रुस–युक्रेन युद्धका बाछिटाहरू



हिजोसम्म रुसको विरुद्धमा सारा शक्ति फोकस गरेको अमेरिकाले कोल्टे फेरेको देखेर युरोप र अमेरिकाका समर्थक देश चकित पर्नु अस्वभाविक पनि त होइन् । ट्रम्पको एउटै फोनले एकाएक विश्व राजनीतिको परिस्थितिलाई नै फेरिदिएको छ । युक्रेन युद्धलाइ हास्यास्पद युद्ध भन्दै ट्रम्पले पुटिनसँगको वार्ताले धेरै अर्थ राख्ने बताएका छन् । उनी यतिसम्म आशावादी देखिएका छन् कि उनले पुटिनलाई आफ्नो देश घुम्न आउन निम्तो दिनसमेत पछि परेनन् । रुस र अमेरिका मिले कसको के लाग्छ र ? ट्रम्पले युक्रेनी राष्ट्रपतिसँगको भेटमा हालसम्म अमेरिकाले युक्रेनलाई गरेको आर्थिक र सैन्य सहयोगको बदलामा युक्रेनमा पाइने आधा खनिज दिनुपर्नेसम्मका माग गरेका थिए ।

सागर गैरे ।

एकातिर युक्रेन र रुस बीच भैइरहेको युद्ध रोक्न युद्धविरामको चर्चा चलेको छ भने अर्कोतिर रुसले युक्रेनमा हमला तीव्र्र बनाएको छ । धेरै घटनाहरू छिटोछिटो भैइरहेका छन् । विश्वकै दुई ठूला महाशक्ति बीच साउदी अरबमा वार्ताको तयारी तीव्र्र पारिएको छ । अमेरिकी वार्ता टोलि साउदी पुगिसकेको छ । रुसी वार्ता टोलि पनि साउदी आइसकेको छ । युक्रेनको सहभागिता र समर्थन बिना नै युक्रेन युद्धबारे रुस र अमेरिका वार्तामा बस्दैछन् । अमेरिका र रुस बीच हुन लागेको वार्ताले सिँगो विश्वको ध्यान खिचेको छ ।

अन्तर्राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलन, गठबन्धनको राजनीति आर्थिक र भू–राजनीतिक प्रतिस्पर्धा र इतिहासको पुनरावृत्तिको चक्र निरन्तर घुमिरहेको हुन्छ । साउदी अरबमा इतिहास दोहोरिँदै छ । सन् १९७२ को अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको चीन भ्रमण विश्वकै लागि अप्रत्यासित थियो । भ्रमणभन्दा अघिसम्म चीन र अमेरिका बीच कुनै किसिमको औपचारिक सम्बन्ध थिएन । भियतनाम युद्धमा भियतनामको साथ दिँदै चीन र तत्कालीन सोभियत संघले अमेरिकाको विरुद्धको मोर्चा कसेका थिए । रिचर्ड निक्सनको भ्रमणको मुख्य उद्देश्य चीनसँग सम्बन्ध सुधारेर सोभियत संघलाई कमजोर पार्ने थियो ।

पाँच दशकपछि फर्किएर हेर्दा चीनको उदयले अमेरिकाको आर्थिक र भू–राजनीतिक प्रभुत्वलाई चुनौती दिएको छ । अमेरिकाले चीनको प्रभावलाई सिमित गर्न रुससँग नजिकिन खोजेको देखिन्छ । जुन १९७२ मा सोभियत संघलाई दबाब दिन चीनसँग नजिकिने रणनीतिको एउटा प्रतिबिम्ब हो । अन्तर्राष्ट्रिय राजनीतिमा एकपटकको मित्र सधैँको मित्र र एकपटकको शत्रु सधैँको शत्रु नहुने तथ्यलाई अमेरिकी नीतिले चरितार्थ गरेको छ । त्यसैले नै राजनीतिमा इतिहास दोहोरिन्छ भनिन्छ । राजनीतिक घटनाहरू र प्रवृत्तिहरू बारम्बार दोहोरिइरहेका हुन्छन् । अन्तर्राष्ट्रिय राजनीतिमा पनि इतिहासको पुनरावृत्ति हुने तथ्यलाई बिर्सन सकिँदैन ।

यसैको पछिल्लो कडि मान्न सकिन्छ अमेरिका र रुसको आसन्न वार्तालाई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरेका छन् । उनीहरू बीच डेढ–डेढ घन्टासम्म कुरा भएको बताइएको छ । ट्रम्पले सार्वजनिक रूपमै युक्रेनलाई नेटोको सदस्य नबनाइने, युक्रेनले गुमाएको भूमी फिर्ता नपाउने भनेका छन् । ट्रम्पले तिनै कुरा गरेका छन् जुन कुरा पुटिन र उनीबीच फोनवार्तामा भएको छ । ट्रम्पले गम्भीर महत्वका कुरा जुन वार्ताको टेबुलमा बहस हुनुपथ्र्यो तिनलाई जुन तरिकाले सार्वजनिक गरेका छन् त्यसबाट युरोप र युक्रेन अत्तालिएका छन् ।

अमेरिकाको निर्णय लगत्तै युरोपेली देशहरू जर्मनीको म्युनिखमा बैठक बसेका छन् । आयोजित सुरक्षा सम्मेलनमा अमेरिकी शैलिको युरोपेली राष्ट्रले खुलेर विरोध गरेका छन् । उनीहरूले युरोपसँग परामर्श नगरी अमेरिका एक्लैले रुससँग शान्तिवार्ता गर्न लागेकोमा आपत्ती जनाएका छन् ।

असन्तुष्टि युरोप र युक्रेनको

अप्रत्याशित रूपमा ट्रम्पले पुटिनसँगको वार्ताको खबर मिडियामा सार्वजनिक गरेपछी विश्वको राजनीति मज्जैसँग तरंगित भएको छ । विश्वभरका मिडियामा शान्तिवार्ताको पक्ष र विपक्षमा बहस छेडिएका छन् । रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोको व्यस्तता चुलिएको छ । उनीहरू साउदी अरब पुगिसकेका छन् ।

यतीबेला विश्व रंगमञ्चमा दुई मोर्चामा युद्ध चलेको छ । एउटा युक्रेनमा, अर्को मध्यपूर्वमा । युक्रेन–रसिया तीन वर्षदेखी युद्धमा छन् । युद्धले युक्रेन र रसियामा धनजनको ठूलो क्षति भएको छ । युद्ध रोकिने भन्दा पनि झनझन् बल्झिने र लम्बिने क्रम बढेको छ । युक्रेन युद्धका बाछिटाले विश्वकै अर्थतन्त्र रुझेको छ । महंगी बढेको छ । विश्वव्यवस्था खल्बलिएको छ । कतिबेला त यस्तो लाग्छ कतै विश्व नै आणविक युद्धमा त होमिने हो कि ? एकातिर पश्चिमी जगत युक्रेनसँग मोर्चामा छन् । एकातिर रुस एक्लै छ । रुस टसको मस भएको छैन् ।
ट्रम्प र पुटिनबीचको वार्ताले युद्ध रोकिने एउटा बाटो खोलेको छ । त्यही बाटो भएर युक्रेन–रसिया युद्धले विश्राम पाउँछ कि ? सबैका नजर साउदी अरबमा हुने भनिएको अमेरिका रुस शान्तिवार्ता तिर एकोहोरिएका छन् । रुस र अमेरिकी विदेशमन्त्रीले लागेपुगेसम्म वार्ताको माहौल बनाउन सक्रियता देखाएका छन् । उनीहरूको ध्येय रुस र अमेरिकाबीचको असामान्य सम्बन्धलाई सामान्य बनाउनु हो । साउदी अरबमा अमेरिका र रुसका वार्ता प्रतिनिधिहरूको चहलपहल बढेको छ । वार्ता सफल भए अन्तर्राष्ट्रिय राजनीतिले नयाँ मोड लिने अपेक्षा गरिएको छ ।

रुसको आक्रमक नीति युरोप र अमेरिका आफ्नो लागि सुरक्षा खतरा ठान्दछन् । रुसले युक्रेनमाथी कब्जा जमाउन सफल भयो भने रुस भोलिका दिनमा युरोपमाथी हावी हुन्छ भन्ने अमेरिकाको त्रास छ । रुस शक्तिशाली हुनुको मतलब युरोप कमजोर हुनु हो । रुसलाई शक्तिशाली हुनबाट रोक्न अमेरिकाले युक्रेनलाई साथ दिएको थियो । युक्रेनले प्रयोग गर्ने हतियार, गोला बारुद् तथा बन्दोबस्तिका सारा सामान युरोप र अमेरिकाले सहयोग गरेका थिए । यस्तो भनौ युक्रेनको काँधमा बन्दुक राखेर युरोप र अमेरिका रुससँग लडेका थिए । रुस धेरै टिक्दैन । रुसलाई वर्षदिन जति युद्धमा अल्मल्याउन सके रुस धेरै कमजोर बन्ने उनीहरूको अपेक्षा विपरित रुस युद्धकै बीचबाट झन् शक्तिशाली भएर उदाएपछि अमेरिका झस्किएको छ ।

तीन÷तीन वर्ष युद्ध चल्दा रुसले युक्रेनको धेरै भूभाग आफ्नो पकडमा पारेको छ । युक्रेनको बीस प्रतिशत जमिन रुसको कब्जामा छ । रुसले रोकिने नाम लिएको छैन । रुस अझ विस्तार भएको छ । अचानक, युक्रेनलाई आँखा चिम्लेर सहयोग गरेको अमेरिकाको अडान फेरिएको छ । उ अब युक्रेनलाई साथ दिनुको साटो युद्ध रोकाउन अग्रसर भएको छ । ट्रम्पले युक्रेनको स्वाधिनतासँग जोडिएका संम्वेदनसिल मुद्दालाई हल्का तरिकाले लिनुको मतलब हो, उनको नजरमा रुस छ । युक्रेनको कुनै मूल्य छैन । ट्रम्पका कुरा सुनेर जेलेन्स्की र युरोपेली नेता तीन छक परेका छन् ।

एउटै फोनकलले अमेरिका र रुस बीचको सम्बन्ध सामान्यकरणतर्फ अघि बढेको छ । यहि काम हिजो अमेरिकाका अरु राष्ट्रपतिको पालामा हुन सकेको थिएन । पूर्व राष्ट्रपति जो वाईडेनले त आफ्नो कार्यकाल भरी एकपटक पनि रुसी राष्ट्रपति पुटिनसँग भेट्न आवश्यक ठानेनन् । उनले शितयुद्धकालमा सोभियत संघ र अमेरिकाको सम्बन्ध सम्झाउने व्यवहार रुससँग दोहो¥याए । युक्रेनलाई उनले हरतरहले थप्थप्याए र रुससँग लड्न हौस्याए । ट्रम्पको स्वभाव अर्कै छ । ट्रम्पले चुनावी दौरानमै आफू राष्ट्रपति भएको भए रुस–युक्रेन युद्ध नहुने बताएका थिए । आफूले चुनाव जितेको महिना दिनमै रुस युक्रेन युद्ध रोक्ने प्रतिबद्धता दोहो¥याएका थिए । ढिलै भएपनि ट्रम्पले आफ्नो सक्रियता बढाएका छन् । युद्ध रोक्न युक्रेन जति लालायित छ, त्यसभन्दा कम छट्पटी रुसको पनि छैन । दुवै देश थप जनधनको क्षति भएको चाहँदैनन् । ट्रम्पले रुस र युक्रेनको नाडी छामेका छन् ।

युक्रेनको बारेमा गरिने कुनै पनि सम्झौता आफूहरूको अनुपस्थितिमा स्विकार्न बाध्य नहुने युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले बताएका छन् । हामी आफ्नो जमिनको कानुनी दावा छोड्दैनौँ । युरोपियन नेताहरूले पनि ट्रम्पको एकपक्षीय योजनाको खुलेर विरोध गरेका छन् । युक्रेन बिनाको शान्तिवार्ताको औचित्य नहुने उनीहरूको अडान छ । काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने उखानजस्तै ट्रम्प एकोहोरो भएका छन् ।

ट्रम्प घरीघरी स्पष्टिकरण पनि दिन छोड्दैनन् । हिटलर र नेपोलियनलाई हराएको रुससँग युद्ध लम्ब्याउदा क्षति थप लम्बिने भएकोले युद्ध रोक्नु आफ्नो उद्देश्य रहेको प्रस्टीकरण दिएका छन् । हिजोसम्म रुसको विरुद्धमा सारा शक्ति फोकस गरेको अमेरिकाले कोल्टे फेरेको देखेर युरोप र अमेरिकाका समर्थक देश चकित पर्नु अस्वभाविक पनि त होइन् । ट्रम्पको एउटै फोनले एकाएक विश्व राजनीतिको परिस्थितिलाई नै फेरिदिएको छ ।

युक्रेन युद्धलाइ हास्यास्पद युद्ध भन्दै ट्रम्पले पुटिनसँगको वार्ताले धेरै अर्थ राख्ने बताएका छन् । उनी यतिसम्म आशावादी देखिएका छन् कि उनले पुटिनलाई आफ्नो देश घुम्न आउन निम्तो दिनसमेत पछि परेनन् । रुस र अमेरिका मिले कसको के लाग्छ र ? ट्रम्पले युक्रेनी राष्ट्रपतिसँगको भेटमा हालसम्म अमेरिकाले युक्रेनलाई गरेको आर्थिक र सैन्य सहयोगको बदलामा युक्रेनमा पाइने आधा खनिज दिनुपर्नेसम्मका माग गरेका थिए । उनले युक्रेनका अन्य तेल र ग्यास खानीमा पनि आधा स्वामित्व अमेरिकाको हुनुपर्ने माग गरेका छन् । युक्रेनले अमेरिकी प्रस्तावको ठाडै विरोध गरेको छ ।

जेलेन्स्कीले अमेरिकी प्रताव अस्विकार गरेकैले अमेरिका युक्रेनलाई दिएको सैन्य सहयोग रोकेर युद्धविरामको बाटोमा अघि बढेको युक्रेनको आरोप छ । शक्ति राष्ट्रहरू कुनै पनि देशलाई युद्धमा लडाएर आफ्नो दुनो कसरी सोझ्याउदा रहेछन् भन्ने यो भन्दा गतिलो प्रमाण अरु के हुन सक्दो रहेछ र ? विकाससिल देशको साझा पीडा हो यो ।

युरोपलाई के थाहा छ कि नेटो सैन्य सँगठनले नै युरोपमा शक्ति सन्तुलन कायम राखेको छ । अमेरिकाले हात उठाइदिने बित्तिकै नेटो कमजोर हुन्छ । अमेरिकाले थोरै सैन्य सहयोग रोकिदिने बित्तिकै युक्रेनको शक्ति विश्व महाशक्ती रुसको अगाडि भुत्ते हुनेछ । युक्रेनले नचाहेर होस वा नेटो नै अनिच्छुक किन नदेखियोस साउदिमा उनीहरूको अनुपस्थिती बिनै अमेरिकाको र रुसको पहिलो चरणको बसाई बस्नेछ । त्यस वार्ताले एउटा माहोल बनाउनेछ । त्यो छलफलले धेरैहदसम्म रुस र अमेरिका बीचको मनोमालिन्यता कम गर्नेछ ।

दोस्रो चरणको वार्तामा अमेरिका रुससँगै युरोप र युक्रेन पनि बस्न सक्नेछन् । युरोप र युक्रेनको असन्तुष्टि भन्दा बढि अमेरिकी स्वार्थ प्राथमिकतामा पर्ने तथ्य वार्ताले प्रमाणित गर्ला ।

रुस – युक्रेन युद्धको सुरुवात र कारणहरू

रुस र युक्रेन बीच २४ फेब्रुअरी २०२२ मा युद्ध छेडिएको थियो । त्यो युद्धले तीन वर्षको अवधी पार गरेको छ र युद्ध अझै थामिएको छैन् । युद्धमा दुवैतर्फ ठूलो मात्रामा धनजनको क्षति भएको छ । युक्रेनको एक चौथाइ भू–भागमा रुसले कब्जा जमाएको छ । युद्धमा लाखौँ सैनिक र सर्वसाधारण मारिएका छन् । युक्रेनका कैयौँ सहर पूर्णरूपमा ध्वस्त भएका छन् । कैयौँ युक्रेनी नागरिकले देश छोडेर परदेशमा शरणार्थी जीवन बिताइरहेका छन् । युक्रेनको कृषि र कैयाँै औद्योगिक संरचनाहरू ध्वस्त भएका छन् । कुनै समय युक्रेनको छवि विश्वमै खाद्यान्नमा आत्मनिर्भर र निर्यातकर्ता राष्ट्रको रूपमा थियो ।

अहिले युक्रेनको त्यो छवि युद्धले धुलोमा मेटाइदिएको छ । पहिलेको सुन्दर र समृद्ध युक्रेन युद्धले खण्डहर बनेको छ । युक्रेन पश्चिमा राष्ट्रको उक्साहटमा लाग्दा बत्तिको उज्यालोमा जलेको पुतलीको नियत भोग्न अभिशप्त भएको छ । रुस र युक्रेनबीच सीमा मात्रै जोडिएको थिएन । उनीहरूबीच गहिरो सांस्कृतिक सम्बन्ध छ । उनीहरूबीच रक्त सम्बन्ध छ । भावनात्मक सम्बन्ध छ । उनीहरूले सोभियत संघको एउटै छातामुनी बसेर देश बनाउन हातेमालो गरेका थिए । रुस र युक्रेनको इतिहास एक आपसमा गहिरोसँग जोडिएको छ । मध्य युगमा युक्रेन र रुस समान राज्यको हिस्सा थिए ।

रुसको लागि युक्रेन युरोप प्रवेश गर्ने द्वार हो । रुस युक्रेनसँग त्यो द्वार बन्द नहोस् भन्ने चाहन्छ । युक्रेन रुसको पश्चिमी सीमामा छ र युक्रेनलाई युरोपसँगको सम्पर्कको कडीको रूपमा रुसले हेर्छ । सुरक्षा र शक्ति प्रक्षेपणको लागि युक्रेनको भौगोलिक अवस्थिति रुसको लागि विशेष महत्वको छ ।

रुस र युक्रेनको जटिल ऐतिहासिक सम्बन्धकै कारण रुसले युक्रेनलाई आफ्नो प्रभाव क्षेत्रको एक भागको रूपमा हेर्दछ । वास्तवमा रुसका कैयौँ अधिकारीहरूले युक्रेनलाई ‘रुसको एक हिस्सा’ मान्दछन् । युक्रेन भने रुसलाई अर्कै आँखाबाट हेर्दछ । युक्रेन एउटा राष्ट्रको रूपमा आफ्नो स्वाधीनता र सार्वभौमिकताको लागि मात्र होइन्, आफ्नो अखण्डताको खतरा सधैँ रुसबाट देख्दछ ।

यसको लागि उ भरपर्दो सुरक्षा कवचमा बस्न चाहन्छ । उसले सबैभन्दा भरपर्दाे कवच मानेको छ नेटोलाई । युक्रेन आफू जुनसुकै हालतमा नेटोको सदस्य बन्न चाहन्छ । युरोपका धेरै देशहरू नेटोमा संलग्न छन् । नेटो राष्ट्रभित्र एउटा गज्जबको गठबन्धन छ । नेटोको जुनसुकै देशमाथी आक्रमण भएको खण्डमा त्यसको कडा प्रतिकार गर्ने नेटो राष्ट्रहरूको सहमति बनेको छ । युक्रेन रुस वा अरु कुनै राष्ट्रबाट हुने जुनसुकै आक्रमणबाट सुरक्षित जोगिन चाहन्छ । युक्रेन आफ्नो स्वाधीनतामा रुसबाट खतरा महसुस गर्दछ । युक्रेनले पश्चिमी गठबन्धनमा सामेल हुने इच्छा प्रकट गर्नु पछाडिको कारण पनि यहि हो । युक्रेनको स्वतन्त्रता चाहनाले रुससँगको सम्बन्धलाई जटिल बनाउँदै गएको छ ।

सन् १९९१ मा युक्रेन सोभियत संघबाट अलग हुँदा उसँग आणविक हतियारको भन्डार थियो । अमेरिका र रुसको दबाबमा उसले ती हतियार रुसलाई सुम्पिएको थियो । त्यतीबेला उसको सुरक्षाको ग्यारेन्टी रुस र अमेरिकाले लिने प्रतिज्ञा गरेका थिए । आज युक्रेनले जुन तनाव झेलेको छ त्यसको मर्म युक्रेनलाई भन्दा बढ्ता कसलाई परेको होला र ? युक्रेन आज आफ्नो सुरक्षा र स्वतन्त्रताको लागि पश्चिमी देशहरूको भर परेको छ ।

रुसले युक्रेनको पश्चिमतर्फको झुकावलाई आफूको प्रभाव क्षेत्र गुमाउनुको रूपमा हेरेको छ । जब युक्रेन, युरोपीय संघ र नाटो जस्ता संस्थाहरुसँग नजिकिँदै जान थाल्यो तसै रुस युक्रेनसँग भड्किन थालेको हो । युक्रेनलाई नेटो सदस्य बनाउने अमेरिका र युरोपको योजना रुसलाई पटक्कै मन परेको थिएन । यसैको परिणाम थियो रुस युक्रेन युद्ध । रुस र अमेरिकाको सम्बन्ध बिग्रिएको मुख्य कारण नेटोको विस्तार योजना नै हो ।

पश्चिमी देशहरू युक्रेनको नाटो सदस्यता रुसको पश्चिमी विस्तार र प्रभावलाई नियन्त्रण गर्ने कदमको रूपमा हेर्दछन् । उनीहरू रुसको सामरिक दबदबा र प्रभावको विरुद्ध एक रणनीतिक कदमको रूपमा युक्रेनलाई नेटो र युरोपियन युनियनको सदस्य बनाउन चाहन्छन् । रुस आफूमाथिको घेराबन्दी ठान्दछ युक्रेनलाई पश्चिमी देशको साथ समर्थन । यिनै कारण हुन युक्रेन रुस युद्धका ।

युक्रेन रसिया युद्धले संसारभरि ठूलो तनाव र अनिश्चितता निम्त्याएको छ । यस संघर्षको प्रभाव केवल युक्रेन र रुससम्म मात्रै सीमित छैन, बरु यसले अन्तर्राष्ट्रिय स्तरमा अनेकौँ राष्ट्रहरूको रणनीतिक दृष्टिकोण र कूटनीतिक समीकरणलाई प्रभावित गरेको छ । युद्ध जारि छ । यो युद्ध कहाँ पुगेर रोकिन्छ, कसैलाई थाहा छैन । के युक्रेन युद्ध थामिन्छ त ? भन्न त त्यसै भनेका छन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ।

फेब्रुअरी २०२२ मा सुरु भएको रुस युक्रेन युद्धले दुई देशहरूलाई मात्र पिरोलेको छैन बरु यो युद्धले सिँगो विश्वलाई प्रभावित गरेको छ । रुस युक्रेन युद्धका पछाडी यी दुई देशबीच विद्यमान ऐतिहासिक, सामाजिक, राजनीतिक र सामरिक कारणहरू जोडिएका छन् । रुस र युक्रेन बीचको सम्बन्ध सदियौँ पूरानो हो । युक्रेन एकसमय रुसी साम्राज्यको अधिनमा थियो । पछि सोभियत संघको एक घटक थियो । सन् १९९१ मा सोभियत संघ विघटन भएपछि युक्रेन स्वतन्त्र भएको हो ।
युक्रेन पूर्वी युरोपको एक ठूलो देश हो । यसको पश्चिमी सीमा पोल्याण्ड, स्लोभाकिया र हंगेरीसँग, पूर्वी सीमा रुससँग र दक्षिणी सीमा काला सागरसँग जोडिएको छ । युक्रेनको क्षेत्रफल ६ लाख ३ हजार ५५० वर्ग किलोमिटर छ । युक्रेन युरोपको दोस्रो ठूलो देश (पहिलो देश रुस हो) हो । युक्रेनभन्दा साधनस्रोत सबै कुराले रुस विशाल र शक्तिशाली छ । संसारको सबैभन्दा ठूलो देश रुसको क्षेत्रफल १ करोड ७० लाख ७५ हजार ४२५ वर्ग किलोमिटर रहेको छ । यो युरोप र एसिया दुवै महादेशमा फैलिएको छ । यसको सीमा १४ वटा देशसँग जोडिएको छ । कुनैबेला सोभियत संघको प्रमुख राज्य थियो रुस । सोभियत संघको विघटनपछी रुस र युक्रेन सन् १९९१ मा स्वतन्त्र राष्ट्र बनेका थिए । रुसले सोभियत संघको विरासत पायो ।
रुसलाई एक शक्तिशाली परमाणु राष्ट्र, ठूलो प्राकृतिक संसाधन सम्पन्न भूमी र विश्व महाशक्ति देशको रूपमा विश्वले मान्दछ । नब्बेको दशकमा सोभियत संघ ढलेपछी अमेरिकाले रुसलाई एउटा सामान्य देशको हैसियतमा सोच्थ्यो ।

भोकमरीमा फसेको, अर्थव्यवस्था खल्बलिएको एउटा अस्थिर देश थियो रुस युरोपेलीको नजरमा । सबैको नजरबाट गिरेको अस्थिर र अव्यवस्थित देशको सूचीबाट उठाएर महाशक्ति देशको उचाइमा पु¥याउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले निकै मिहिनेत गरेका छन् । महत्वपूर्ण भूमिका निभाएका छन् । पुटिनले रुसी नागरिकमा राष्ट्रभक्तिको भावना जागृत गराएका छन् । धुलोमा पछारिएको रुसलाई उठाएका छन् । ट्रम्पलाई लागेको हुनुपर्छ आफ्नो लेबल मिल्ने नेता त पुटिन पो हुन अरु त आफूले हुर्काएका पालेका न हुन् । अनि किन गन्थे युरोपलाई । किन मान्थे जेलेन्स्कीलाई ।

दुईटै (अमेरिका रुस)ले अणुबम बोकेर बसेका छन् । आणविक बमको क्लाईमेक्स त विश्वले जापानमा देखिसकेको छ । युक्रेन युद्धमा दुवैले आफ्ना हतियारको परिक्षण गरे । अब हेर्नुपर्ने, मिलाउनुपर्ने के नै बाँकी छ र । पूराना साथी कतै भेटिएर घण्टौ कुरा गरेझैँ ट्रम्पले पुटिनलाई नब्बे मिनेट कुरा गरे । जेलेन्स्कीलाई सात मिनेट कुरा गरे । पहिलोपटक विश्व महाशक्तिको रूपमा रुस र अमेरिकाबीच वार्ता हुँदैछ । युरोप र युक्रेनको भविष्यसँग जोडिएको यत्रो मुद्दामा रुस र अमेरिका मात्र आपसी वार्तामा बस्दा युरोपले आफूलाई बेवास्ता गरेको ठानेको छ । जेलेन्स्कीले युरोपेली नेतालाई फोन गर्दै छन् । चाहे जेलेन्स्की होउन वा युरोपेली युनियन । ट्रम्पले कसैलाई भाउ दिइरहेका छैनन् । त्यसैपनि ट्रम्पलाई सन्की नेता मान्छ विश्वले । वार्तामा धेरैलाई मिलाउदा निर्णयमा पुग्न गाह्रो हुन्छ ।

ट्रमको कुराले रनभुल्लमा छन् सबै । ट्रम्पको व्यवहारले युरोप र युक्रेन असन्तुष्ट हुनु अचम्मको कुरा नमान्दा हुन्छ । कसैले माने पनि नमाने पनि एउटा बाटोको खाका भने कोरिदैँछ । मात्र सबैलाई एउटै डर छ भोलिको रुस कस्तो बन्छ भनेर । पुटिनमाथी आइसीसीको प्रतिबन्ध छ । उनी अन्यत्र जान सक्दैनन् । रुस र साउदी बीच राम्रो सम्बन्ध छ । अमेरिकाको पनि साउदीसँग राम्रो छ । दुवैले चीनेका साउदी राजकुमार । शान्तिवार्ताको लागि ट्रम्पले युरोप छानेनन् । जर्मनलाई सम्झिएनन् । फ्रान्सलाई सम्झिएनन् । बेलायतलाई भनेनन् । ट्रम्पलाई हतारो छ । डोनाल्ड ट्रम्पले मध्यपूर्व र युक्रेन युद्ध रोकाएर इतिहासमा आफ्नो नाम लेखाउन चाहन्छन् ।

वार्तामा पक्कै पनि लेनदेन हुनेछ । ट्रम्प र पुटिन मिलेपछी केके हुन्छ थाहा छैन । ट्रम्पको फोन आउनु नै पुटिनको जित हो भन्नेहरू भेटिन्छन् । रुस वार्तामा नबस्दै आफ्नो पक्षमा माहोल बनाइसकेको छ । राजनीतिक समीकरण कतै भत्किन्छ, कतै पुनर्निर्माण हुँदै जान्छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन ७ गते बुधबार