जानकीद्वारा ९ सय थान कम्बल वितरण



बाँके ।

बाँकेको जानकी गाउँपालिकाले ज्येष्ठ नागरिक, विपन्न र असहाय तथा अपांगता भएका व्यक्तिलाई कम्बल वितरण गरेको छ । जाडो मौसममा चिसोले ज्येष्ठ नागरिक, विपन्न र असहाय तथा अपांगता भएका व्यक्तिहरू बिरामी पर्न थालेपछि गाउँपालिकाले कम्बल वितरण सुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले गाउँपालिकाका नागरिकहरूलाई लक्षित गरेर वितरण सुरु गरिएको बताए । प्राविधिक कारणले कम्बल वितरण गर्न ढिला भए पनि आगामी दिनमा यस्तो समस्या नदोहोरिने अध्यक्ष खाँले बताए । नागरिकका समस्या समाधानका लागि अन्य सेवा सुविधाहरू थप गर्दै जाने उनले बताए ।

प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकले जानकी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने असहाय, अपांगता भएका, ज्येष्ठ नागरिक सबैलाई सम्मानस्वरूप केही गर्नुपर्छ भन्ने उद्देश्यले वितरण सुरु गरिएको बताए । उनका अनुसार स्थानीय सरकार घरदैलोमै छ भन्ने महसुस होस् भनेर कम्बल वितरण अभियान सुरु गरिएको छ । गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्मका ज्येष्ठ नागरिक, विपन्न र असहाय तथा अपांगता भएका व्यक्तिलाई ९ सय थान कम्बल वितरण गरिने उनको भनाइ छ ।

गाउँपालिका वडा नम्बर २ बाट अभियान सुरु गरेको छ । गाउँपालिकाका अध्यक्षसहितका सरोकारवालाहरूको उपस्थितिमा वितरण सुरु गरिएको थियो । उक्त अवसरमा बोल्दै अपांगता भएका व्यक्तिका बुबा जानकी–२ बेलभारका सहजराम कोरीले कम्बल पाएर धेरै खुशी भएको बताए । आगामी दिनमा पनि अरू सेवा सुविधा बढाइदिन उनले आग्रह गरेका थिए ।

कम्बल वितरण कार्यक्रममा अध्यक्ष खाँ, प्रमुख प्रशासकीय अधिकृत विक, सामाजिक विकास समितिका संयोजक रामआचल धोबी, योजना शाखाकी प्रमुख शोभा पौडेल, प्रशासन प्रमुख गोपीचन्द्र चौलागाई, पालिकाका कर्मचारीलगायत स्थानीयबासीहरूको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रबार