वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्ज सुर्खेतरोडमा रहेको विपी कोइरालाको शालिकमा कपडा टाँसिएको फोटो सामाजिक सञ्जालमा अहिले उक्त विषय चर्चाको विषय बनेको छ । आफ्ना नेताहरूलाई रिहा गर्न माग गर्दै राप्रपाको अगुवाईमा शनिबार बेलुका राँके जुलुस निकालिएको समयमा विपीको शालिकमा मुखाकृति ढाकिने गरी कपडा टाँसिएको थियो । तर, उक्त घटनालाई नेपाली कांग्रेसले नियतवश भएको घटना भन्दै निन्दा गरेको छ । राप्रपाले अन्जानवश भएको घटना भन्दै माफी मागेको छ ।
सामाजिक सञ्जालमा भने विरोध प्रदर्शनमा उत्रिएको राप्रपाका कार्यकर्ताले जानीजानी उक्त हर्कत गरेको भन्दै तीव्र आलोचना भइरहेको छ । कतिपयले तीनकुनेमा राजावादीहरूले देखाएको उद्धन्डताजस्तै हर्कत भएको भन्दै उक्त घटनाको आलोचना गरिरहेका छन् । तथ्यले भने आशंकाका भरमा र लहलहैमा उक्त घटनालाई नियतवश भएको घटना बनाइएको देखाउँछ । घटनाका प्रत्यक्षदर्शीहरू, आन्दोलनमा सहभागिहरू र प्रहरीको भनाईले उक्त घटना नियतवश भएको भन्ने पुष्टि गर्दैन ।
स्थानीय प्रत्यक्षदर्शीहरू राँके जुलुस बोकेका व्यक्तिहरूबाट प्रहरीले राँको खोस्न खोज्दा धकेलाधकेल भएको र त्यही क्रममा एउटा कपडा भिडबाट उछिट्टिएर शालिकमा पुगेको बताउँछन् । विपी चोकका एकजना पसलेले भने मिसन टुडेसँग आइतबार भने, ‘जुलुसमा आएका मान्छेहरू त्यही शालिकमुनि उभिएर भाषण गरिरहेका थिए । शालिकमा क्षति पु¥याउने भए त त्यहाँ भाषण नगर्नुपर्ने । मैले शालिकको पश्चिमपट्टिबाट कपडा उड्दै गएर शालिकमा अड्केको देखेको हुँ । कसको हातबाट गयो त्यो चाहीँ देखिन ।’
ती पसलेले देशको आर्थिक अवस्था खराब भएको, पसल व्यवसाय चल्न छोडेको बेला राजनीतिक दलहरू भने जनताको सरोकारै नभएका मुद्दामा बाँझिरहेको देख्दा दुःख लागेको बताए । ‘अहिले त व्यापार कसरी बढाउने, रोजगारी कसरी दिने भन्नेमा लड्नुपथ्र्याे । तर कसैले पनि यतातिर ध्यान दिएका छैनन् । धवलशमशेरले चुनावमा के भने, अहिले के गरिरहेका छन् ? दिक्क लाग्छ,’ ती पसलेले भने ।
उनको आसपासका पसलेहरूले पनि शालिकमा कपडा फाल्ने नियतमै त्यो घटना भएको मान्न नसकिने बताए । नेपाली काँग्रेसमै आबद्ध लोकेश आचार्यले पनि उक्त घटना नियतवश नभै झुक्किएर भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा काँग्रेस बाँकेका सचिव सुधांशु कोइरालाको स्टाटसमा कमेन्ट गर्दै लेखेका छन्, ‘हिजो साँझ म धम्बोजी बाट घर फर्किदै गर्दा विपि चोक मसाल जुलुस रहेछ । ठ्याकै म स्वयम् त्यहीँनिर पुग्दा पुलिसले आगो निभाउँदै गर्दा त्यो जुटको बोरा लठ्ठीमा बेरिएर माथि हाम्रो महामानव विपी कोइरालाको सालिकमा पुगेको थियो । म जाँदै थिए त्यो हटाउ भन्नलाई, त्यति बेला नै नेपाल प्रहरीले निकालिसकेका थिए ।’
प्रहरी पनि आन्दोलनकारीले जुलुसमा राँको बोकेको अवस्थामा निभाउनलाई पानीमा भिजाइएको जुटको बोरा उछिट्टिएर त्यहाँ पुगेको बताउँछ । बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले उक्त घटना प्रहरीको ‘नोटिस’मै नभएको तर सामाजिक सञ्जालमा क्रियाप्रतिक्रिया आएपछि अतिरन्जित भएछ भन्ने लागेको बताए । ‘कपडा कसरी शालिकमा पुग्यो भन्ने नै थाहा भएन । तर त्यो भएको केही छिनमै कपडा निकालिएको थियो । त्यो कुनै ठूलो नोटिस गर्नुपर्ने घटनै थिएन प्रहरीका लागि,’ पातलीले भने ।
सामाजिक सञ्जालमा सार्वजनिक एक भिडिओमा पनि शालिकमा टाँसिएको जस्तै देखिने कपडा आन्दोलनकारीका हातमा नभै प्रहरीका हातमा रहेको देखिन्छ । जुन कपडाले राँकोहरू निभाउन प्रहरीलाई हम्मे हम्मे परेको भिडिओमा देखिन्छ ।
राप्रपाका नेताहरू रविन्द्र मिश्र र डा. धवलशमशेर राणालाई चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको अराजक गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूको रिहाईको माग गर्दै राणाको गृहनगर नेपालगन्जमा शनिबार बेलुकी राँके जुलुसु प्रदर्शन गरिएको थियो ।
एमाले महासचिवको स्टाटसले बनायो अतिरन्जित
विपीको शालिकमा कपडा टाँसिएको घटनालाई लिएर नेपाली काँग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले फेसबुकमा शनिबार मध्य राती नै विपीको शालिकमा अभद्र क्रियाकलाप भएको भनेर लेखे । उनले उक्त घटनालाई इतिहासको अध्ययन नभएका केहि अराजक समूहले गरेको हर्कतको संज्ञा दिँदै आफूहरूको आस्था र विचारमाथि प्रहारको भएको रूपमा लिएको बताए । साथै उनले उक्त गतिविधि गर्ने व्यक्तिको पहिचान गरी कानुनको दायरामा ल्याउन माग पनि गरे । एकजना नेताको शालिकमा संयोगवश भएपनि भएको अशोभनीय घटनामा पार्टीका सचिवको प्रतिक्रिया आउनु स्वभाविक नै थियो । कोइरालाको प्रतिक्रिया सन्तुलित समेत थियो ।
तर, आइतबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले सोही घटनालाई लिएर विपीको शालिकमा ‘कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेछन्’ भनेर लेखिदिए । त्यसपछि शालिकमा कपडा टाँसिएको घटना सामाजिक सञ्जालमा कालोमोसो दलिएको र तोडफोड गरिएको घटनाका रूपमा फैलियो । अरु त अरु कांग्रेस बाँकेले पनि आफ्नो विज्ञप्तिमा ‘कालो पोत्ने, कालो कपडाले ढाक्ने जस्ता’ हर्कत देखाएको भनेर लेख्यो ।
तर बाँके प्रहरीका सूचना अधिकारी डिएसपी पातलीका अनुसार कुनै पार्टीबाट आधिकारिक रूपमा घटनामा के भएको थियो भनेर जानकारी मागिएको छैन् । आधिकारिक जानकारी बिनै भ्रमपूर्ण रूपमा शालिकमा कालो पोतिएको भनेर प्रचार भएपछि सामाजिक सञ्जालमा उक्त घटना भाइरल भयो ।
सञ्चार माध्यममा विपीको शालिकमा कालोमोसो दलिएको र तोडफोड गरिएका भनेरै समाचार आउन थाले । सामाजिक सञ्जालमा क्रियाप्रतिक्रियाहरू कालोमोसो दलिएको भन्ने अर्थमै आउन थाले ।
त्यसपछि राप्रपाको नेपालगन्ज नगर कार्यसमितिले पनि विज्ञप्ति जारी गर्दै आफ्ना नेताहरूको रिहाईको माग गर्दै गरिएको राँके जुलुसमा ‘प्रहरीद्वारा गरिएको हस्तक्षेपमा नामालुम भवितव्यरूपमा कहाँकसरी उक्त घटना भएको हो ?’ भन्दै विज्ञप्ति निकाल्यो । विज्ञप्तिमा राप्रपाले लेखेको छ, ‘सबैका आस्थाका केन्द्र, देशका नेता तथा जननिर्वाचित पूर्व प्रधानमन्त्री विपी कोइराला हामी सबैका जनप्रिय नेताप्रति हाम्रो सधैं सम्मान र विश्वास रहेको छ र रहीरहने छ ।’ साथै, राप्रपाले उक्त घटनाबाट कुनै राजनीतिक दल वा व्यक्तिको आस्थामा ठेस लागेको भए माफी पनि मागेको छ ।
तर, घटनाको अतिरन्जित प्रचार भएपछि राप्रपाले तीनकुनेमा राजावादीहरूले गरेको अराजक प्रदर्शनको जस्तै नियत पुष्टि भएको भन्दै सामाजिक सन्जालमा आलोचना भइरहेको छ । राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले अतिरन्जित प्रचारप्रति आपत्ति जनाउँदै एमालेका महासचिवको आलोचना गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई मेरो सुझाव, लोकप्रियताका नाममा सस्तो, हल्का र भड्काव नबन्नुस् । आफ्नो चिन्ता लिनुस् । काँग्रेसलाई उकासेर, राप्रपालाई गलत देखाएर तपाईँको केपी नेतृत्वको सरकारका गलत र अत्याचारका क्रियाकलाप छोपिदैनन् ।’









प्रतिक्रिया दिनुहोस्