमा आएको बाढीले घरपालुवा जनावर गाई, भैँसी, बाख्रा, सुगुरबंगुर सबै बगाएर लगेको उनले बताए । नदीमा बाढी आएको बेला कुनै साधन नहुँदा २०६६–०६७ मा सुत्केरी महिला पार्वती चौधरीलाई अस्पताल लैजान नसक्दा मृत्यु भएको उनको भनाइ छ । बाढीले धेरै सताउने गरेको र रेडक्रस सोसाइटीले गाउँका सबै मानिस अट्ने सेल्टर हाउसको निर्माण पनि गरेको उनले बताए ।
बितेका दिनहरूमा बाढी आउँदा सोही घरमा गएर ज्यान जोगाउने गरिएको उनले बताए । उनले भने, ‘अहिले त्यस्तो समस्या छैन । नदीमा तटबन्धन भइसक्यो र पुल सञ्चालनमा आएका कारण जीवनयापन सहज भइरहेको छ ।’ विगतका वर्षहरूमा नदीमा पुल नहुँदा सबैभन्दा बढी बालबालिकालाई स्कुल जान समस्या हुने गरेको स्थानीय सोमवतीदेवी चौधरीले बताइन् । पुल बनेपछि बालबालिकालाई स्कुल जान सहज भएको उनले बताइन् । किनमेल गर्न भारतीय बजार जानुपर्ने बाध्यताको पनि अन्त्य भएको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्