-सागर गैरे
कोहलपुर बसपार्कमा मानिसको भीड लागेको थियो । तर यात्रु थिएनन् ती मानिसहरू । उनीहरू लास हेर्न लाम लागेका बजारकै मानिसहरू थिए । किनकि बिहानै कोहलपुरको बसपार्कमा एउटा लास भेटिएको हल्ला चलेको थियो । त्यो हावाले छोइएपछि मैले आफ्नो खुट्टा र मनलाई बाँधेर राख्न सकिनँ । त्यो भीडभित्र पसेर मैले पनि त्यो लास हेरेँ । लास देखेर मानिसहरू स्तब्ध थिए । विस्मयले छोपिएका अनुहारमा म हराएँ । मृत्यु भय होइन, यो हाम्रो अनन्त यात्राको एउटा गन्तव्य हो । जसरी पात झर्छ र रूखमा नयाँ पालुवा पलाउँछ । आँखाअघि बाँचिरहेको एउटा मानिस पात जस्तो खसेको थियो । त्यो लासको नेपालगन्जमा पोस्टमार्टम भएको बेलुका खबर पाएँ । विषाक्त खानेकुराका कारण मृत्यु भएको रिपोर्ट आयो भनेर चर्चा गर्दै थिए चियाचौतारातिर । त्यो रिपोर्टमाथि अनुसन्धान कहिल्यै भएन, कसैले गरेन । तर आज पनि त्यो लास मेरो स्मृतिबाट उठ्न सकेको छैन । अझ भनौँ, त्यो मानिस अझै लास भइसकेको छैन ।
…
२०२८ सालतिरको कुरा हो । महेन्द्र राजमार्ग निर्माणको काम धमाधम चलिरहेको थियो । त्यसको जिम्मा भारत सरकारको सडक विभागले लिएको थियो । पूर्व मेचीबाट सुरु भएको राजमार्गको काम पश्चिमतिर बढ्दै आइरहेको थियो । गजेन्द्रप्रसाद डङ्गोल सडक विभागका कर्मचारी थिए । सुरुमा कार्यक्षेत्र थियो इटहरी । तर राजमार्गको काम पश्चिमतिर सर्दै गएपछि उनी इटहरीबाट सरुवा भएर नेपालगन्ज आइपुगे । उनका ६ भाइ छोरा । परिवार नेपालगन्ज बसाइ सरेपछि छोराहरूले पनि नेपालगन्जमै पढ्न थाले । साइँलो छोरा सानै थियो । विस्तारै नेपालगन्जको नारायण माविमा कक्षा ९ मा पढ्ने भयो ।
स्कुलमा एकदिन अचानक नराम्रोसँग चिच्याएछ र बेहोस भएछ । उसलाई तुरुन्तै अस्पताल पु¥याइयो । चेकजाँचपछि थाहा भयो उसको मस्तिष्कमा समस्या रहेछ । परिवार चिन्तामा डुब्न थाल्यो । अलि राम्रो अस्पतालमा देखाउनुपर्छ भनेर परिवारले लखनऊ पु¥यायो । त्यहाँ उसको टाउकोमा गम्भीर समस्या देखिएपछि शल्यक्रिया नै गर्नुपर्ने डाक्टरले सल्लाह दिए । हैन भने लामो समय औषधि सेवन गर्नुपर्ने सल्लाह लिएर परिवार फर्कियो । शल्यक्रिया गर्दा ज्यानकै जोखिम पनि हुनसक्ने त्रास डाक्टरले देखाएका थिए । परिवारले उसको ज्यानको जोखिम मोल्न चाहेन । बाबुआमाले नियमित औषधि त खुवाए तर रोग बीसको उन्नाइस भएन । ६ भाइमध्ये पढाइमा सबैभन्दा अब्बल ऊ रोगका कारण स्कुल जान सकेन । जनकपुरमा जन्मिएको उसको नाम ज्योति थियो ।
नेपालगन्जबाट उसको परिवार ४० सालमा कोहलपुर आयो । ड्राइभर टोलमा घर बनाएपछि उनीहरू यतै बस्न थाले । त्यो बेला ज्योति १५ वर्षको मात्र थियो । बिरामी भएर पढाइ छुटेको उसको जीवनबाट आमाले बिदा मागिन् । आमाको मृत्युपछि उसलाई स्याहार गर्ने कोही भएन ।
नेपालगन्जको काम सकिएपछि कम्पनी इन्डिया फर्कियो । नेपालमा काम गरे पनि आखिर त्यो भारतीय कम्पनी थियो । धेरैजसो कर्मचारी इन्डिया गए । गजेन्द्रलाई पनि जागिर खान उतै जानुपर्ने भयो । विदेशको जागिर, एक त बिदा पाउनै मुस्किल । छोटो बिदामा घर आए पनि तुरुन्त फर्किनुपर्ने । आफ्ना सन्तानहरूमा जो कमजोर छ, उसैको सबैभन्दा बढी चिन्ता हुँदोरहेछ । गजेन्द्रलाई ज्योतिकै पीर बढी थियो । ज्योति घरमा वस्दैनथ्यो । मन लाग्दा घर नभए सहर । ऊ मनमौजी पाराको मानिस बन्दै गयो । ऊ दिनभर घुम्थ्यो र साँझ घर आउँथ्यो । कहाँ जान्थ्यो, के गथ्र्याे, घरमा थाहा हुँदैनथ्यो । ज्योतिका लागि सबैभन्दा रुचिको विषय थियो, सिनेमा । ऊ सिनेमा हेर्न भनेपछि जुनसुकै ठाउँमा पनि पुगिदिन्थ्यो । गाउँघरमा न बिजुली, न कतै सिनेमा घर ।
सिनेमा हेर्न चाहनेहरू नेपालगन्ज पुग्थे । कहिलेकाहीँं थारू जमिन्दारहरूले छोराछोरीको बिहेमा गाउँमा भिडियो देखाउँथे । त्यो बेला भिडियो देखाउनु निकै महत्वको कुरा थियो । भिडियो हेर्न मानिसहरू गाउँ–गाउँबाट आउँथे । कोही लडियामा, कोही पैदल हिँडेरै पुग्थे । भिडियो हेर्नका लागि ठूलो भीड लागेको हुन्थ्यो । र त्यो भीडमा हुन्थ्यो ज्योति पनि । किनकि उसलाई कसैले कुनै ठाउँमा भिडियो लागेको सूचना मात्र दिनुपथ्र्याे, ऊ पुगेकै हुन्थ्यो ।
‘ज्योति आज चन्नहवामा भिडियो चल्दैछ, आज नौबस्तामा भिडियो लाग्छ रे । भोलि चटारमा भिडियो चल्छ ।’ यति भनेपछि पुग्यो । न उसलाई साथी चाहिन्थ्यो न पकेटमा पैसा । कतै भिडियो चलेको छ भने त्यहाँ ज्योति नपुगेको होस्, त्यो हुनै सक्दैनथ्यो ।
ऊ घोरिएर सिनेमा हेथ्र्याें, कथामा डुब्दै जान्थ्यो । दशैँमा रातरातभर अनिँदो बसेर महाभारत र रामायण हेर्दथ्यो । सबैभन्दा बढी अमिताभ बच्चनका फिल्मबाट प्रभावित थियो ज्योति । प्रायः अमिताभ अभिनित सिनेमा छुटाउँदैनथ्यो । अमिताभका संवाद उसलाई कण्ठस्थ थिए । बाटोमा हिँड्दा पनि डायलगहरू बोल्दै हिँडेको देखिन्थ्यो । कसैले अमिताभ बच्चन त मरेछ नि, भनिदियो भने ऊ तुरुन्तै ढुङ्गा उठाएर झटारो हान्थ्यो । साँच्चै भन्ने हो भने ऊ अमिताभ बच्चनको ‘डाइहर्ट फ्यान’ थियो । अमिताभ बच्चनको फिल्म नेपालगन्ज पुगेर उसले कति हे¥यो कति । फिल्मको लतले तानेर ऊ कतिपटक हिँडेरै नानपारासम्म पुग्थ्यो । अमिताभ बच्चनको फिल्म त्रिशूल उसले नानपारामै हेरेर आएको थियो । पाँच दिनसम्म लगातार अमिताभका फिल्म हेर्दा पनि ऊ मिच्छिएन रे ! अमिताभका फिल्म भनेपछि त्यस्तो पागलपन किन देखाउँथ्यो ? न घरपरिवारकाले बुझेका थिए, न ज्योतिले नै बताउन सक्ने अवस्थामा थियो ।
कहिलेकाहीँ मानिसहरू सुतिसकेका हुन्थे त कोही सुत्ने तरखरमा । ज्योतिले गाएको गीत र डायलग सुनेर मानिसहरू ‘ए ज्योति रैछ’ भनेर सहजै अड्कल लगाउँथे । कति बाबुआमाले त, आफ्ना ससाना छोराछोरीलाई ‘ज्योति आयो सुत्, खाना खा नत्र ज्योतिलाई बोलाइदिन्छुु’ भनेर डराउन दिन्थे । जान्नेहरूका लागि ज्योति रहस्यको पात्र थियो, साना नानीबाबुका लागि भय जगाउने र कतिपयका लागि उल इमान्दार मानिस थियो ।
ज्योतिले त्यतिबेलै रेवनको चस्मा र लेदरको जाकेट लाउँथ्यो । घाँटीमा रुमाल बाँधेर हिँड्थ्यो । कहिले जिन्सको कोट भिथ्र्याे । उसका खुट्टामा लेदरका बुट हुन्थे । पाइन्ट र टोपी हेर्दा उभित्र फेसनप्रतिको गहिरो अनुराग अनुमान गर्न सकिन्थ्यो । लामै कपाल, घाँटीमा माला र खल्तीमा पर्स । पर्स त्यो समयका चर्चित नायिकाहरू श्रीदेवी, माधुरी दीक्षित, हेमा मालिनीका पोस्टकार्डहरूले भरिएको हुन्थ्यो । घरिघरि पोस्टकार्ड झिक्थ्यो र चुम्बन गथ्र्याे । ‘माधुरी दीक्षित क्या च्वाँक छे है ।’ भन्थ्यो र एक्लै हाँस्थ्यो । ऊ जत्तिको सिनेमाको सौखिन सायदै भेटिएलान् ।
छोरो स्वस्थ भई पो हाल्छ कि ? बाबुको मनमा झिनो आशा बाँकी थियो । कसैले भनिदिएछ छोराको उमेर भयो । कतै महिलाको माया पाए निको पो हुन्छ कि ? उसलाई नेपालगन्जको गगनगन्जमा समेत पु¥याएका थिए रे ! ऊ चक्लेटको सौखिन थियो र चुरोटको अम्मली । पछिल्लो पटक सडकमा भेटिने चुरोटका ठुटाहरू बटुलेर खल्तीमा राख्थ्यो र एकपछि अर्काे सल्काइरहन्थ्यो । छोराको सिनेमाप्रतिको क्रेज देखेर उसका बाबुले घरमै प्रोजेक्टरमा उसलाई फिल्म हेर्ने व्यवस्था मिलाइदिएका थिए । कोठामा चुरोट र चक्लेट पनि राखिदिएका थिए । घरै बसोस्, भोक लाग्दा खाओस् भनेर खानेकुराको पनि बन्दोबस्त गरिदिन्थे ।
रात कतै गएर गुजाथ्र्याे । कहिलेकाहीँ पाहुनाजस्तो घर पुग्थ्यो । भाउजूहरूले पनि माया नै गर्थे, ‘बाबू तपाईं फोहोरी हुनुभो, नुहाउनुस् ।’ कपडाहरू पनि धोइदिन्थे । उसले पनि भाउजू र बहिनीहरूसँग शिष्ट व्यवहार गथ्र्याे । दाजुभाइका जुत्ता, कपडा मन परे भाउजूसँग मागेर लगाउँथ्यो ।
दाजुभाइहरूले कहिलेकाहीँ भन्थे, ‘कति घुम्छस् घरमै बस् ।’ तर ऊ बोल्दैनथ्यो । केही समयपछि घर छोडेर हिँडिहाल्थ्यो । दाजुभाइहरूलाई ‘तिमीहरूभन्दा त मै राम्रो छुु’ भन्थ्यो । ‘म कोभन्दा के कम छु र ?’ ऊ भन्थ्यो ।
परिवारको माया एक अदृश्य डोरी हो, जसले टाढा भए पनि सबैलाई नजिक राखिरहन्छ । भाइ जे जस्तो भए पनि दाजुहरूले भाइलाई आफ्नै घरभित्र राख्न ठूलो कोसिस गरेका थिए । समुद्रजस्तै परिवारको प्रेम कहिल्यै नसुक्नुपर्ने र नसकिनुपर्ने । तर ज्योतिका लागि त्यस्तो भएन । ज्योति एकै ठाउँ अडिएर बस्न नसक्ने मानिस थियो । ऊ एकैछिन विद्युत रोडमा हुन्थ्यो, एकैछिनपछि चौराहामा भेटिन्थ्यो । केहीबेरमा कौशिल्यानगरतिर हिँडिरहेको भेटिन्थ्यो । त्यसको केही क्षणमै हवल्दारपुरतिर । ऊ लगातार हिँडिरहन्थ्यो र निकै छिटो–छिटो । हत्पत्ति कसैले भेट्न सक्दैनथ्यो उसलाई । ऊ एकपटक हिँडेरै दाङबाट नेपालगन्ज आएको थियो रे ! ज्योतिको ठूलो दाइ त्यतिबेला दाङ–नेपालगन्ज बस चलाउँथे । भाइलाई अमिलियामा भेटेछन् । उनले भाइलाई बसमा ल्याउन कति प्रयास गरे, तर ऊ मान्दै मानेन । ‘तँ नेपालगन्ज नपुग्दै म पहिल्यै पुग्छु ।’ भन्यो रे ! नभन्दै दाङबाट हिँडेरै नेपालगन्ज पुगेछ । कोहलपुरबाट हिँडेरै नेपालगन्ज पुग्नुमा आश्चर्य मान्नुपर्ने कुरै थिएन । कोहलपुरबाट खर्कवार, हात्तीसार, चिसापानीसम्म पनि हिँडेरै पुग्थ्यो । कौशिलानगर, हवल्दारपुर, राँझाका विभिन्न बस्तीहरू डुल्नु उसका लागि सामान्य दिनचर्या थिए ।
उसको हातमा अक्सर चुरोट छुट्दैनथ्यो । चिया पिउने उसको गज्जबको शैली थियो । चिया पसलमा पुगेर अर्डर गथ्र्याे, ‘एकदम मिठा बनाऊ है भाइ ।’ चिया अर्डर गरेपछि स्वर निकालेर गीत गुनगुनाउन थाल्थ्यो । आफँैले आफैँसँग इन्टरटेन्मेन्ट गर्ने गज्जबको स्वभाव थियो उसको । साहुले टेबलमा चिया राखिदिइसकेपछि चुरोट सल्काएर मज्जाले तान्थ्यो । चुरोटको सबै खरानी चियाको कपमा खसाल्थ्यो । ‘के गरेको ज्योति यो ?’ कसैले सोध्थे । ‘चुरोटको खरानी हाल्दा चिया टेस्टी हुन्छ ।’ ऊ भन्थ्यो । चुरोट निभाएपछि चियाको कप हल्लाउँथ्यो र कपको पूरै चिया दुई घुट्कोमै सट्काउँथ्यो । त्यसपछि पुनः गीत गुनगुनाउँदै ऊ आफ्नो बाटो लाग्थ्यो । गीतहरू नै मानिसका असली साथीहरू हुन्, उनीहरूसँग स्वतः भावहरू कैद हुन्छन्, बस् त्यसलाई आफ्ना ओठहरूले गुन्गुनाउनुपर्छ ।
चुरोटको धुवाँसँग उसको आफ्नै प्रकारको सम्बन्ध बनिसकेको थियो । एउटा चुरोट तानेर नसकिँदै तुरुन्तै अर्काे चुरोट सल्काउँथ्यो । आकाशतिर धुँवा फ्याँक्दै उडिरहेको धुँवा हेर्न रमाइलो मान्थ्यो ऊ । उसको मस्तिष्कमा कस्ता विचार खेल्थे कसैले अनुमान गर्न सक्दैनथ्यो । मोटरसाइकलले फालेको पेट्रोलको धुँवा सुँघ्न खुब मन पराउँथ्यो । तर उसलाई चुरोटको धुवाँले केवल हावालाई मात्र होइन, जीवनलाई पनि विषाक्त बनाउँछ । अहिले छोड, भविष्यलाई बचाऊ, भनेर कसैले बुझाउन सकेन ।
जसरी धुवाँभित्र उसले नसा र मनोरञ्जन खोज्थ्यो, त्यसैगरी पाँच रूपैयाँमा उसको मन अडिएको थियो । चिनेका मान्छेहरूसँग प्रायः पाँच रूपैयाँ मागेर लैजान्थ्यो । कसैले धेरै दिए पनि लिँदैनथ्यो । सयको नोट दिएर ज्योति मलाई एक पकेट चुरोट ल्याइदिनु भन्यो भने, ऊ पैसा लिएर चुरोट र बाँकी पैसा जस्ताको तस्तै बुझाइदिन्थ्यो । आफूले मात्र पाँच रूपैयाँ राख्थ्यो । हत्पत्ती पैसा नमाग्ने उसले मागेपछि नदिने कोही थिएनन् ।
त्यो बेला बाँसगढी नेपालगन्जमा सर्कस लागेको थियो । ज्योतिले दुबै ठाउँमा पुगेर सर्कस हेर्न भ्याइसकेको मात्र थिएन, त्यसको प्रभावसमेत उसमा परिसकेको थियो । सर्कसमा केटीहरू दुईवटा हातले भुइँमा नखासालिकन कैयौँ बेरसम्म बलहरू नचाइरहन्थे । उनीहरू ‘टेरेरे‘ पमपम ।।’ भन्दै बल फाल्थे र समाउँथे । ठिक त्यसैको नक्कल गरेर ज्योति बोल्दै हिँड्थ्यो ।
घरघराना, सम्बन्ध र सम्पत्तिले राम्रै घरको थियो ज्योति । उसका दाजुभाइको कोहलपुरमा राम्रै हैसियत बनेको थियो । उसले घरपरिवारबाट स्नेह र माया पाएकै थियो । तर खै के भयो, घरबाट बिस्तारै टाढा–टाढा हुँदै गयो । किशोरकालमै मानसिक सन्तुलन गुमाउन पुग्यो । जीवनको अर्थ पैसा, नाम र प्रसिद्धिमा मात्र छैन । वास्तवमा, जीवनको असली धन आत्मसन्तोषमा छ । ज्योतिले सिनेमाका पर्दाहरूमा आफूलाई कल्पना गरेर बाँचिरहेको थियो । त्योभन्दा पर उसको कुनै जीवनको चेतना थिएन । माओवादीको द्वन्द्व उत्कर्षमा थियो । कैयौँ महिनादेखि ऊ घर गएको थिएन । ‘तँ कहाँ–कहाँ जान्छस्, कसैले मारिदेलान् नि !’ अक्सर दाजुहरूले सम्झाउने गर्थे रे !
‘मलाई कसले मार्न सक्छ, किन मार्छ ?’ ज्योति जबाफ दिन्थ्यो । कहिलेकाहीँ कसै–कसैसँग बाझ्न थालेको थियो, त्यस्तो बेला उसले मुख छाडेर बोल्थ्यो । तर झगडा गरेको कुरा मनमा राखेर हिँड्दैनथ्यो । सायद बिर्सिन्थ्यो कि ! ‘ऊ दिमाग भएको राम्रो विद्यार्थी थियो, बिरामी नभइदिएको भए ऊ अब्बल मान्छे हुन्थ्यो होला !’ ज्योतिका ठूला दाजु गोकुल भावुक बन्थे । परिवार भनेको जरा हो, जहाँबाट जीवनको सुरुवात हुन्छ । यसको प्रेम जति बाँडिन्छ, त्यति नै घनीभूत बन्दै जान्छ । तर ज्योति र उसको परिवारबीचको सम्बन्ध पातलो बन्दै गयो । संसारको सबैभन्दा सुरक्षित ठाउँ भनेको परिवार हो र परिवारको माया हो । ज्योतिभित्र भने परिवारभन्दा पर पुगेर, गाउँगाउँ डुलेर रमाउने आफ्नै प्रकारको आदत निर्माण हुन पुग्यो ।
पछिल्लो समय ऊ घर नआएको चार–पाँच महिना भइसकेको थियो । ऊ गल्दै पनि गएको थियो, उसको कुनै ठेगाना थिएन । पछिल्लो समय धेरैजसो बसपार्कतिरै डुल्थ्यो । मैले ज्योतिलाई पहिलोपटक देख्दा ऊ गीत गाउँदै हिँडेको थियो । २०४५ सालमा म कोहलपुर चपरगौढी आएको थिएँ । भिनाजुको घरमा सम्भवतः कोहलपुरको पहिलो पाउरोटी कारखाना पाल्पा पोखरा पाउरोटी उद्योग सञ्चालनमा थियो । जहाँ साँझदेखि अबेर रातिसम्म पाउरोटी पाक्थ्यो ।एक साँझ । ज्योति त्यही पाउरोटी कारखानामा आएको रहेछ । पाउरोटी पकाउने भट्टी तात्तिएको हुन्थ्यो । पाउरोटी खाएर त्यो रात त्यही भट्टीकै छेउमा सुतेछ । ‘माइला दाइ म गए है ।’ अर्काे दिन बिहानै बिदा मागेर निक्लिएको थियो रे !
…
उसले अन्तिम समय कसलाई के भनेको थियो ? कसले दिएको के खाएको थियो ? कसैलाई थाहा हुने कुरा भएन । अन्तिम समय भनेको केवल समयको एउटा पाना बन्द हुनु मात्रै हो, तर सम्झनाहरू भने हृदयका पानाहरूमा सधैँ जिउँदा रहन्छन् । त्यतिबेलाका धेरै कोहलपुरबासीले चिन्थे र ऊ पनि धेरैलाई चिन्दथ्यो । तर अन्तिम समयमा उसका लागि त्यो चिनजान र अस्वाभाविक परिचय कतै काम लागेन ।
ज्योतिले चाहेर पनि आफ्नै प्रकाशबारे थाहा पाउन सकेन । त्यो प्रतीक थियो परिवारको आशाको र जीवनमा जहिल्यै अन्धकारसँग एक्लै लडेर बाँच्यो । जीवनको हरेक सङ्घर्ष एउटा दियोजस्तै हो, जसले अन्धकारसँग लडेर आफ्नो ज्योति फैलाउँछ । कोहलपुरको एउटा पुस्ताले ज्योतिको स्मरण गर्दछ । स्मरण भनेको समयले खोपेर हृदयमा बनाएको मूर्तिकला जस्तो हँुदोरहेछ, जसलाई सहजै मेटाउन सकिँदैन । सम्झना ती फूलहरू हुन्, जो बिस्तारै ओइलाउँदै त जान्छन्, तर सुवास हराउँदैन । मेरो हृदयभित्र आज पनि ज्योतिको स्पष्ट चित्र छ ।









प्रतिक्रिया दिनुहोस्