विश्व स्वास्थ्य संगठन र युनिसेफको सुझावअनुसार एक हजार जीवित जन्म हुने अवस्थामा ४ देखि ६ एनआइसियु बेड तयार गर्नुपर्ने हुन्छ । जसअनुसार भेरी अस्पतालमा मात्रै अहिलेको अवस्थामा कम्तिमा २० वटा एनआइसियु बेड हुनुपर्ने हो । तर, त्यसको आधा मात्रै बेडसङ्ख्या अस्पतालमा छ । एनआइसियुले शिशुहरूको बाँच्ने सम्भावना र दीर्घकालीन स्वास्थ्यको सम्भावना बढाउने चिकित्सकहरूको भनाइ छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
बर्दियाको सितला बजारका धनबहादुर नेपालीको श्रीमतीलाई सुत्केरी बेथा लागेपछि चैत्र ८ गते भेरी अस्पतालमा ल्याएर आए । चेकजाँचपछि चिकित्सकहरूले शिशुलाई एनआइसियु आवश्यक पर्नसक्ने तर भेरीमा एनआइसियु बेड खाली नभएको बताउँदै अन्यत्र व्यवस्थापन मिलाइराख्न भने । धनबहादुर अरु अस्पतालहरूमा एनआइसियु खोज्दै हिँडे । तर कतैपनि बेड खाली थिएन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा अर्काे दिन मात्रै एनआइसियु बेड खाली हुने जानकारी दिइयो ।
धनबहादुरलाई तनाव हुन थाल्यो, अब शिशु जन्मेमा कहाँ लगेर राख्ने ? संयोगवश उनकी श्रीमती अर्काे दिन सुत्केरी भइन्, जुन दिन भेरीमै एनआइसियु बेड खाली भयो । नभन्दै उनकी छोरीको कम तौल रहेका कारण एनआइसियुमै राख्नुप¥यो । ४ दिनदेखि छोरीलाई एनआइसियुमा राखेर उपचार गराइरहेका नेपालीले मिसन टुडेसँग भने, ‘जुन दिन अस्पताल आएको थिएँ त्यही दिन बच्चा जन्मेको भए त समस्या भइहाल्ने रहेछ । त्यस्तो बेला बाहिर लग्नुको विकल्प हुने थिएन होला ।’
धनबहादुरले भोगेजस्तै पश्चिम नेपालको स्वास्थ्योपचारको केन्द्र नेपालगन्जमा नागरिकहरूले एनआइसियु (नवजात शिशुको सघन हेरचाह इकाइ) बेडको अभाव भोगिरहेका छन् । यहाँका अस्पतालहरूमा पर्याप्त एनआइसियु बेड नहुँदा नवजात शिशुको उपचारमा कठिनाइ आइरहेको छ भने नागरिकहरूले सास्ती भोगिरहेका छन् । समयपूर्व जन्मेका नवजात शिशु, तौल कम भएका वा बिरामी शिशुहरूलाई विशेष हेरचाह, प्रविधिसहित चिकित्सकको निगरानीमा उपचार प्रदान गर्नका लागि एनआइसियु अत्यन्त जरुरी हुने चिकित्सकहरू बताउँछन् ।
नेपालगन्जका सबै अस्पतालमा गरेर जम्मा ५० वटा मात्रै एनआइसियु बेड छन् । त्यसमा पनि सबैभन्दा ठूलो र एकमात्र सरकारी अस्पताल भेरी अस्पतालमा जम्मा १० वटा मात्रै एनआइसियु बेड रहेका छन् । बाँकी सबै नीजि अस्पतालहरूमा रहेका बेड हुन् ।
जबकि भेरी अस्पतालमा गत एक आर्थिक वर्षमा मात्रै पाँच हजार तीन सय ८३ आमाहरू सुत्केरी भएका थिए । जुन तथ्यांकले भेरीमा एकैदिन औसतमा १५ जना शिशु जन्मिने गरेको देखाउँछ । गत वर्ष २०८०–८१ मा जम्मा जीवित जन्ममध्ये ६ सय ४३ शिशु कम तौलका जन्मिएको अस्पतालको तथ्यांक छ ।
विश्व स्वास्थ्य संगठन र युनिसेफको सुझावअनुसार एक हजार जीवित जन्म हुने अवस्थामा ४ देखि ६ एनआइसियु बेड तयार गर्नुपर्ने हुन्छ । जसअनुसार भेरी अस्पतालमा मात्रै अहिलेको अवस्थामा कम्तिमा २० वटा एनआइसियु बेड हुनुपर्ने हो । तर, त्यसको आधा मात्रै बेडसङ्ख्या अस्पतालमा छ ।
अर्काेतिर गत आर्थिक वर्ष २०८०–८१ मा बाँके जिल्लामा मात्रै एक सय ४८ जना २८ दिन मुनिका नवजात शिशुको मृत्यु भएको थियो भने आर्थिक वर्ष २०७९–८० मा एक सय ४२ नवजात शिशुको मृत्यु भएको थियो । गत तीन वर्षमा भेरी अस्पतालमै भर्ना भएका एक सय ४१ जना नवजात शिशुको ज्यान गएको तथ्यांक छ ।
एनआइसियुले शिशुहरूको बाँच्ने सम्भावना र दीर्घकालीन स्वास्थ्यको सम्भावना बढाउने चिकित्सहरूको भनाइ छ । बालरोग विशेषज्ञ डा. रोमा बोराले पनि नेपालगन्जमा एनआइसियु बेडहरू पर्याप्त नहुँदा नागरिकहरूले भौँतारिनुपर्ने अवस्था रहेको बताइन् । उनले नवजात शिशुको उपचारमा महत्वपूर्ण भूमिका हुने गरेको बताइन् । ‘नवजात शिशुको उपचार अरुभन्दा बढी संवेदनशील हुन्छ । उनीहरूलाई निश्चित तापक्रम र वातावरणमा उपचार गर्नु जरुरी हुन्छ । त्यसकारण एनआइसियु बेडहरू थपिनु जरुरी छ,’ उनले भनिन् । विभिन्न अध्ययनले पनि एनआइसियुमा भर्ना भएका अधिकांश शिशुहरू निको हुने गरेका देखाएका छन् ।
सन् २०२२ मा प्रकाशित गण्डकी मेडिकल कलेजका चिकित्सकहरूले गरेको एक अध्ययनले उक्त अस्पतालमा १६ महिनाको अवधिमा एनआइसियुमा भर्ना भएका शिशुहरूको अवस्थाका बारेमा गरेको अध्ययनले ७१ दशमलव २१ प्रतिशत शिशुहरू निको भएको देखाएको थियो । सन् २०१३ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरूले गरेको यस्तै प्रकृतिको अध्ययनले भने ६४ दशमलव २ प्रतिशत शिशु निको भएको देखाएको थियो । यसले एनआइसियुमा भर्ना भएका शिशु बाँच्ने सम्भावना बढेको संकेत गर्छ ।
हाल भेरी अस्पतालमा अपरेसनबाट हुने प्रसूति सेवाका लागि दैनिक दुईवटा अपरेसन थ्रियटर मात्रै उपलब्ध छन् । अब केही दिनमै थप दुईवटा थ्रियटर थप्न लागिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले जानकारी दिए । अहिले नै सेवाग्राहीले एनआइसियु बेड नपाइएको गुनासो गरिरहेको अवस्थामा अब अपरेसनमार्फत सुत्केरी हुने क्रम बढेसँगै उक्त माग झन् बढ्ने डा. सुवेदीले बताए । ‘अहिलेको भन्दा दोब्बर अपरेसन हुनु भनेको एनआइसियुको आवश्यकता पनि त्यहीअनुसार बढ्नु हो । तर, हामीसँग जनशक्ति छैनन् । अहिले नै जनशक्ति थप्न सक्ने अवस्थामा पनि छैनौँ । एनआइसियु चाहिएपनि थप्न सकिने अवस्था देखिँदैन् । यो हाम्रो लागि पनि चिन्ताको विषय बनेको छ,’ डा. सुवेदीले भने ।
भेरी अस्पतालको गुरुयोजनामा अलग्गै भवनसहितको प्रसूतिगृह बनाउने योजना पनि छ । जसमा एनआइसियु लगायतका आवश्यक पूर्वाधारको पनि व्यवस्था गरिने भनिएको छ । तर, उक्त योजनाका लागि पर्याप्त बजेट सरकारले दिएको छैन् । चालू आर्थिक वर्षमा प्रसूतिगृहका लागि भनेर छुट्याएको एक करोड रूपैयाँ बजेट खर्च गर्न नमिल्ने अवस्था आएको डा. सुवेदीले बताए । उनका अनुसार करिब १९ लाख बढी रकममा भवनको डीपीआर तयार गरिएको छ ।
बाँकी ८० लाखमा ठेक्का आह्वान गर्नै नमिल्ने अवस्था छ । किनकी उक्त भवनको कुल लागत ४७ करोड रूपैयाँ बढी छ । ठेक्का लगाउँदा कुल लागतको १० प्रतिशत पेश्की दिनुपर्ने व्यवस्था रहेकोमा उक्त पेश्की दिन पुग्ने बजेट नै नरहेकोले ८० लाख रूपैयाँ बजेट फ्रिज हुने डा. सुवेदीले बताए । ‘हामी यही समस्या लिएर केन्द्र सरकारलाई अवगत गराउन जाँदैछौँ । प्रसूति गृहसहित नयाँ ओपिडी भवनको लागि पनि पर्याप्त बजेट छुट्याउनुप¥यो भन्ने हाम्रो माग छ,’ उनले भने ।
नेपालगन्जका सम्बन्धित अस्पतालहरूले दिएको जानकारीअनुसार नेपालगन्ज मेडिकल कलेजमा १९ वटा एनआइसियु बेड छन् भने एचसीआरसीमा १० वटा, यशोदा अस्पतालमा ६, कान्ती आरोग्यमा ५ वटा बेडसहितको एनआइसियु बेड रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्