साबित्री गिरी ।
कुष्ठरोग मानवजातीमा हजारौँ वर्ष पहिलेदेखि देखापरेको संक्रमण हो । यो रोगको अंग्रेजी नाम ल्याटिन शब्द ‘लेप्रो’ को विकसित रुप हो । त्यही भएर यसलाई ‘ल्याप्रोसी’ भनिन्छ । नर्वेका डाक्टर÷वैज्ञानिक गेरहार्ड हेनरीक अर्मर ह्यान्सनले सन् १८७३ मा कुष्ठरोगको किटाणु पत्ता लगाएका थिए । त्यही कारण यो रोगलाई कतिपय मुलुकमा ‘ह्यान्सन्स् डिजिज’ पनि भनिन्छ ।
यो अन्य रोग जस्तो खतरनाक सरुवा रोग नभएपनि यसबाट मानिसका शरीरमा उत्पन्न हुने असमान्य अवस्थाका कारण परम्परागत रूपमा रोगलाई पूर्व जन्मको पापका रूपमा लिने गरिन्थ्यो । यो रोग प्रति नकारात्मक सोचाइका कारण रोगीहरू सामाजिक बहिस्कारमा पर्ने गरेका थिए । बाँकेमा कुष्ठरोगको प्रभावदर उच्च देखिएको छ । जसका कारण निवारण नै चुनौतीपूर्ण देखिएको छ । नेपाल कुष्ठरोगको प्रभाव दर उच्च रहेको देशहरू मध्ये एक हो । हाल नेपालमाप्रति वर्ष २५०० सङ्ख्याको हाराहारीमा नयाँ कुष्ठरोगी बिरामी पत्ता लाग्ने तथ्यांक छ ।
उसो त नेपालले सन् २०१० मा नै राष्ट्रिय स्तरमा कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गरिसकेको छ तर प्रदेश र जिल्ला स्तरमा हेर्ने हो भने स्थिती भयावह नै देखिन्छ । नेपालको ७ वटा प्रदेश मध्ये ३ वटा प्रदेशमा अझपनि कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गर्न सकिएको छैन । प्रदेश स्तरमै निवारणको अवस्था प्राप्त गर्न नसकेको प्रदेशहरूमध्ये लुम्बिनी प्रदेश पनि एक हो ।
आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार जिल्लामा कुष्ठरोग प्रति १० हजार जनसङ्ख्यामा १ भन्दा उच्च रहेको छ । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा जिल्लामा ५८ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको कुष्ठरोग प्रेषण अस्पतालका रूपमा रहेको बाँकेको जानकी–३ स्थित आईएनएफ साइनिङ अस्पतालका अनुसार नयाँ फेला परेका विरामीमध्ये बाँकेका २३ जना, बर्दियाका १५ जना र अरु अन्य जिल्ला तथा सीमापारीका छन् ।
साइनिङ अस्पताल प्रमुख मंगल थारुका अनुसार बहिरंग सेवामा ९ हजार ६१४ जनाको जाँच गर्दा ५८ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्सन रवीन्द्र शाहका अनुसार चालु आवको साउनदेखि मङ्सिरसम्मको समय अवधिमा पाँच महिनामा ३६ जना नयाँ कुष्ठरोगीका बिरामी फेला परेका छन् । तीमध्ये कोहलपुरका १०, नेपालगन्जका ८, डुडुवा ५, राप्तीसोनारी ४, जानकी ३ तथा बैजनाथ, खजुरा र नरैनापुरका २/२ जना छन् ।
आज ७२औँ विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष झैँ यस वर्ष पनि विश्व कुष्ठरोग दिवस मनाउन लागिएको हो । यस वर्षको विश्व कुष्ठरोग दिवस २०८१ माघ १३ गते (२०२५ जनवरी २६) आइतबार परेको छ । विश्व कुष्ठरोग दिवस आफैँमा एउटा महत्वपूर्ण दिन हो । यो दिन कुष्ठरोग सम्बन्धी सबै सरोकारवाला निकायहरू एकताबद्घ हुने ऐक्यबद्घता जनाउने आफूले गरेको उपलब्धि र भावी योजनाहरू मनन गर्न समुदायस्तरमा जनचेतना जगाउने जस्ता महत्वपूर्ण कार्यका लागि खास रूपमा मानिन्छ । ‘७२औँ विश्व कुष्ठरोग दिवस भव्यरूपमा सफल पारौँ, एकताबद्घ भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी बनौँ’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।
यस्ता कार्यक्रमले कुष्ठरोग सम्बन्धी भ्रमजन्य परम्परागत मान्यता तोड्न यो दिवसले पनि महत्वपूर्ण काम गर्छ । अझ नयाँ पुस्ताले कुरीतिजन्य सवालका मामलामा प्रतिवाद गर्नुपर्छ । सरकारले पनि ‘कुष्ठरोग मुक्त समाज’ घोषणा गरिसकेको छ । कुष्ठरोग सास फेर्दा, बोल्दा, हाच्छिऊँ गर्दा वा खोक्दा निस्कने मसिना कर्णहरू वा थोपाहरूको माध्यमबाट सर्छ भन्ने विश्वास छ । तर यो रोग त्यति धेरै संक्रामक मानिंदैन । यो एक प्रकारको जीर्ण संक्रमण हो । यो रोग ‘माइकोब्याक्टेरियम लेप्रे’ र ‘माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस’ जीवाणु ‘ब्याक्टेरिया’को संक्रमणको कारणले लाग्छ । संक्रमणको सुरुवातमा कुनै लक्षण देखा नपर्न पनि सक्छ । कतिपय संक्रमित व्यक्तिहरूलाई पाँचदेखि २० वर्षसम्म पनि खासै प्रभाव देखिदैन ।
कुष्ठरोग ‘पौसिबेसिलरी’ र ‘मल्टिबेसिलरी’ अथवा सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ । त्यही भएर कतिपय प्रभावित मानिसहरूले चेतनाको अभावमा उपचारमा हेलचेक््रयाइँ गर्दा बिरामीको अवस्था नाजुक भई मृत्यु समेत हुने गरेको पाइन्छ । कुष्ठरोगका यी दुई वटा प्रकारलाई शरीरमा कति वटा वास्तविक रङ गुमेको अथवा शरीरमा स्पर्श शक्ति हराएमा वा फुस्रो दाग छ भन्ने आधारमा छुट्टाइन्छ । ‘पौसिबेसिलरी’मा पाँच वा सो भन्दा कम धब्बा दागहरू हुन्छन् भने ‘मल्टिबेसिलरी’मा पाँच वटा भन्दा बढी हुन्छन् । कुष्ठरोग सास फेर्दा, बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्कने मसिना कर्णहरू वा थोपाहरूको माध्यमबाट सर्छ भन्ने विश्वास छ । तर यो रोग त्यति धेरै संक्रामक मानिदैन ।
नेपाल कुष्ठरोग मुक्त मुलुक घोषणा भइसके पनि यस प्रकारका रोगको लक्षण देखिएका मानिसहरूले सामाजिक तथा पारिवारिक ग्लानी महसुस गरी उपचार प्रक्रियामा सहभागी नभएका उदाहरणहरू प्रशस्तै भेटिन्छन् । त्यही भएर बेला–बेलामा कुष्ठरोग संक्रमित व्यक्तिहरू देखा पर्दै आइरहेको पाइन्छ ।
विशेषगरी तराईका जिल्लाहरूमा अझै पनि कुष्ठरोगीहरू भेटिन्छन् । मानिसमा उपचार गरे निको हुन्छ भन्ने विश्वास दिलाउन अझ प्रभावकारी अभियानहरू सञ्चालन गर्नु आवश्यक देखिन्छ । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखापर्ने, हात खुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसुस हुँदै जानु कुष्ठरोगका लक्षण हुन् । कुष्ठरोगलाई पूर्णरूपमा निर्मूल पार्न सरकारले रोगीहरूको स्वास्थ्यउपचार केन्द्रसम्म पहुँच होस् भन्ने मनसायले भत्ताको समेत व्यवस्था गरेको छ ।
नेपालले सन् २०१० मै कुष्ठरोग निवारणको राष्ट्रिय लक्ष्य प्राप्त गरे पनि बाँकेमा प्रभावदर बढ्दै गएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बताएका छन् । बाँकेमा प्रत्येक वर्ष बढ्दै गइरहेको कुष्ठरोग निवारणका लागि राज्यबाट आवश्यक योजना तथा बजेट विनियोजन नहुनु, प्राथमिकतामा नपर्नु दुःखको विषयहो ।
पछिल्ला दिनमा कुष्ठ रोगीहरू प्रति हुने गरेको भेदभावमा कमी आएपनि यस्तो भेदभाव पूर्णरूपमा अन्त्य हुन सकेको छैन । तर जनचेतनाको विस्तारसँगै मानिसहरूमा विद्यमान त्यस्तो धारणा भने हट्दै जान थालेको पाइन्छ । त्यही भएर समाजको दृष्टिकोण परिवर्तन नगरी यस रोगका विरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्न नसकिने बुझाइ पनि छ । त्यहीकारण कुष्ठरोग सम्बन्धी चेतनामूलक कार्यक्रमलाई अझ बढी प्राथमिकता सञ्चालन गर्ने सरकारी नीति पनि छ ।
प्रतिक्रिया दिनुहोस्