नेपालगन्ज ।
नेपालगन्जदेखि बर्दियाको ठाकुरद्वारासम्मको साइकल यात्रा ‘टुर दी ठाकुरद्वारा’को सातौँ संस्करण सुरु भएको छ । नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा सुरु भएको दुई दिने यात्रा शुक्रबार बिहान नेपालगन्जको वागेश्वरी मन्दिर परिसरबाट सुरु भएको थियो । यात्राको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले उद्घाटन गरेका थिए ।
उक्त अवसरमा मन्त्री न्यौपानेले उक्त इभेन्टलाई मुगुको रारा तालसम्म एड्भेन्चरल साइकल टुरका रुपमा अगाडि बढाउने प्रतिबद्धता भए आगामी वर्ष प्रदेश सरकारका तर्फबाट बजेट छुट्याउने घोषणा गरेका छन् । मन्त्री न्यौपानेले साइकल यात्राले स्वस्थ वातावरण र स्वस्थ शरीरको महत्वलाई उजागर गर्ने र पर्यटनलाई पनि प्रवद्र्धन गर्ने धारणा व्यक्त गरे ।
उद्घाटनका अवसरमा बाँकेबाट निर्वाचित संघीय सांसद डा.धवलशमशेर राणा, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राईलगायतको पनि सहभागिता थियो । सांसद राणाले पनि टुर दी ठाकुरद्वारालाई अझ फराकिलो बनाउँदै रारासम्म विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।
यसपटकको साइकल यात्रामा नेपाल, भारत र चीनका गरी दुई सय जना महिला र पुरुष साइकल यात्री सहभागी रहेको आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदिप सापकोटाले जानकारी दिए । जसमा भारतबाट २९ जना र चीनबाट एक जना साइकल यात्री रहेको उनले बताए ।
साइकल यात्राको दूरी करिब एक सय किलोमिटर रहेको छ । नेपालगन्जको वागेश्वरी मन्दिर परिसरबाट सुरु भएको यात्रा त्रिभुवन चोक, वीपी चोक, सुर्खेतरोड हुँदै कोहलपुर, केदारेश्वर धाम, सतखलुवा सिमसार क्षेत्र हुँदै पूर्वपश्चिम राजमार्गमा पर्ने विभिन्न तथा धार्मिक पर्यटकीय स्थलको भ्रमण गर्दै ठाकुरद्वारा मन्दिर पुग्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्