बर्दगोरियाले सञ्चालनमा ल्यायो निःशुल्क महाप्रस्थान यान



मानिसको स्वर्गारोहणपछि पार्थिव शरीरलाई दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले बुधबारबाट निःशुल्क महाप्रस्थान यान (शव बाहन) सञ्चालनमा ल्याएको छ । यान सञ्चालन भएसँगै शोक र पीडाका बीच शवलाई घाटसम्म लैजान सवारी साधन खोज्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

कैलाली ।

मानिसको स्वर्गारोहणपछि पार्थिव शरीरलाई दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले बुधबारबाट निःशुल्क महाप्रस्थान यान (शव बाहन) सञ्चालनमा ल्याएको छ । यान सञ्चालन भएसँगै शोक र पीडाका बीच शवलाई घाटसम्म लैजान सवारी साधन खोज्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

बुधबार महाप्रस्थान यान (शव बाहन) सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले विपन्न नागरिकहरूका लागि यो यान निकै प्रभावकारी हुने बताए । ‘मृत्यु सत्य हो । हामी पनि एक दिन जानु नै छ । संसारमा रहँदासम्म दुःख गरेको र पाएको मानिसले मृत्यु परन्तु पनि दुःखै पाएको अवस्था थियो ।

असहज रूपमा ट्र्याक्टरमा, कतिपय त त्यसैमा दाउरा पनि बोकेको देखेको छु । बाहन नहुँदा शवले दुःख पाउने, किरिया बस्ने र अन्य आफन्तले अनावश्यक दुःख पाउने, शव यात्रा गर्न गाह्रो हुने अवस्था थियो । यस्ता समस्यालाई समाधान गर्न हामीले पालिकाभरिका लागि निःशुल्क रूपमा शव बाहन सञ्चालन गरेका हौँ,’ उनले भने ।

किरिया खर्च १० हजार

बर्दगोरिया गाउँपालिकाले महाप्रस्थान यान (शव बाहन) सञ्चालन गरेसँगै मृतकको काजकिरिया खर्च बापत १० हजार रूपैयाँ पनि उपलब्ध गराउने भएको छ । अति विपन्न परिवारका आफन्तले काजकिरिया गर्नसमेत गाह्रो हुने अवस्थाको अन्त्य गर्न गाउँ सरकारले यो रकम उपलब्ध गराउने जनाएको छ ।

‘सरकार भनेको जनताको दुःखको सारथि बन्नुपर्छ भन्ने हाम्रो सोच छ,’ पालिका अध्यक्ष कुँवरले भने, ‘किरिया खर्चबापत १० हजार रूपैयाँ दिने निर्णय गरेका छौँ । यद्यपि यसको कार्यविधिलगायतका अन्य प्राविधिक कुराहरू चाँडोभन्दा चाँडो अघि बढाएर जनतालाई सेवा दिन लागिपरेका छौँ ।’

निःशुल्क शव बाहन र किरिया खर्चबापत १० हजार पनि पाउने भएपछि आफन्त गुमाएको शोकमा डुबेका परिवारलाई केही मल्हमको काम गर्ने अपेक्षा गरिएको छ । स्थानीयबासीले सरकार भएको अनुभूति गरेको भन्दै यसलाई संघीयताको उपलब्धिका रूपमा अथ्र्याएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रबार