श्यामलाल पोखरेल । बुटवल ।
रून्देहीको सिद्धार्थ नगरपालिका स्थापना भएको ५७औँ वर्ष पुगेको छ । विसं २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट हालको नगरपालिका स्थापना भएको थियो । सिद्धार्थ नगरपालिकाले आफ्नो स्थापना दिवस विशेष महत्वका साथ स्थानीय बिदासमेत दिएर मनायो । नगपालिकाले स्थापना दिवसका अवसरमा भैरहवाको महेन्द्र सभागृहमा विशेष कार्यक्रमको आयोजना गरी स्थापाना दिवस मनाएको हो ।
उक्त स्थापना दिवस कार्यक्रममा बोल्ने सरोकावालाहरूले सिद्धार्थनगर नगरपालिका सम्भावित नगरपालिका भएकाले औद्योगिक पर्यटकीय नगरको रूपमा विकास गर्नका लागि सोही अनुसारका नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका छन् । सिद्धार्थनगर नगरपालिकाभित्रको क्षेत्र आफैँमा औद्योगिक क्षेत्रको रूपमा विस्तार भएको र सँगै अन्तर्राष्ट्रियस्थल लुम्बिनी, अन्तर्राष्ट्रिय विकानस्थल र भारतसँग सीमा जोडिएकाले औद्योगिक र पर्यटकीय हबको रूपमा सजिलै विकास गर्न सकिने उनीहरूको तर्क छ ।
शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि सिद्धार्थनगर अब्बल नै रहेकाले अहिलेको अवस्थाबाट अझै विकासको पथमा लैजान सही प्रकारका नीति तथा कार्यक्रम बनाउन तीनै तहका सरकारसँग माग गरे । कार्यक्रममा बोल्दै रूपन्देही जिल्ला समन्वय समितिका सभापति उमाकान्त चपाईंले दीर्घकालीन योजनाका साथ विकासका आयोजनाहरूलाई अघि बढाउन सुझाव दिए । नगरपालिकाले गरेका कामको प्रशंसा गर्दै उनले भने आर्थिक, सामाजिक र पर्यटकीय विकासमा बढी जोड दिन नगरपालिकालाई सुझाव दिए । भारतसँग सीमा जोडिएका कारण पर्यटनको सम्भावना रहेको उल्लेख गर्दै जनप्रतिनिधिहरूले काम गर्न सकेमा सिद्धार्थनगर नमुना नगर बनाउन सकिने बताए ।
सिद्धार्थनगर प्रमुख इश्तियाक अहम्मद खाँले स्वास्थ्य, शिक्षा, पर्यटन, उद्योग–व्यापार, वातावरण तथा सरसफाइलगायतका क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको बताए । उनले आन्तरिक र बाह्य पर्यटकको आगमनलाई बढाउने गरी नगरलाई सफा र हराभरा बनाउने गरी काम भएको बताउँदै निजी क्षेत्र र आमनगरबासीको भावनालाई कदर गरेर काम गरेको दाबी गरे ।
भैरहवामा बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार रहेकाले पर्यटकको आउने सम्भावना रहेको उल्लेख गर्दै सीमानजिकै रहेकाले भारतीय पर्यटक भित्र्याउने गरी सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाए । बुटवल उपमहानगरपालिकाका प्रमुम खेलराज पाण्डेले जनताको भरोसा स्थानीय सरकारमाथि भएको बताउँदै नागरिकलाई छिटो छरितो सेवा प्रवाह गर्न आवश्यक रहेको बताए ।
स्थानीय सरकारहरूले भौतिक, मानवीय र अन्य विकासले गर्दा जनताले विश्वास गरेको उल्लेख गर्दै उनले जनताको भरोसा र विश्वासलाई सम्मान गरेर काम गर्नुपर्ने बताए । शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद ढकालले सिद्धार्थनगर पर्यटनका लागि नै बनेको नगर भएकाले औद्योगिक क्षेत्र र पर्यटनको क्षेत्रलाई प्रमुख बनाएर काम गरे सिद्धार्थनगर नगरपालिका उत्कृष्ट नगर बन्ने बताए ।
सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले नगरपालिकाले पर्यटन, कृषि, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको बताउँदै कामअनुसार परिणाम देखिएको दाबी गरिन् । नगरपालिकाको टिमवर्कका कारण धेरै राम्रा र सकारात्मक कामहरू गरिएको उनको भनाइ छ । अपुरा रहेका केही काम क्रमशः गर्दै जाने उनले बताइन् । बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रीदेवी अर्याल र कपिलवस्तु बाणगंगा नगरपालिका उपप्रमुख रिताकुमारी चौधरीले औद्यौगिक विकास र पर्यटनको विकासमा सिद्धार्थनगरसँग समन्वय र सहकार्य गेरर काम गर्न सकिनेमा जोड दिइन् ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, पूर्व नगर प्रमुखहरू हरिप्रसाद अधिकारी र सागरप्रताप राणा, नेकपा एमाले सिद्धार्थनगर अध्यक्ष चक्रबहादुर थापा, प्राध्यापक डा.गितु गिरी, नेपाल पत्रकार महासंघ रूपन्देही अध्यक्ष दिनेश पाण्डेयले आमजनताको भावना अनुसार जनपक्षीय काम गरेर देखाउने सुझाव दिए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–६ का वडाध्यक्ष वीरेन्द्रनाथ श्रीवास्तव, ४ का वडाध्यक्ष मुक्तिनाथ यादव, २ का छेदीलाल श्रीवास्तव, सिद्धार्थ उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष नेत्रप्रसाद आचार्य, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपाने, सिद्धार्थ सञ्जाल, रूपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीलगायतले बोल्दै स्थानीय सरकारले जनताप्रति जबाफदेही भएर काम गर्नुपर्ने बताउँदै उनीहरूले भने जनताको आशाको केन्द्रविन्दु भनैकै स्थानीय सरकार हुन् । स्थापना दिवसको अवसरमा तीन पटक वा सोभन्दा बढी पटक वडाध्यक्षमा निर्वाचित पूर्व तथा वर्तमान वडाध्यक्षहरू भीमसेन कर्माचार्य, शेषकान्त भण्डारी, दीलिपकुमार यादव तथा पूर्वनगर प्रमुख, उपप्रमुखहरूलाई सम्मान गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत जनक थापासहित विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिका साथै समाजसेवीहरूलाई समेत सम्मान गरिएको थियो । नगरलाई सबैभन्दा बढी कर बुझाउने भैरहवा मेडिकल कलेज र व्यक्तिगततर्फ बढी कर बुझाउने गोमादेवी पौडेल उप्रेतीलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी गराए ।
स्थापना दिवसको मूल समारोहअघि भैरहवाका ४० भन्दा बढी संघसंस्थाको सहभागितामा नगरपालिकाको कार्यालयदेखि महेन्द्र सभागृहसम्म प्रभातफेरी निकालिएको कर्मचारी प्रशासन महाशाखाका प्रमुख देव ज्ञवालीले जानकारी दिए । विसं २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट स्थापना भएको हालको नगरपालिका तत्कालीन श्री ५ को सरकारद्वारा १० हजार ७ जनसङ्ख्या भएको क्षेत्रलाई २०२४ माघ २२ गते भैरहवा नगर पञ्चायतको नामबाट स्थापना गरिएको थियो ।
स्थापनाको प्रमाण स्वरूप अदालतमा प्रकाशित राजपत्र फेला परेपछि सोही राजपत्रको आधारमा माघ २२ गतेलाई स्थापना दिवसको रूपमा मनाउन थालिएको सिद्धार्थनगरका नगर प्रमुख प्रमुख इश्तियाक अहम्मद खाँले बताए । स्थापना दिवसको अवसरमा नगरपालिकाले क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो । स्थानीय जनप्रतिनिधि, कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण क्रिकेट र महिला जनप्रतिनिधि र महिला कर्मचारीबीच फुटसल प्रतियोगिता आयोजना गरिएको थियो । उक्त खेल प्रतियोगिताका उत्कृष्ट टिम तथा खेलाडीहरूलाई पुरस्कृत तथा सम्मानसमेत गरिएको थियो ।
नगर प्रमुख खाँद्वारा धन्यवाद ज्ञापन
सिद्धार्थनगर नगरपालिकाले ५७औँ स्थापना दिवस सफल पार्न सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापन गरेको छ । नगर प्रमुख इस्तियाक अहमद खाँले विज्ञप्ति जारी गरी स्थापना दिवस सफल पार्न सहयोग गर्ने, आमनगरबासी, प्रमुख अतिथि, विशिष्ट अतिथि, कार्यक्रमका सहभागी र सहयोगी जनप्रतिनिधि, राजनीतिक दल, संघसंस्था, शिक्षक, कर्मचारी, विद्यार्थी, बुद्धिजीवी, सुरक्षा निकाय, सञ्चारकर्मी, नागरिक समाजलगायत सबैलाई धन्यवाद ज्ञापन गरेका हुन् ।
‘नगरको विकास र सुन्दरीकरणमा हातेमालो गर्न चाहनुहुने यहाँहरू जस्तै सकारात्मक सोचका धनीहरूको सहयोगले कार्यक्रम सफल भएको हो,’ नगर प्रमुख खाँले भनेका छन् । नगर प्रमुख खाँले आगामी दिनमा पनि आम नगरबासीबाट यसरी नै सहभागिता र रचनात्मक सुझावको आपूmले अपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्