बाँके ।
बाँकेको राप्ती सोनारी गाउँपालिकामा प्रथम राप्ती सोनारी कृषि, व्यापार एवम् पर्यटन महोत्सव २०८१ हुने भएको छ ।
राप्ती सोनारी उद्योग बाणिज्य संघको आयोजनामा पहिलोपटक फागुन १ गतेदेखि ११ गतेसम्म महोत्सव हुन गइरहेको हो । आयोजक राप्ती सोनारी उद्योग बाणिज्य संघले शुक्रबार पत्रकार सम्मेलन गरेर वडा नम्बर ५ मा रहेको बिनौना रंगशालामा महोत्सव सञ्चालन हुने जानकारी दिएको थियो । संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक टीकाराम ढुङ्गानाले महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिए ।
‘महोत्सवमा स्थानीय उत्पादन प्रमुख आकर्षण हुनेछन्’ उनले भने, ‘स्थानीय उत्पादनलाई नै प्रचारप्रसार र प्रवद्र्धन गर्नेगरी महोत्सव गर्न लागेका हौँ ।’ राप्ती सोनारीमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत अवलोकन गराउने लक्ष्य राखिएको संयोजक ढुङ्गानाले बताए ।
उनका अनुसार महोत्सव अवलोकन गर्न आउनेलाई बर्फानी बाबा मन्दिर, सन्तानेश्वर मन्दिर, निकुञ्जको हात्तीसार, सिक्टाको बाँधस्थल लगायतका स्थल अवलोकनमा जानका लागि अनुरोध गरिनेछ । महोत्सवमा १२० बढी विभिन्न स्थलहरू राखिने आयोजक राप्ती सोनारी उद्योग बाणिज्य संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्