जलवायु र पर्यटनका मुद्धा सँगसँगै उठाउनुपर्छः पर्यटन सचिव निरौला



ललितपुर ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले जलवायु परिवर्तन र पर्यटन विकासका मुद्धालाई सरकारले सँगैसँगै राखेर सम्बोधन गरेको बताउनुभएको छ । जलवायु परिवर्तन र वातावरण विनासले पर्यटनलाई असर पुर्याइरहेकाले यी मुद्धालाई सँगसँगै राखेर समाधन खोजिएको उनले बताए ।

जलवायु परिवर्तनको विषय वातावरणसँग मात्र सम्बन्धित छैन । पर्यटन र सम्पदालगायतसँग जोडिएको छ, सचिव निरौलाले भने ।
विश्व वातावरण दिवसका सन्दर्भमा जलवायु न्याय र पर्यटन विकासमा केन्द्रित संस्था साथसाथैले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा सहभागी जलवायु विज्ञ तथा वातावरण विदहरुले जलवायु परिवर्तनले पारेको स्थानीय असरलाई विश्वव्यापी नीतिमा समेट्न एकताबद्ध हुनुपर्नेमा जोड दिए । ‘समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारा साथ मनाइएको वातावरण दिवसको अवसर पारी साथसाथैले हिमालय र वातावरण सम्मेलन २०२६ आयोजना गरेको हो ।

यूएनडीपी नेपालको साझेदारीमा आयोजित कार्यक्रममा बोल्दै सचिव निरौलाले जलवायु परिवर्तनले वातावरणमा परेको असर र मानवीय जीवनशैलीमा पुर्‍याएको नकारात्मक प्रभावका बारेमा साथसाथै जस्ता संस्था, सञ्चारकर्मी लगायतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । ‘जलवायु परिवर्तनको समस्याका बिषयहरु मिडियामार्फत आउनु पर्यो, जनताका समस्या र जनसरोकारका बिषयमा यथार्थपरक कुरा सञ्चार माध्यममा समेटिनु पर्छ, जसले नीतिगत व्यवस्थाका लागि सहयोग पुग्छ, उनले भने ।

त्यस्तै, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले जलवायु परिवर्तनको कारणले हिमाली क्षेत्रमा याक चौरी पालन गर्ने खर्क, जीवनशैली र उत्पादकत्वमा असर पारेको बताउँदै त्यहाँका नागरिकहरुको जीवनस्तर उकास्नका लागि पर्यटन र कृषिमा सहयोग गरेर जीविकोपार्जनमा सहयोग पुर्‍याउनुपर्ने धारणा राखिन् । शिवाकोटीले जलवायु परिवर्तनको असरले कृषिसंग सम्बन्धित रहेर अनुसन्धान भएको तर पशुपन्छीमा पारेको असरका बिषयमा अनुसन्धान हुन आवश्यक रहेको धारणा राखेकी थिइन् ।

राष्ट्रसंघीय विकास कार्यक्रम ९युएनडीपी० नेपालका सहायक राष्ट्रिय निर्देशक एवं जलवायु विज्ञ विजय सिंहले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र बढ्दो वायु प्रदुषण विश्वव्यापी चुनौतीका रुपमा देखापरेको बताए । सिंहले शून्य कार्बन उत्सर्जन रणनीतिलगायत अन्तराष्ट्रिय प्रतिवद्धताको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको र युएनडीपीको ध्यान त्यसैमा केन्द्रित रहेको बताए ।

नेपाल पर्यटन बोर्ड, राष्ट्रिय प्रकृति संरक्षण कोष, खुम्बु पासाङ्गल्हामु गाउँपालिकासहितको सहकार्यमा उक्त कन्क्लेभ भएको हो । कार्यक्रममा बोल्दै साथसाथैका अध्यक्ष प्रजिता कार्कीले हिमालय क्षेत्रका विपद्, जलवायु प्रभाव, र स्थानीय जीवनयापनका चुनौतीहरूलाई उजागर गर्दै साथसाथैले सरकार, नागरिक समाज, तथा अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्दै आएको बताइन् । आफूहरुले विगत ५ वर्षदेखि पर्वतीय क्षेत्रमा महिलाको नेतृत्वलाई अगाडि ल्याउँदै, यसले जलवायु न्यायलाई सुनिश्चित गर्ने, दिगो पर्यटन, स्वच्छ ऊर्जा, र समुदाय मा आधारित समाधानलाई प्राथमिकता दिने कार्यमा निरन्तर योगदान पुर्याइरहेको कार्कीले बताइन् ।

कार्यक्रममा अध्यक्ष कार्कीले भनिन्–‘जलवायु न्यायका सबै नीति र वार्तामा महिलाको मुद्दा अनिवार्य रूपमा समावेश हुनुपर्छ।’ एक वर्ष अघि देखि साथसाथैले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा नेपालमा कोइला नियन्त्रण अभियान सुरु भएको जानकारी समेत उनले दिइन् । कार्यक्रममा नेपाली सेनाले हिमालमा प्रदुषण नियन्त्रण र सरसफाई अभियानबारे विशेष प्रस्तुतिकरण राखेको थियो ।

साथसाथैका उपाध्यक्ष डाक्टर सिद्धार्थ बज्र बज्राचार्यले जलवायु वैज्ञानिकहरू, ऊर्जा विज्ञहरू, संरक्षणकर्मीहरू, पर्वत तथा पर्यटन क्षेत्रका विशेषज्ञहरू, नीति निर्माताहरू, सरकारी प्रतिनिधिहरू तथा विकास साझेदारहरूको सक्रियतामा व्यक्तिमा रहेको ज्ञान, अनुभव र दृष्टिकोणका माध्यमबाट जलवायु, उर्जा, पर्यटन र वातावरणीय दिगोपनाका बिषयमा हुने छलफलले महत्त्वपूर्ण निष्कर्ष निकाल्ने विश्वास व्यक्त गरे । एक महिना अघि साथसाथैले सगरमाथाको गोक्यो ताल क्षेत्रमा गोक्यो जलवायु सम्मेलन गरेको थियो ।

त्यसकै सेरोफेरोमा रहेर यो कन्क्लेभ आयोजना गरेको हो । कार्यक्रममा सगरमाथा आरोही तेन्जिङ डेभिड शेर्पाले जलवायु परिवर्तनका कारण पर्वतारोहीहरुलाई समेत अत्यन्तै प्रभावित पारेको बताउँदै पर्वतारोहण गर्न आउनेहरूमा नकारात्मक प्रभाव पारेको बताए । हिमनदि विज्ञ डा। अरुणभक्त श्रेष्ठले विश्वव्यापी रुपमा जलवायु परिवर्तन, वायु प्रदुषण, जैविक विविधतामा आएको संकटका कारण पृथ्वी र वायुमण्डलको तापक्रम बढ्दै गएको जानकारी गराउँदै उच्चहिमाली क्षेत्र, हिमनदीहरुमा संकट पैदा भएको बताए।

उनले जलवायु परिवर्तनका कारण भारि बर्षा हुने, भूमि मुनि जमेर रहेको माटो पग्लिएर भूक्षय हुने कार्यले मानव तथा प्राणी जगतमा संकट सृजना गरेको वताउँदै सन् २०१२ देखि २०२३ सम्म हिमनदी विस्फोटका कारण धेरै ठूलो प्राकृतिक, धनजन र भौतिक क्षति पुगेको जानकारी दिए। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सचिवालय सदस्य सरिताश्री ज्ञवालीले वातावरणमा पर्ने नकारात्मक असर रोक्नका लागि प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै वातावरणीय न्याय, संरक्षण र उपयोगका लागि सबैले एकअर्कामा समन्वय, सहकार्य र जनचेतनाका माध्यमबाट अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

उनले भावी पुस्ताका लागि जलवायु संरक्षण अनिवार्य रहेको बताउँदै हिमालसंग मानवीय जीवन जोडिएको बताईन् । उर्जा विज्ञ कुशल गुरुङले हिमालय क्षेत्रको वातावरणीय प्रणालीको संरक्षणका लागि विद्युतको उपयोगलाई अभिबृद्धि गर्नुपर्नेमा जोड दिंदै केन्द्रीय विद्युत प्रशारण पुग्न नसकेको ठाउँमा लघु जलविद्युत र सौर्य उर्जालाई उपयोग गर्नेतीर ध्यान दिनुपर्ने र साथसाथै संस्थाले यसबारे आवाज उठाइरहनुपर्ने सुझाव राखे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला, नेपालका लागि विश्व वन्यजन्तु कोषका देशीय प्रतिनिधि डाक्टर घनश्याम गुरुङ, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा। वेदमणि दाहाल, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका जलवायु परिवर्तन र विपद व्यवस्थापन विज्ञ दिपक के।सी। र जलवायु सरोकार अभियान्ता टासी ल्हाजोम सहितको संग्लग्नतामा जैविक विविधता, जलवायु परिवर्तनको परिस्थितिमा पर्यटन र जीविकोपार्जन शीर्षकमा समूहगत छलफल समेत भएको थियोे। त्यसको सहजकर्ता वातावरण पत्रकार श्रीराम सु्वेदी थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २३ गते शनिबार