बाँके ।
नेपालगन्ज उपमहानगरपालिकाले सडक बत्ती बालेवापत नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रलाई तिर्नुपर्ने बाँकी बक्यौता रकममध्येको २४ लाख रूपैयाँ बढी रकम बुझाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका लेखा अधिकृत लोकेन्द्र रावतले उपमहानगरले दुई ठाउँका हाइमास्ट लाइट बालेवापतको तिर्नुपर्ने बाँकी बक्यौता रकम विद्युत् प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रलाई सोमबार बुझाइएको बताए ।
उनका अनुसार दुईवटा हाइमास्ट लाइट बालेवापतको २४ लाख पाँच हजार ७६४ रूपैयाँ २९ पैसा बाँकी बक्यौता रकम बुझाइएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित धम्बोझी चोकमा जडान रहेको हाइमास्ट लाइटको १२ लाख १० हजार २८३ रूपैयाँ ४० पैसा र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ स्थित भन्सार चोकमा जडान रहेको हाइमास्ट लाइटको ११ लाख १५ हजार ४८० रूपैयाँ ८० पैसा गरी जम्मा २४ लाख पाँच हजार ७६४ रूपैयाँ २९ पैसा बक्यौता रकम विद्युत् कार्यालयलाई बुझाइएको लेखा अधिकृत रावतले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख सहायक प्रबन्धक इ.जगन्नाथ लामिछानले नेपालगन्ज उपमहानगरले तिर्नुपर्ने २८ करोड रूपैयाँमध्ये सोमबार २४ लाख रूपैयाँ बुझाएको बताए ।
‘नेपालगन्ज उपमहागरले सडक बत्ती तथा हाइमास्ट लाइट प्रयोग गरेवापत विद्युत् कार्यालयलाई २८ करोड रूपैयाँ तिर्न बाँकी छ, जसमध्ये हाइमास्ट लाइटको मात्रै ५ करोड रूपैयाँ बाँकी छ ।’ सहायक प्रबन्धक लामिछानेले भने, ‘अहिले तिरेको २४ लाख पाँच हजार ७६४ रूपैयाँ रकम त्यही हाइमास्ट लाइट प्रयोग गरेवापतको बाँकी रकम हो ।’
सहायक प्रबन्धक लामिछानेले उपमहागरले तिर्नुपर्ने रकम विस्तारै तिर्दै जाने बताएको जानकारी दिए । ‘मैले मेयरसापसँग कुरा गरेको थिएँ, उहाँले पहिला हाइमास्ट लाइटको बाँकी रकम विस्तारै तिर्छौँ भन्नुभयो, यो आर्थिक वर्षमा दुई किस्तामा ५० लाख रूपैयाँ तिर्ने भन्नुभएको छ, यो पहिलो किस्ता हो, ५० लाखमध्येको बाँकी किस्ता आउने महिना तिर्छौँ भन्नुभएको छ ।’ उनले भने ।
सुरुमा विस्तारै हाइमास्ट लाइटको बाँकी रकम विस्तारै तिर्दै जाने र सडक बत्तीको बाँकी रकम पछि तिर्ने उपमहानगरले जानकारी गराएको लामिछानेले बताए ।
प्रतिक्रिया दिनुहोस्