धनगढी ।
पूर्वपर्यटनमन्त्री समेत रहेका प्रेमबहादुर आलेमगरले कैलाली क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गर्दै धनगढी र सुदूरपश्चिमको समग्र विकासका लागि महत्वाकांक्षी २० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । शनिबार धनगढीस्थित नेकपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले पूर्वाधार, स्वास्थ्य, शिक्षा, खेलकुद, कृषि, उद्योग, पर्यटन र सामाजिक न्यायलाई समेट्दै दीर्घकालीन विकासको स्पष्ट खाका प्रस्तुत गरे ।
लामो समयदेखि चर्चामा रहेको फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रंगशालाका रूपमा निर्माण गर्ने विषयलाई उनले आफ्नो प्राथमिकतामा राखेका छन् । अध्ययन सम्पन्न भइसके पनि बजेट अभावका कारण निर्माण रोकिएको फाप्ला क्रिकेट स्टेडियमका लागि आवश्यक बजेट व्यवस्थापन गरी निर्माण कार्य अघि बढाइने उनले बताए ।
धनगढीलाई ‘क्रिकेट हब’का रूपमा विकास गर्दै युवालाई खेलकुद, अनुशासन र राष्ट्र निर्माणमा जोड्ने उनको लक्ष्य छ । उनका अनुसार अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिनेछ, जसले खेल पर्यटन, रोजगारी र स्थानीय व्यवसायमा उल्लेखनीय टेवा पु¥याउनेछ ।
धनगढी विमानस्थलको धावनमार्ग २५०० मिटर पु¥याई ठूला जहाज अवतरण गर्न सक्ने बनाउने योजना पनि उनको प्रतिबद्धताको प्रमुख अंश हो । यसमार्फत सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने लक्ष्य राखिएको छ । उनले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहँदा विमानस्थल विस्तारका लागि २ अर्ब ५ करोड रूपैयाँ बजेट व्यवस्थापन गरेको स्मरण गराउँदै आफू पदमुक्त भएपछि उक्त बजेट अन्यत्र रकमान्तर गरिएकाले योजना रोकिएको दाबी गरे ।
आगामी कार्यकालमा विमानस्थल विस्तारलाई पुनः प्राथमिकतामा राखेर कार्यान्वयन गरिने उनले स्पष्ट पारे । स्वास्थ्य क्षेत्र सुधारलाई उनले अत्यन्तै संवेदनशील र प्राथमिकताको विषयका रूपमा उठाएका छन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत ३०० देखि ६०० शय्यासम्मको अस्पताललाई शीघ्र सञ्चालनमा ल्याई एमबिबिएस लगायतका विषयको अध्ययन–अध्यापन सुरु गरिने प्रतिबद्धता उनले जनाएका छन् ।
साथै, सेती प्रादेशिक अस्पताललाई संघीय सरकार मातहत सञ्चालन गरी विशिष्टिकृत सेवा उपलब्ध गराइने योजना पनि सार्वजनिक गरिएको छ। सिकलसेलका बिरामीका लागि छुट्टै वार्ड स्थापना गरी उपचार र अनुसन्धानलाई व्यवस्थित बनाउने घोषणा पनि गरिएको छ । यसले सुदूरपश्चिमका बिरामीलाई बाहिर धाउनुपर्ने बाध्यता घटाउने विश्वास गरिएको छ ।
सुदूरपश्चिमको सबैभन्दा छोटो दूरीको धनगढी–खुटिया–दिपायल–बझाङ–चैनपुर हुँदै उरै जोड्ने सडकलाई शीघ्र सम्पन्न गर्ने उनको अर्को प्रमुख लक्ष्य हो । यस सडक निर्माणले प्रदेशको आर्थिक, धार्मिक तथा पर्यटन गतिविधिमा उल्लेखनीय वृद्धि हुने उनको विश्वास छ । उनले विगतदेखि नै यस सडकका लागि पहल गर्दै आएको दाबी गर्दै आगामी कार्यकालमा निर्माण सम्पन्न गरेरै छाड्ने अठोट व्यक्त गरे ।
सडक सञ्जाल विस्तारले औद्योगिक विकास, कृषि उत्पादनको बजारीकरण र आन्तरिक पर्यटनमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
कैलाली क्षेत्र नम्बर ५ मा नदी कटान र डुबानका समस्या दीर्घकालीन रूपमा समाधान गर्न बहुवर्षीय ठेक्कामार्फत आयोजना सञ्चालन गरिने उनले बताए । मोहना, खुटिया, घुरही, घुराहा र शिवगंगा नदी किनारका खेतीयोग्य जमिन र बस्तीलाई सुरक्षित बनाउन ग्रिनरीसहितको दीर्घकालीन तटबन्ध निर्माण गरिनेछ ।
ग्रामिण सडक स्तरोन्नति, भादा घुरही नदीमा पक्की पुल, गदरिया–सिमराना जोड्ने घुराहा नदीमा पुल, शिवगंगा–डुमलिया जोड्ने पुल निर्माण लगायतका योजना अघि सारिएका छन् । साथै, धनगढी–३ मा डिपिआर र आईईई सम्पन्न भइसकेको प्रादेशिक बसपार्कलाई कार्यान्वयन चरणमा लैजाने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
धनगढी–७ स्थित वनस्पति उद्यान र जाखोर ताललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना पनि सार्वजनिक गरिएको छ । प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वलाई जोडेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य राखिएको छ । थारू समुदायलगायत स्थानीय समुदायको भाषा, साहित्य, कला, सम्पदा र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि सांस्कृतिक संग्राहलय निर्माणमा पहल गरिने उनले बताए । यसले पहिचान, गौरव र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
भूमिहीन, सुकुम्बासी, मुक्तकमैया र लालपुर्जा नपाएकालाई लालपुर्जा वितरण गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् । सुरक्षित आवास कार्यक्रम लागू गरी अव्यवस्थित बसोबासीलाई विद्युत्, खानेपानी, ढल र सडक पहुँच सुनिश्चित गरिने योजना छ । यसले दीर्घकालीन सामाजिक न्याय र समानताको आधार तयार पार्ने विश्वास गरिएको छ ।
किसानलाई आधुनिक प्रविधिसँग जोड्ने, सिँचाइ व्यवस्थापन सुधार गर्ने तथा मल–बीउको सहज उपलब्धता सुनिश्चित गर्ने उनले बताएका छन् । स्थानीय उत्पादनको बजारीकरणका लागि सहकारी र साना उद्योगलाई प्रोत्साहन गरिने योजना छ । कृषि उत्पादनमा आत्मनिर्भरता र व्यावसायीकरणमार्फत युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने लक्ष्य पनि उनले राखेका छन् ।
महिला सशक्तीकरणका लागि महिलालाई राजनीति, प्रशासन, व्यवसाय र सामाजिक नेतृत्वमा अग्रसर गराउने वातावरण तयार गरिने उनले बताए । उद्यमशीलता प्रवद्र्धन, सुरक्षा र सम्मानजनक जीवन सुनिश्चित गर्ने कार्यक्रम ल्याइनेछ । दलित, महिला, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायलाई समान अधिकार, अवसर र सम्मान सुनिश्चित गरिने प्रतिबद्धता पनि सार्वजनिक गरिएको छ ।
स्थानीयस्तरमा साना तथा मध्यम उद्योग प्रवद्र्धन गरी रोजगारी सिर्जना गर्ने योजना पनि प्रस्तुत गरिएको छ ।
स्थानीय उत्पादनलाई बजार सुनिश्चित गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अघि बढ्ने उनले बताए । धनगढी चटकपुरस्थित नेपाल आयल निगमको डिपोलाई मानव बस्तीका लागि जोखिमयुक्त भएको भन्दै सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल गरिने उनले जनाए । यसले स्थानीय बासिन्दाको सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
लगातार तीन निर्वाचनमा डोटीबाट विजयी हुँदै आएका आलेले यसपटक कैलाली क्षेत्र नं. ५ रोज्नुको कारण पनि स्पष्ट पारे । डोटीमा अरू नेताहरूलाई अवसर दिन र धनगढीको विकासका लागि आफ्नो आवश्यकता देखेर उम्मेदवारी दिएको उनले बताए । उनले जनताको साथ र विश्वासकै कारण आफू लगातार विजयी भएको उल्लेख गर्दै अब धनगढीलाई नयाँ उचाइमा पु¥याउने समय आएको दाबी गरे ।
प्रेमबहादुर आलेमगरको २० बुँदे प्रतिबद्धता केवल चुनावी घोषणा मात्र नभई सुदूरपश्चिमको दीर्घकालीन विकासको मार्गचित्रका रूपमा प्रस्तुत गरिएको छ । खेलकुददेखि स्वास्थ्य, पूर्वाधारदेखि सामाजिक न्यायसम्मका विविध क्षेत्र समेटिएको यो योजना कार्यान्वयनमा गएमा धनगढीलाई आर्थिक, शैक्षिक, खेलकुद र सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न सक्ने विश्वास समर्थकहरूले व्यक्त गरेका छन् । अब मतदाताको निर्णयले यी प्रतिबद्धता व्यवहारमा रूपान्तरण हुने कि नहुने भन्ने निर्धारण गर्नेछ ।









प्रतिक्रिया दिनुहोस्