-शशिराम कार्की
त्यो दिन फेरि हाम्रो भनासुनी भयो । उनले भने, ‘मलाई छोरा चाहिन्छ ।’
मैले भने, ‘मैले पनि पच्चिस वर्ष अघि भनेकी थिए मलाई छोरा चाहिन्छ भनेर । त्यो बेला तिमीले मलाई पुरानो सोचकी, असभ्य र सामन्तवादी सोचकी महिला भनेका थियौ । यो पनि भनेका थियौ कि छोरा र छोरीमा केही फरक छैन । छोराले गर्ने काम छोरीले पनि गर्न सक्छन् । मलाई पनि चित्त बुझको थियो र एउटै छोरी मात्र बनाउने सहमति गरेकी थिएँ । आज थाहा भयो पुरानो सोचको को रहेछ ? सामन्तवादी सोचको को रहेछ ? असभ्य को रहेछ ? त्यसैले आजदेखि यस्ता सामन्तवादी र पछौटे कुरा नगर्नू मसित । यस्ता कुरा गर्ने भए घरमा नआउनू ।’

उनले कड्केर भने, ‘यो घरमा आउन नपाउने भए भएको सम्पत्ति तीन भाग लगाएर एक भाग मलाई देऊ । म सधैँको लागि जान्छु ।’
मैले पनि भनेँ, ‘मेरो नाममा यही घर र पहाडको पाखोबारी त हो । त्यै जाबो सम्पत्ति के तिमीलाई दिऊँ ? के छोरीलाई दिऊँ ? केले म आफ्नो यति लामो जीवन चलाऊँ ? त्यसैले मेरो नाममा रहेको यो सम्पत्ति म अर्की स्वास्नी ल्याउनलाई दिन सक्दिन । तिमीसित केही छ भने त्यो पनि म माग्दिन ।’
‘यस्तो जबरजस्ती गरे म ज्यान लिन्छु, बझिराख्नू ।’ उनी आकाशै खसे जस्तो गर्जेर बोले ।
‘म मर्न तयार छु । यसरी ५५ वर्षको उमेरमा सौता भोग्नुभन्दा मर्नु धेरै राम्रो हो ।’ मैले शान्त भएर भनेँ ।
त्यति भनासुनी भएपछि उनी खाना नखाएरै बाहिर निस्किए । उनी साँझ पनि आएनन् । कहाँ गए ? उनी सधैँको लागि घर छोडेर गएका रहेछन् । मैले आफन्तहरूसित सबैतिर फोन गरेर सोधेँ । छोरीज्वाइँले पनि खोजतलास गरे । फेसबुक, ह्वाट्सप आदि सामाजिक सञ्जालमा पनि आइडी परिवर्तन गरेछन् । कतै पत्ता लागेनन् । दिन, महिना र वर्ष बितेर गए तर उनी आएनन् । म एक्ली भएँ, नितान्त एक्ली ।
जब मान्छे एक्लो हुन्छ, उसको मनमा अनेक कुरा खेल्न थाल्दोरहेछ । नराम्रा कुरा, नकारात्मक कुरा, अँध्यारा कुरा । जीवनका उज्याला पक्षका कुराहरूलाई यस्ता नकारात्मक कुराले छोप्ने रहेछन् । बाहिर घाम लाग्छ, मनमा लाग्दैन । बाहिर मुख हाँस्छ तर भित्री मन हाँस्दैन । बाहिर आँखा सुष्क छन् तर भित्र आँसु भरिएका छन् । भोक लाग्दैन । निद्रा लाग्दैन । चिसो पानी पिउँदा पहिले सर्र शरीरमा भिजेर त्यसले अमृतको काम गरे जस्तै लाग्थ्यो तर आजभोलि त्यही पानीले विषको काम गरे जस्तै आँत पोल्छ ।
घाम लाग्नु, पानी पर्नु, बादल लाग्नु, रात पर्नु, जाडो हुनु, सबै सबै मेरा लागि अभिसाप बनेका छन् । कुनै कुरामा आनन्द छैन । कुनै कुरा रमाइलो लाग्दैन । यस्तै छ मेरो जीवन, यस्तै छ मेरो भोगाइ । उनी गएका फर्केनन् । म उनको पछि जान सकिनँ । छोराको लागि सौता हाल्न सकिनँ । मबाट छोरा नभएको भए त्यो पनि गर्दिहु । तर म आठ–दश सन्तान जन्माउन सक्षम थिएँ । मलाई एउटा मात्र छोरी जन्मने बित्तिकै पुग्यो भनेर रोक्ने त उनी नै हुन् । अहिले मलाई निर्बल देखाउन पाइन्छ ? बाँझी देखाउन पाइन्छ ? म कसैसित डराउन्न । बरु एक्लै मर्छु ।
म ५५ वर्ष पुगेपछि उनलाई छोरा चाहियो । म तरुनी हुँदा उनलाई छोरा चाहिएन । उनलाई छोराभन्दा मस्त तरुनी स्वास्नी चाहिएको हो । त्यसैले छोरा चाहियो भनेका हुन् ।
उनी राजनीतिमा थिए । म शिक्षक थिएँ । उनको आम्दानी केही नभए पनि मेरो तलबबाट घर राम्रैसित चलेको थियो । हामी परेवाका जोडी जस्तै थियौं । म उनलाई असाध्यै माया गर्थेँ । उनले मलाई अझ बढी माया गर्थे । फुर्सद भएको दिन दाउरा काट्थे, बारी खन्थे, खेत जोत्थे र घर वरिपरिका धेरै कामहरू गर्थे । उनी निरोगी, फूर्तिला, जाँगरिला थिए र थिए बलिया । उनका यी र यस्तै गुणहरू देखेर म मख्ख पर्थेँ ।
राजनीति गर्ने मान्छे त भए, धेरैजसो बाहिरै हुन्थे । सभासम्मेलन, जुलुस, प्रशिक्षण, संगठन निर्माण, सदस्यता बितरण आदि काममा सधैँ खटिरहेने हुँदा फुर्सद हुँदैनथ्यो । तैपनि जीवन दुखपूर्ण भएको कहिल्यै महसुस भएन । उनी घर आउँदा देउतै आए जस्तो खुसी हुन्थेँ । आधा रातसम्म सुखदुखका कुरा गथ्र्यौँ । उनको अँगालोमा सुत्दा म आफूलाई संसारकी सबभन्दा भाग्यशाली महिला ठान्थेँ ।
हाम्री छोरी भई । उनले भने, ‘अब पुग्यो ।’
मैले हाँसेर भनेकी थिएँ, ‘एउटा छोरा त चाहिएला नि !’
त्यस बेला उनले भनेका थिए, ‘संसारका ठूलठूला नेताहरू जस्तै गिरिजा, नेहरु, बिल क्लिन्टन, बाबुराम आदिका एउटै छोरी भएर पनि सन्तोष गरेर बसेकै छन् भने हामीलाई किन चाहियो छोरा ? छोरीले गर्न नसकेको काम के छ र ? अब अर्को सन्तान चाहिँदैन ।’
‘छोरी बिहे गरेर जाने जात । आफ्नो घर जाली । हामी कोसित बस्ने त ?’ मैले जिज्ञासा राखेकी थिएँ ।
‘त्यसको चिन्ता नगर । जहाँ छोरी जाली, हामी पनि त्यहीँ जाउला । ज्वाइँले मान्यो भने हामीसितै राखे पनि भयो । फेरि छोरा भए पनि हामीसितै बस्छ भन्ने के ग्यारेन्टी छ र ?’
त्यति कुरा भएपछि मलाई पनि ठिकै लाग्यो । जीवन चल्दै गयो । अनेक उतारचढाउ भयो । समयले मलाई पनि जागिर छोड्ने बनायो । दुबै राजनीतिमा सक्रिय भयौं । पार्टीमा अनेक गुट, उपगुट र फुट हुँदै गयो । अनेक जालझेल, षडयन्त्र हुन थाल्यो । त्यस्तो गन्धा खेलमा लाग्नुभन्दा खेतीकिसानी गरेर खानु जाती भनेर घर फर्कियौं । त्यो पनि राम्रै भएको थियो । हामी खेतीपाती र पशुपालनमा सरिक भयौँ । छोरीले पनि हाम्रो सपनालाई साकार पारी । उसले उच्च शिक्षा हासिल गरी । योग्य केटासित उसको विवाह भयो ।
अब त छोरीको पनि त्यति चिन्ता गर्नु पर्ने भएन । छोरीज्वाइँले आफै काम गरेर खान थाले । हामी हाँसी हाँसी दिन काट्न थाल्यौं । मन परेको खाना खाने, मन परेको मान्छेलाई भेट्ने, मन परेको ठाउँमा घुम्न जाने । जीवन आनन्दले भरपुर थियो । छोरी पनि खुसी थिई । जीवन यसरी नै हाँसी हाँसी जान्छ भन्ने लाग्थ्यो मलाई । शरीर पनि स्वस्थ थियो ।
छोरीको बिहे भएपछि दुई वर्षसम्म त यस्तै खुसीयालीमा व्यतित भयो जीवन । उनी घर वरपर तरकारी रोप्थे, किताब पढ्थे, साथीहरूसित भेटघाट गर्थे, कुराकानी गर्थे । बजार गएर माछामासु, फलफूल, नुनतेल लिएर आउँथे । तरकारी, दाल, चामल पीठो घरैमा उब्जनी हुन्थ्यो । छोरीको घर सहरमा थियो । उसले हामीलाई पनि गाउँको घरजग्गा बेचेर सहरमा घर बनाउन भनी । खेत र घर बेचेर हामीले पनि सहरमा घर बनायौँ । हामी सहरिया भयौँ । सभ्य ठहरियौँ । गाउँ छोड्यौं ।
म पचपन्न वर्ष पुगेँ । हामीले एकअर्काको जन्मदिन कहिल्यै मनाएका थिएनौं । साँच्चै भन्ने हो भने हाम्रो जन्मदिन कहिले पर्छ भनेर हामीलाई ख्याल पनि हुँदैनथ्यो । गाउँमा यस्तो चलनै हुँदैन । सहरमा आएपछि यसको हावा लागेर होला, उनले मेरो ५५ औं जन्मदिनमा केक काट्ने विचार गरे । म पनि खुसी भएँ । त्यस दिन छोरीज्वाइँ आए । केही साथीहरू र इष्टमित्रहरू पनि आए । त्यही क्रममा मेरा अङ्कलका छोरा रविलाल दाइ पनि आएका थिए । उनले कुरैकुरामा भने, ‘ज्वाइँ अरू सबै कुरा तपाइँको ठिकै भयो । एउटा छोरा भैदिएको भए छोरी बिहे भएर गए पनि घर शून्य हुने थिएन ।’
त्यो बेला उनी केही बोलेनन् । मलाई भने त्यो कुराले चस्स बिझाएको थियो मुटुमा, झीरले रोपे जस्तै । त्यही एक वाक्य नै मेरो घर भताभुङ्ग बनाउने क्षेप्यास्त्र बन्न गयो । हुन त उनको मनमा पहिल्यै पनि यस्तो कुरा आएको हुनसक्छ । निहुँ पाई बुहारी कनिका बुकाई भने जस्तै विष्फोट बनाउने त्यही वाक्य भयो । त्यही वाक्यले मेरो संसार ध्वस्त बनायो । कहिल्यै रक्सी नखाने, झगडा नगर्ने, अपशब्द नबोल्ने मेरा लोग्ने त्यसको एक हप्तापछि एक साँझ रक्सी पिएर आए । ‘साथीको घरमा खाना खाएर आएको छु’ भनेर नखाएरै सुते ।
भोलिपल्ट बिहानको खाना खाने समयमा उनले भने, ‘देवी, हामीले गल्ती गरेछौँ । एउटा छोरा जन्माउनु पर्ने रहेछ । हाम्रो त वंश नै नरहने भयो ।’
‘छोरीको वंशलाई नै हाम्रो वंश भनेर मानौंला नि ! किन पिर मान्नुहुन्छ ?’ मैले यो कुरालाई हल्का रूपमा लिँदै भनेँ ।
‘हामी खड्का हौँ । उसका सन्तान त नेवार भए । कसरी वंश मान्ने ?’ उनी जङ्गिए जस्तै गरी बोले ।
‘बैंस उमेर गएको बेला अब पछुताएर के गर्ने त ?’ मेरो स्वर पनि अलि ठूलो भयो ।
उनले फकाउने शैलीमा मीठो बोली गरेर भने, ‘एउटा कमला नाम गरेकी अन्दाजी ३५ वर्ष जतिकी निकै दुख पाएकी महिला रहिछन् । लोग्ने बस दुर्घटनामा मरेको रे । पाँच वर्षकी छोरी रहिछ साथमा । निकै सोझी छन् । उनी आएको खण्डमा घरको सबै काम उनैले गर्नेछन् । घरमा तिमीलाई मुख बोल्ने साथी पनि हुन्छिन् । यदि तिमीले अनुमति दिन्छ्यौ भने लिएर आउने थिएँ ।’
मैले रिसले आँखा देखिनँ । मैले छोरा चाहिन्छ भन्ने बेला एउटा छोरी भए पुग्छ भन्ने मान्छे, अहिले साठी वर्षको पोयो समात्ने समयमा स्वास्नी ल्याउछु भन्दा कसको रिस नउठ्ला र ? मैले जङ्गिँदै भनेँ, ‘तिमी बौलाउन त लागेनौ ? अहिले यो उमेरमा बिहे गर्छु भन्दा लाज, शरम मानेनौ ? मलाई कुनै सङ्गीसाथी चाहिएको छैन । यस्ता कुरा नगर मसित ।’
त्यस दिनदेखि हाम्रो दिनदिनै झगडा हुन थाल्यो । घर भाँडियो । समयमा खाना पाक्न छोड्यो । घरमा माछामासु, दहीदूध, फलफूल आउन छोड्यो । खाना एक्लाएक्लै खाने वातावरण सृजना भयो । चियानास्ता पनि बनाउन छोडेँ मैले किनकि चिया पकाउँदा उनले खाँदैनथे । मैले एक्लै के खानु र ? हामी एउटै घरमा पराइ भयौं । उनी अर्कै कोठामा सुत्न लागे । साँझ प्रत्येक दिन मातेर आउथे । बिस्तारै दुवैजना कमजोर हुँदै गयौँ । मलाई बिभिन्न किसिमका रोगहरूले च्याप्दै लगे । हामी नितान्त एक्ला भयौं । घर, घर जस्तो रहेन । हिजोसम्मको उज्यालो संसार अहिले सूर्य उदाएर पनि अँध्यारो भयो ।
बिहान सूर्य उदाउँथे । घाम लाग्थ्यो । साँझ पथ्र्यो । फेरि रात पथ्र्यो । गतेबार फेरिँदै जान्थे । हाम्रो व्यवहार पनि त्यही अनुसार फेरिँदै गएको थियो, अँध्यारोतिर । उमेर हरघडी हरपला बढ्दै गएको थियो । त्यही अनुसार अनुहारमा धर्काहरूको संख्या बढ्दै गएको थियो । मनमा बेचैँनी र चिन्ता बढ्दै गएको थियो । शरीर रोगको सङ्ग्रहालय बन्दै गएको थियो । दिन र रात, फेरि दिन र रात फेरिन्थे । यस्तै थियो प्रकृतिको चक्र । यस्तै थियो नियति ।
त्यो दिन भएको भनासुनीपछि उनी घर आएका थिएनन् । हामी खोज्दा खोज्दा नभेटाएर हार खाएका थियौं । सायद उनी कतै गएर मरे कि ? उनी नभएपछि म सबै तरिकाले एक्ली भएँ । नितान्त एक्ली । एक्लै भएपछि सम्झन्थेँ, ‘सानो छँदा रिमझिम झरी लाग्दा मन चङ्गा हुन्थ्यो । वर्षामा रुझ्दै उफ्रँदै खेल्नु बेक्लै प्रकारको आनन्द हुन्थ्यो । चराको चिरबिरसँग गीत गाउन मन लाग्थ्यो । खोलाको पानीमा खुट्टा चोपलेर वारिपारि हेर्दै गीत गाउनुको आनन्द पनि त अचम्मको हुन्थ्यो । रुप्सेखोलीको झरनामा लुगा नै नखोली नुहाउनु, तलाउमा डुबेर ढुङ्गा टिप्नु, न्याउलीको भाखामा काफल, ऐसेलु, चुत्रा टिपेर खानु’ सबै सबै कुरा सम्झन्थेँ । यी सबै कुरा सपना त हुन् ।
सपना पनि तीन किसिमका हुने रहेछन् । पहिलो प्रकारका सपना अचेत अवस्थामा निद्रामा देखिन्छन् । अर्धचेत अवस्थामा विगतमा भोगेर छोडिएका पलहरूको सम्झना गर्नु अर्को प्रकारका सपना हुन् । तेस्रो प्रकारका सपना आफ्नो भविष्य कस्तो बनाउने भनेर पूर्ण सचेत अवस्थामा देखिन्छन् । अब मेरा लागि सपना देख्नु पनि अभिसाप भएको थियो । म जवानी चढ्नुलाई पनि अभिसाप मान्न थालेकी थिएँ । विवाह गर्नुलाई पनि अभिसाप मान्न थालेकी थिएँ । सन्तान जन्माउनु पनि अभिसाप मान्न थालेकी थिएँ । घाम लाग्नु, पानी पर्नु, जाडो हुनु, रात पर्नु, बादल लाग्नु सबै कुरालाई अभिसाप मान्न थालेकी थिएँ । कुनै कुरामा आनन्द थिएन, कुनै कुरा रमाइला थिएनन्, हाँसो थिएन, खुसी थिएन । म मृत्यु फर्खिरहेकी थिएँ । बस यही नै थियो मेरो अन्तिम सत्य ।
यसै गरी जेनतेज पाँच वर्ष धकेलिए । श्रावणको महिना थियो । रातभर पानी परे पनि बिहान थामिएको थियो । आकाशमा कालो बादल भने हटेको थिएन । सदाको झैँ बिहान चिया र पाउरोटी खाएर औषधि खाएँ । काम केही थिएन । मेचमा बसेर मनमा नानाथरी कुरा सोच्दै झ्यालबाट बाहिर हेरिरहेकी थिएँ । फोनको घण्टी बज्यो । छोरीको फोन रहेछ । उसले भनी, ‘बाबा सिभिल अस्पतालमा हुनुहुन्छ रे । हामी त्यतै जाँदैछौं । हजूर पनि तुरुन्तै आउनुहोला ।’
मलाई त झट्का लागेझैँ भयो । शरीर लगलग काँप्यो । के गर्ने, के नगर्ने दोधारमा परेँ । एकातिर पीडाको अथाहा सागर उर्लियो किनकि उनी अस्पतालमा छन् भन्दा मरेको खबर पो सुन्नु पर्ने हो कि ? अर्कोतिर खुशीको सानो झिल्को बल्यो किनकि अन्तिम अवस्थामा भए पनि उनको अनुहार देख्न पाउने थिएँ । बल्लतल्ल मनलाई शान्त बनाएर आठ–दश हजार रुपैयाँ ब्यागमा हालेर ट्याक्सी चढेँ ।
त्यहाँ गएपछि थाहा भयो उनी त बस दुर्घटना परेर सख्त घाइते भएको अवस्थामा प्रहरीद्वारा भर्ना गरिएका रहेछन् । होस खुलेको थिएन । निकै दुब्ला देखिन्थे । त्यो दिनभर छोरीज्वाइँ र म त्यही बसिरह्यौं । अरू साथीभाइ, इष्टमित्रहरू पनि आए । भोलिपल्ट मात्र होस आयो । होस खुलेपछि मात्र अन्य जाँचहरू भए ।
डाक्टरले भने, ‘उहाँको ढाडको हड्डी भाँचिएको छ । त्यो बाहेक अन्य समस्या छैन । हामी स्टिल हालेर ढाडको हड्डी जोडिदिन्छौं तर कम्मरदेखि मुनिको भाग चल्दैन होला ।’
हामीले डाक्टरसिट सम्भव भएको सबै उपाय गरिदिनोस् भनेर अनुरोध ग¥यौं । अप्रेशन भयो । एक महिनाको अस्पताल बसाइपछि घर फर्कियौं । अब त उनी ह्वीलचेयरमा पुगेका छन् । म उनको साथी छु । उनले पनि मसित माफी मागिसकेका छन् ।
उनी असक्त छन् । यस कुराले केही दुखी बनाएको भए पनि म यस मानेमा खुसी छु की मैले उनलाई सेवा गर्ने मौका पाएकी छु । अब उनी कहीँ जाने छैनन् । उनी मेरो सुखदुखको साथी बनेका छन् । म रातदिन उनको सेवामा लागिरहन्छु । म सकेसम्म उनलाई तागतिलो र ताजा खानेकुरा दिने प्रयास गर्छु । म उनलाई धेरै उमेरसम्म बचाउन चाहन्छु । मैले एक्लै बस्दाको पीडा थाहा पाएकी छु । त्यसैले मलाई उनको अनुहार हेरे पुग्छ । उनबाट अरू केही चाहिएको छैन । मेरो अब एउटै कामना छ, म उनी भन्दा एक महिनापछि मरूँ । म पहिल्यै मरेँ भने उनको कसले सेवा गर्छ र ? फेरि उनीबिना एक्लै बाँच्ने कल्पना पनि त गर्न सक्दिन म ।
बिहान सधै नुहाउछन् उनी । चियानास्ता पछि किताब पढ्छन् । केही लेख्छन् र पत्रिकामा छाप्नका लागि पठाउछन् । दिउँसो सहरका विभिन्न ठाउँमा घुमाउन लैजान्छु, ह्वीलचेयरमा गुडाउँदै । उनी पुस्तक पसलमा गएर किताब किन्छन् । म त उनलाई पहिलेभन्दा धेरै माया गर्न थालेकी छु । पहाडको जग्गा बेचेर छोरीले पैसा बैंकमा राखिदिएकी छे । घरभाडा पनि आउछ अलि अलि । म फेरि विभिन्न रोगहरूबाट मुक्त हुँदै गएकी छु । जीवन फेरि सुखी भएको छ मेरो । शरीरमा फूर्ति र जाँगर बढिरहेको भान हुन्छ । यस्तै रहेछ जीवन ः कहिले घाम, कहिले छाया ।









प्रतिक्रिया दिनुहोस्