नेपालगन्ज, (बाँके) : भूमि समस्या समाधान आयोग बाँकेले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)को तयारी गरेको छ । जिल्ला आठ स्थानीय तहमा दर्ता भएका भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई आयोगले लालपुर्जा वितरणको तयारी गरेको हो ।
भूमि समस्या समाधान आयोग बाँकेका अनुसार हालसम्म ५३ हजार ७०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्तिका लागि आयोगमा फाइल दर्ता गराएका छन् । जसमध्ये भूमिहीन दलितको संख्या तीन हजार ६८१, भूमिहीन सुकुम्वासीको संख्या छ हजार ७९८ र अव्यवस्थित बसोवासीको संख्या ४३ हजार २२६ रहेको अध्यक्ष भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले बताए ।
उनका अनुसार बाँकेका ८ वटा पालिकामध्ये सबैभन्दा बढी कोहलपुर नगरपालिकाबाट लालपुर्जा प्राप्तिका लागि फारम दर्ता भएको आयोगले जनाएको छ । आयोगका अनुसार कोहलपुर नगरपालिकाबाट १७ हजार ६१५ ले फाइल दर्ता गराएका छन् । राप्तीसोनारी गाउँपालिकाबाट १२ हजार ५२३, बैजनाथ गाउँपालिकाबाट १० हजार ११२, खजुरा गाउँपालिकाबाट पाँच हजार २५८ ले फाइल दर्ता गराएको आयोगले जनाएको छ । यसैगरी,नेपालगन्ज उपमहानगरपालिकाबाट तीन हजार ४२, जानकी गाउँपालिकाबाट दुई हजार ८१० र सबैभन्दा कम नरैनापुर गाउँपालिकाबाट दुई हजार ३४५ वटा आवेदन फारम दर्ता भएका छन् । डुडुवा गाउँपालिकाबाट आयोगमा हालसम्म सम्झौता नभएका कारण त्यहाँको विवरण भने अझैसम्म प्राप्त नभैसकेको अध्यक्ष खनालको भनाइ छ ।
मंगलबार बाँकेको कोहलपुरमा बसेको सर्वदलीय बैठकबाट बाँकेको कोहलपुरमा रहेका भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्ने निर्णय गरेको थियो । आयोगले जिल्लामा कोहलपुर नगरपालिका वडा नम्बर १ बाट वैशाख २० गतेका दिन लालपुर्जा वितरण कार्य सुरु गरिने जनाएको छ । ‘मंगलबार सर्वदलीय बैठक बसेर कोहलपुरबाट लालपुर्जा वितरण गर्ने निर्णय गरेका छौँ, कोहलपुर नगरपालिका वडा नम्बर १ बाट लालपुर्जा वितरण अभियानलाई सुरु गर्दैछौँ, उक्त वडामा १४२ जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीले आयोगमा लालपुर्जाका लागि आवश्यक कागजात पेश गर्नुभएको छ ,’ अध्यक्ष खनालले भने ।
अध्यक्ष खनालका अनुसार कोहलपुरको न्युरोड चोकमा एक कार्यक्रमको आयोजना गरी लालपुर्जा वितरण कार्य सुरु गरिनेछ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा वली वा विभागीय मन्त्रीबाट लालपुर्जा वितरण गर्ने कार्यको उद्घाटन गरिने उनले जानकारी दिए । वैशाख महिनाभरमा जिल्लाभरी करिब तीन हजार भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने लक्ष्य आयोगले राखेको उनले बताए । उनका अनुसार यसपछि भूमिहीन दलित र भूमिहीन सुकुम्वासीसँगै अव्यवस्थित बसोवासीलाई पनि लालपुर्जा वितरण गरिने छ ।
यसघिका आयोगहरुले काम गर्न बाँकी अधुरा र अपुरा कार्यहरुलाई पनि अगाडि बढाइने उनले बताए । अध्यक्ष खनाल भन्छन्,‘हामीभन्दा अगाडिका आयोगहरुले बाँकी राखेका कामहरुलाई पनि हामी निरन्तरता दिनेछौँ, पहिलेका अधुरा र अपुरा कार्यहरुको अभिलेख सम्बन्धमा नापी कार्यालय कोहलपुर, नापी कार्यालय नेपालगन्ज बाँके, भूमिसुधार तथा मालपोत कार्यालय कोहलपुर तथा भूमिसुधार तथा मालपोत कार्यालय नेपालगन्ज बाँकेलाई पत्राचार गरी विवरण माग गर्ने तयारी गरेका छौँ ।’
प्रतिक्रिया दिनुहोस्