वीरेन्द्र जैसी,नेपालगन्ज :
भेरी अस्पताल नेपालगन्जमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएका बिरामी र मृगौला दाताहरु डिस्चार्ज भएका छन् । महोत्तरीका ४० वर्षीय पुरुष र बर्दियाका ३७ वर्षीय पुरुषसहित उनीहरुलाई मृगौला दान गर्ने दुई महिला पनि आइतबार डिस्चार्ज भएका हुन् । उनीहरुको गत मंगलबार मृगौला प्रत्यारोपण गरिएको थियो । भेरी अस्पालका मेसु डा. निराजन सुवेदीका अनुसार उनीहरु सबैको स्वास्थ्य सामान्य अवस्थामा फर्किएपछि र प्रत्यारोपण गरिएका व्यक्तिमा मृगौलाले काम गर्न थालेपछि डिस्चार्ज गरिएको जानकारी दिए । महोत्तरीका पुरुषलाई उनकी ४० वर्षीया श्रीमतीले मृगौला दान दिएकी छन् भने बर्दियाका पुरुषलाई पनि उनकी २६ वर्षीया श्रीमतीले मिर्गाैला दान दिएकी हुन् ।
मृगौला प्रत्यारोपणमा संलग्न अस्पतालका विशेषज्ञ चिकित्सक डा. दीपेश गुप्ताका अनुसार चारै जनाको स्वास्थ्य अवस्था सामान्य अवस्थामा छ । प्रत्यारोपण गरिएका बिरामीमा पनि सबै जाँचहरु गर्दा मृगौलाले राम्ररी काम गरेको पाइएको डा. गुप्ताले बताए ।
भेरी अस्पतालमा मृगौला प्रत्यारोपणका लाथि अनुमति प्राप्त गरेका चिकित्सक डा. गुप्ताले पहिलोपटक अस्पतालमा भएको प्रत्यारोपणमार्फत उपचार सफल भएकोमा खुसी व्यक्त गरे । उनले अस्पतालमा प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको प्राविधिक सहयोग उत्कृष्ट तवरले सेवा दिन पाइएको बताए । ‘मलाई लाग्छ, हामीले सुविधासम्पन्न अस्पालमा दिन सकिने जत्तिकै सेवा र प्राविधिक हिसाबले सबै कुरा पुर्याएर सेवा दिएका छौँ । केन्द्रको सहयोग जारी रह्यो भने हामी यसलाई प्रभावकारीरुपले अगाडि बढाउन सक्छौँ,’ डा. गुप्ताले भने ।
अस्पतालमा पहिलोपटक मृगौला प्रत्यारोपण सफल भएपछि अस्पताल परिवार उत्साहित भएको मेसु डा. सुवेदीले बताए ।
डा. सुवेदीका अनुसार मृगौला प्रत्यारोपण गरिएका दुबै जनाको डिस्चार्ज हुँदासम्मको खर्च अस्पतालले नै व्यहोरेको छ । उनका अनुसार मृगौला प्रत्यारोपणका लागि नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले दिने प्रति बिरामी चार लाख रुपैयाँ प्राप्त गर्नका लागि अब अस्पताल सुचिकरणका लागि जाँदैछ । ‘मृगौला प्रत्यारोपणका लागि महाशाखाले प्रति बिरामी चार लाख रुपैयाँ दिन्छ । त्यसमा एक जनाको मृगौला प्रत्यारोपण गर्न सकिन्छ । तर त्यो सुविधका लागि सूचिकृत हुन अस्पतालमा कम्तिमा एकपटक मृगौला प्रत्यारोपण भएको हुनुपर्छ । अब हामी त्यसका लागि जाँदैछौँ,’ सुवेदीले भने ।
डा. सुवेदीले मृगौला प्रत्यारोपणका लागि धेरै व्यवस्थाहरु मिलाउनुपर्ने भएकोले हाललाई महिनामा एक जनाको मिर्गाैला प्रत्यारोपण गर्ने योजना रहेको जानकारी दिए । सुवेदीले भने, ‘प्रत्यारोपणका दिन अन्य अपरेशन पूरै बन्द गर्नुपर्छ । सबैतिरका जनशक्ति त्यहीअनुसार तयार भएर बस्नुपर्छ । यसलाई बिस्तारै बढाएर चाहीँ लैजान्छौँ ।’
जनशक्तिलाई दक्ष बनाउन नर्स तथा प्राविधिकहरुलाई क्षमता वृद्धिका लागि राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप तालिमका लागि पठाइने पनि डा.सुवेदीले बताएका छन् ।
डा. गुप्ताले पनि मृगौला प्रत्यारोपण संवेदनशील उपचार भएकोले जनशक्ति, पूर्वाधार र प्रविधि विकास गर्दै लगेर प्रत्यारोपणको संख्या बढाउनतिर लाग्नुपर्ने बताए ।
यस्तो थियो प्रत्यारोपणमा संलग्न टिम
भेरी अस्पतालमा पहिलोपटक सफल भएको मृगौला प्रत्यारोपणमा भेरी अस्पतालका मुत्ररोग सम्बन्धि विशेषज्ञ एवं मृगौला प्रत्यारोपणका लागि लाइसेन्स प्राप्त चिकित्सक डा. दिपेश गुप्ताको टिम संलग्न थियो । जसमा यूरोलोजिष्ट सर्जन डा. अञ्जित फुयाँल, नेफ्रोलोजिष्ट डा. शौरभ हमाल, एनेस्थेसियोलोजिष्ट डा. पारस पाण्डे, डायलासिस इन्चार्ज डा. पारस श्रेष्ठलगायतको टोली मृगौला सहभागी थियो ।
यसैगरी शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुभवी टिम आएर मृगौला प्रत्यारोपण गरिएको हो । जसमा डा. दिपेश श्रेष्ठ, डा. हरि बराल, एनेस्थेसियोलोजिष्ट डा. सोभित थापा, डा. शिवसुन्दर राजचल, नेफ्रोलोजिष्ट डा. विक्रम वीर बज्राचार्यको सहभागिता थियो । केन्द्रबाटै डा. गौरव पन्थ, शाखा अधिकृत हरिहर पोखरेल, ट्रान्सप्लान्ट कोर्डिनेटर सरु कोजु, ओटी नर्स सबिया नागा, केलिना के.सी, आईसीयू नर्स अपर्णा सेन, दीपा के.सी र अनु बज्राचार्य लगायतको सहभागिता रहेको थियो ।
भेरी अस्पतालबाट नर्सिङ प्रमुख आशा पन्थ, ओटी इन्चार्ज तारा आचार्य, ट्रान्सप्लान्ट कोअर्डिनेटर नर्स झसिन्द्रा केसी, नर्सहरु शान्ता शाह, अश्विनी गुरुङ, विद्या शाह र मुस्कान थापा पनि प्रत्यारोपणमा सहभागी थिए ।
मृगौला प्रत्यारोपण सफल बनाउन भेरी अस्पतालका सबै जनशक्तिहरुले भरपुर मिहीनत गरेको मेसु सुवेदीले बताए । ‘झसिन्द्रा सिस्टर त प्रायः अस्पतालमै बसेर सेवा दिनुभयो । उहाँहरुको खटाई देखेर हामीलाई पनि गर्व लागेको छ,’ सुवेदीले भने ।
‘हामी मृगौला प्रत्यारोपणका लागि सक्षम छौँ’
डा. दीपेश गुप्ता, मृगौला रोग विशेषज्ञ, भेरी अस्पताल
१. भेरीमा पहिलोपटक मृगौला प्रत्यारोपण सफल भएको छ, कस्तो अनुभव रह्यो ?
हामीले राम्रो सेवा दिन सक्यौँ । राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्राविधिक सहयोग गर्याे । जसले गर्दा हामीले उत्कृष्ट तवरले सेवा दिन पायौँ । डा. पुकारको नेतृत्वमा आएको टिमले गर्दा यो उपचार कुनै किसिमको समस्याबिना सफल हुन पायो ।
चारै जनाको स्वास्थ्य अवस्था सामान्य अवस्थामा छ । प्रत्यारोपण गरिएका बिरामीमा पनि सबै जाँचहरु गर्दा मृगौलाले राम्ररी काम गरेको पाइएपछि हामीले डिस्चार्ज गरेका छौँ ।
२. भेरी अस्पताल प्रत्यारोपणका लागि कस्तो अवस्थामा छ ?
अस्पताल धेरै हिसाबले तयार अवस्थामा छ । विशेषज्ञका हिसाबले हामी दुईजना यसकै लागि छौँ । डा. अञ्जित, डा. शौरभ, डा. पारस लगायतको टिम हामीसँग छ । मैले प्रत्यारोपणका लागि लाइसेन्स पनि पाएको छु । अब अस्पताल पनि सुचिकृत हुन्छ । एनेस्थेसिया, फिजिसियन लगायतका सबै विशेषज्ञहरु हामीसँग हुनुहुन्छ ।
अस्पतालमा अपरेशन थियटर, आइसियु बेड लगायतको व्यवस्था पनि छ । केही नर्सहरुले तालिम पनि लिएर आउनुभएको छ । यसले गर्दा हामी प्रत्यारोपणका लागि सक्षम छौँ भन्न सक्ने अवस्था छौँ । मलाई लाग्छ, हामीले सुविधासम्पन्न अस्पालमा दिन सकिने जत्तिकै सेवा र प्राविधिक हिसाबले सबै कुरा पुर्याएर सेवा दिएका छौँ । केन्द्रको सहयोग जारी रह्यो भने हामी यसलाई प्रभावकारीरुपले अगाडि बढाउन सक्छौँ ।
केही समयसम्म राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट हामीलाई प्राविधिक साथ चाहिन्छ । त्यससँगै हामीले हाम्रा जनशक्तिहरुलाई प्रशिक्षण दिँदै गएर थप दक्ष बनाउनुपर्छ । अलग्गै ओपिडीको व्यवस्था गर्न सकियो र केही साधनहरुको व्यवस्था गर्न सकियो भने हामीले यस क्षेत्रका बिरामीलाई अझ सुधारिएको सेवा दिन सक्छौँ ।
यसले यहाँका बिरामीले लामो लिस्टमा पालो कुर्नुपर्ने, घरबाट टाढा गएर उपचार गर्नुपर्ने अवस्थामा कमी ल्याउने विश्वास छ ।
३. शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सधैं आएर सहयोग गर्नुपर्ने हो ?
हाललाई हामीलाई उहाँहरुको अनुभव, जनशक्ति र प्रविधिको जरुरत छ । केही समयसम्म हामीलाई उहाँहरुको साथ चाहिन्छ । त्यसमा हाम्रो अस्पताल प्रशासन, विकास समिति लगायतको कमिटमेन्ट भयो भने, हामीले अपुग कुराहरु पूर्ति गर्न सक्छौँ । त्यसपछि बिस्तारै हामी आफै प्रत्यारोपणका लागि सक्षम हुन सक्छौँ ।
४. महिनामा एउटामात्रै प्रत्यारोपण अलि कम भयो कि भन्ने कुरा पनि आइरहेको छ । यसलाई बढाउन सकिने अवस्था रहन्न ?
तत्कालै म संभव देख्दिन । प्रत्यारोपण एकदमै संवेदनशील उपचारमध्ये एक हो । यसमा लिने र दिने दुवैको उत्तिकै ध्यान दिएर उपचार गर्नुपर्ने हुन्छ । त्यसकारण जनशक्ति र प्रविधि पनि उत्तिकै बढी खपत हुन्छ । जनशक्तिलाई अभ्यस्त र दक्ष बनाउनुपर्ने पनि हुन्छ । अलग्गै ओपिडी, ओटी, आइसियु, तालिमप्राप्त जनशक्तिको सेट सबै चुस्त भयो भने बढाउनसक्ने अवस्था रहन्छ ।
प्रतिक्रिया दिनुहोस्