दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट सुरु



शेरबहादुर ऐर,कैलाली : दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगिता उद्घाटन गरिएको छ । छनोट प्रतियोगिताको परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले उद्घाटन गरिन् । आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दिपकबहादुर सिंहको अध्यक्षमा भएको उद्घाटन समारोहमा खो–खो र कबड्डीका खेलाडीहरूलाई नगद ५० हजारसहित सम्मान गरिएको छ ।

उद्घाटन समारोहका विशिष्ट अतिथिद्वय सामाजिक विकासमन्त्री मेघराज खड्का र सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले खेलाडीहरूलाई जनही ५० हजारसहित सम्मान गरे । सम्मानित हुने खो–खोका खेलाडीहरूमा खुस्बु राना, जोगेन्द्र राना, गणेश विक, वर्षा पण्डित तथा व्यवस्थापक कृष्णराज पनेरु र कबड्डी खेलाडी रामु टमट्टा र हरिश खत्री रहेका छन् । छनोट प्रतियोगिताको उद्घाटन भएपनि छनोटका खेलहरू भने आज (सोमबार)देखि सुरु हुने भएका छन् ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ७ सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन् भने ४५० जना निर्णायकहरू पनि सहभागी हुनेछन् । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको छनोट प्रतियोगितामा प्रदेशका २ हजार ८०० खेलाडी सहभागी हुँदैछन् । सुदूरपश्चिम प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा सहभागिता जनाउने भएको छ । त्यसका लागि प्रदेश छनोट प्रतियोगितामा महिला र पुरूष गरी ३१ खेल हुने सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव सिंहले जानकारी दिए ।

छनोट प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ । छनोट प्रतियोगिताका खेलहरू कैलाली र कन्चनपुरमा हुने छ । कैलालीको धनगढीमा फुटबल, भलिबल, एथलेक्टिस, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, खो–खो, उसु लगायत खेलहरू हुनेछन् । त्यसैगरी कन्चनपुरको महेन्द्रनगरमा कबड्डी, कुस्ती लगायतका खेलहरू हुनेछन ।

छनोट प्रतियोगितामा अछामबाट १४१, बझाङबाट २६३, बैतडीबाट २०२, डोटीबाट २९४, बाजुराबाट २३९, दार्चुलाबाट २३६ डडेल्धुराबाट २४३ कैलालीबाट ४३१ र कन्चनपुरबाट ४२३ जना खेलाडी गरी २ हजार ४ सय ६३ जनाले प्रतियोगितामा भाग लिँदैछन् ।

३१ मध्ये १६ वटा खेलको प्रतियोगिता हुने छ । छनोट हुने खेलमा बास्केटबल महिला, कुस्ती, आईटिएफ तेक्वान्दो, सुटिङ, जुडो, रब्बी, भारत्तोलन, हेन्डबल महिला रहेका छन् । १० वटा खेलका खेलाडीले दशौँ राष्ट्रिय खेलकुदमा हक्की, आर्चरी, साइक्लिङ, सफटेनिस, पौडी, शारीरिक सुगठन, सेपाक ताक्क्रो, फेन्सिङ, लङ टेनिस, जिम्नास्टिक खेलका खेलाडीले सहजै दशौँ राष्ट्रिय खेलकुदमा सहभागि जनाउन पाउने छन् । प्रदेश छनोट प्रतियोगितामा प्रथम मेडल ३३२, द्वितीय मेडल ३२०, तृतीय मेडल ४५६ गरी १ हजार १९८ वटा मेडल रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २८ गते सोमबार