बेवास्ताले बेवारिसे बन्यो बढैयातालको सभाहल



बर्दिया ।

बढैयाताल गाउँपालिकाको एक मात्र सभाहल उपयोगमा चासो नदिँदा निर्माणसम्पन्न नहुँदै जीर्ण र बेवारिसे बनेको छ । बढैयाताल गाउँपालिका–८ पशुपतिनगरमा रहेको उक्त सभाहल रु ७० लाख २६ हजारमा निर्माण गरिएको थियो ।

दुई सय ४२ वर्गमिटर क्षेत्रफलमा निर्मित ३०० जना क्षमताको सुविधासम्पन्न सभाहलमा शौचालय, आरामकक्ष र पोसाक परिवर्तन गर्ने कक्ष रहेको गाउँपालिकाको योजना शाखा उपप्रमुख उमानबहादुर हमालले जानकारी दिए । गाउँपालिका र निर्माण कम्पनीबीच भएको सम्झौताअनुसार निर्माण कम्पनीले काम नगरेको र समयमा हस्तान्तरण नगर्दा सभाहल जीर्ण र बेवारिसे बनेको वडा नं ८ का वडा सदस्य दिल्लीप्रसाद गौतमले बताए ।

जय बागेश्वरी निर्माण सेवा कम्पनी र बढैयाताल गाउँपालिकाबीच विसं २०७८ जेठ ८ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताबमोजिम पूर्ण रूपमा निर्माणसम्पन्न नभएपछि निर्माण कम्पनीले पुनः भत्किएका ठाउँमा मर्मत सुरु गरेको छ ।

सभाहल उपयुक्त स्थानमा निर्माण नगर्दा महँगो भाडा तिरेर गाउँपालिकाले होटलमा कार्यक्रम गर्ने गरेको स्थानीयको भनाइ छ ।

गाउँपालिकाको कार्यालय रहेको स्थानदेखि पाँच किलोमिटर पश्चिममा निर्मित सभाहलका झ्यालका सिसा फुटेका छन्् भने छाडा पशुको विश्रामस्थल र बालबालिका खेल्ने ठाउँ बनेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ११ गते आइतबार