‘बाँके–बर्दियालाई कर्णालीमा गाभ्ने कुरा बेमौसमी’



लुुम्बिनी प्रदेश सभा बैठकमा बोल्दै एमालेका सांसद दुर्गाप्रसाद चौधरीले बाँके–बर्दियालाई कर्णालीमा गाभ्ने कुरा बेमौसमी रहेको बताए । नेपाली कांग्रेसका सांसद बादशाह कुर्मी र जसपाका सांसद भण्डारीलाल अहिरले सिक्टाको उल्झनदेखि राप्ती कटानका दुःखसम्मका कथा बैठकमा सुनाएका थिए ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

अहिले लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन चलिरहेको छ । अधिवेशनमा प्रदेशका विविध विषयमा छलफल भइरहेको छ । बैठकमा प्रदेश सभा सदस्यहरूले आफ्नो जिल्लाका समस्या, सरकारका काम कारबाही र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । सोही अनुसार लुम्बिनी प्रदेश सभाको अधिवेशनको सातौँ बैठकमा बाँके जिल्लाबाट निर्वाचित सांसदहरूले गम्भीर विषय उठान गरेका छन् ।

अधिवेशनमा उनीहरूले बाँके–बर्दियालाई कर्णालीमा गाभ्ने विषयदेखि सिक्टा सिँचाइ आयोजनाको उल्झन र राप्ती कटानका विषय जोडदार रूपमा आवाज उठाएका हुन् । पाँचौँ अधिवेशनको सातौँ बैठकमा बोल्दै एमालेबाट निर्वाचित बाँके प्रदेश सभा निर्वाचन १ ‐२) का सांसद दुर्गाप्रसाद चौधरीले बाँके र बर्दियाका प्रतिनिधि सभाका सांसदहरूले बाँके–बर्दियालाई कर्णालीमा गाभ्ने कुरा बेमौसमी भएको भन्दै विरोध जनाएका थिए ।

उनले भने, ‘संघीय सांसदहरूले बाँके–बर्दियालाई कर्णालीमा मिसाउनुपर्छ भनिरहनुभएको छ । बाँकेका सूर्य ढकाल, किशोरसिंह राठौर र बर्दियाका सञ्जय गौतमले भनिरहनुभएको छ । यो बेमौसमको कुरा किन आइरहेको छ ? मलाई आश्चर्य लागिरहेको छ ।’ लुम्बिनी प्रदेश सांसद चौधरीले आफू यो मुद्दाको विपक्षमा रहेको बताए ।

नेताहरूले २०८४ को निर्वाचनलाई केन्द्रित गरेर चुनावी एजेन्डाको रूपमा यो मुद्दा उठाइरहेको उनको आरोप थियो । प्रतिनिधि सभा सदस्यहरूले उठाइरहेको बाँके बर्दियालाई कर्णालीमा गाभ्ने विषय राजनीतिक व्यापारीहरूको खेलमात्रै भएको सांसद चौधरीको भनाइ छ । उनले थपे, ‘बाँके–बर्दियामा थारू र मधेशी समुदाय मूलबासीका रूपमा रहेका छन् । अन्य प्रदेशमा गाभ्ने कुरा उनीहरूको भावनाको मर्मविपरीत रहेको छ । हामी यो कुराको समर्थन गर्ने सक्दैनौँ ।’ बाँके बर्दियालाई लुम्बिनीबाट कर्णालीमा लैजान विभिन्न रूपमा खेल्ने काम भइरहेको उनले बताए । यस विषयमा लुम्बिनी प्रदेश सभासमेत सचेत रहन आवश्यक रहेकोमा सांसद चौधरीको जोड थियो ।

फरक प्रसंगमा उनले लुम्बिनी प्रदेश सरकार पुँजीगत बजेट कार्यान्वयनमा असफल भएको बताए । सरकार आफूले ल्याएको बजेट पनि कार्यान्वयन नगर्ने मनसायमा देखिएको उनको भनाइ थियो । उनले भने, ‘खोलाहरूमा डनहरूको रजाइँ छ । सरकारले तिनीहरूलाई भिटामिन खुवाइरहेको छ कि के गरिरहेको छ ?’

यस्तै, नेपाली कांग्रेसबाट निर्वाचित बाँके प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ (२) का सांसद बादशाह कुर्मीले आफ्नो निर्वाचन क्षेत्रको शिक्षा, स्वास्थ्य र रोजगारको विषय उठान गरेका थिए । उनले सरकारी र संस्थागत विद्यालयबीच अहिले आकाश र पातालको फरक भएको भन्दै शिक्षामा एकरूपकता ल्याउन शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको बताए । अधिवेशनमा उनले भने, ‘एकपटक म पनि विव्यसको अध्यक्ष भएको थिएँ । विव्यस छनौट प्रक्रिया गलत छ । राजनीतिकरण भएको छ । त्यसमा समस्या छ । विव्यसको अध्यक्षको जिम्मा अब वडाध्यक्षलाई दिनुपर्छ ।’

यसैगरी, प्रदेश सभा सदस्य कुर्मीले वडास्तरमा स्वास्थ्य चौकीको भवनमात्रै भएको र सुत्केरी हुँदा बेडसमेत नपाउने समस्याको समाधान सरकारले गर्न नसकेको बताए । ‘सरकारले मातृशिशु कार्यकर्ता स्थानीय तहमा हुने भनेको थियो । निःशुल्क औषधी दिने भनेको छ । स्वास्थ्य चौकी जाँदा सिटामोलबाहेक केही पनि पाइँदैन,’ उनले भने ।

उनले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिक्टा सिँचाइ आयोजना बन्न लागेको २० वर्ष पुग्दा पनि अझै पूरा नहुनु दुःखद् विषय भएको बताए । यस्तै, डुडुवा नहरसमेत नचल्दा त्यहाँका नागरिकले दुःख पाइरहेको उनले भनाइ थियो ।
‘नहर मर्मत पनि भएको छैन । सुविधासमेत कटौती गरिएको छ । मुआब्जा वितरण हुन सकेको छैन । प्रदेश सरकारले ध्यान दिनुपर्छ,’ प्रदेश सभा सदस्य कुर्मीले भने । उक्त अवसरमा उनले बर्दियामा निर्माणाधीन उखु मिल छिटो बन्नुपर्ने माग गरेका थिए ।

यस्तै अर्का जसपाबाट निर्वाचित प्रदेश सांसद भण्डारीलाल अहिरले बाँके जिल्लाका नरैनापुर, राप्तीसोनारी र डुडुवा नदी कटानबाट प्रभावित भएको बताए । ‘लक्ष्मणपुर बाँधका कारण प्रत्येक बर्खामा त्यहाँ डुबान हुने गरेको छ । हजारौँ नागरिक प्रभावित हुने गरेका छन्,’ सांसद अहिरले भने, ‘यसको दीर्घकालीन समाधानका लागि कसैले पनि ध्यान दिन सकेन । त्यहाँका जनताले दुःख पाइरहेका छन् ।’

बर्सेनि हजारौँ बिघा जमिन राप्ती नदीले कटान गर्दा किसानहरू भूमिहीन बन्न पुगेको उनको भनाइ थियो । यस्तै उनले लुम्बिनी प्रदेश सरकारले दश महिना पुग्दासमेत बजेट कार्यान्वयन हुन नसकेको र दर्जनौँ योजना बजेट अभावमा अलपत्र अवस्थामा पुगेको बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रबार