गणेश रावत । कोहलपुर ।
बुधबार बिहान गोरखा युनाइटेड पब्लिक स्कुलमा सयौँको सङ्ख्यामा विद्यार्थी, शिक्षक र अभिभावकहरू योग तथा ध्यान गरिरहेका थिए । डा.योगी विकासानन्दले आफूलाई हेर्दै लामो श्वास लिन सहभागीलाई सुझाव दिए । सोही अनुसार श्वास लिइरहेका व्यक्तिहरू केही समयपछि नै धमाधम भुइँमा लड्न थाले । त्यो देखेर योग तथा ध्यानमा सहभागी एक जना छात्रा सुकसुकाउँदै रुन थालिन् । डा. विकासनन्दले किन ? के कारणले रो¥यौ नानी ? भन्दै प्रश्न गरे । उनले रुन्चे स्वरमा डा.विकासानन्दको प्रश्नको भनाइमा थप जिज्ञासा राखिन्– ‘गुरु देव उहाँहरूलाई केही त हुँदैन नि ? त्यसपछि डा. योगी विकासानन्द मज्जाले हाँसे ।
‘म हुँदाहुँदै तिमीले चिन्ता लिनुपर्दैन,’ डा. विकासानन्दले हाँस्दै भने, ‘उहाँहरू कसैलाई पनि केही हुन्न ।’ त्यसपछि उनी आश्वस्त देखिइन् । डा. विकासानन्दले यो पहिलो पटक नभई यसरी धेरै पटक धेरैलाई लडाएर उठाउने गरेको बताए । उनले लडेका व्यक्तिहरूलाई हलचल गराउन र उठाउन कोसिस गर्न अन्य व्यक्तिहरूलाई सुझाए । तर, उनीहरू उठेनन् । श्वास चलिरहे पनि कुनै प्रतिक्रिया भने दिँदैनथे । उनले लडेका सबैलाई १ देखि ५ सम्मको अंक गन्दै उठाए । उनीहरू सबै उठे । सबैमा फैलिएको अविश्वास र आशंकालाई उनले प्रयोग गरेर विश्वाससमेत दिलाए ।
ढलेका व्यक्तिहरूको प्रतिक्रिया लिँदा सबैले लड्दा एकखालको अलौकिक आन्नद महसुस भएको प्रक्रिया दिएका थिए ।
त्यो समयमा अन्य मानिसहरूले बोलाए र भनेका कुरा सुनिने तर प्रतिक्रिया जनाउन नसकिने अवस्था रहेको सहभागीहरूको भनाइ थियो । ‘मैले यसरी मान्छे लडेको देख्दा त्यो सबै भ्रम हो भन्ने ठानेको थिएँ,’ कार्यक्रममा सहभागी निरज सिंहले भने, ‘म स्वयम् उभिरहेका बेला श्वास लिरहँदा एक्कासि लडेँ । लडेपछि झनै आनन्द महसुस भयो । आफैँले अनुभव गरेपछि यो सत्य रहेछ भन्ने पक्का भयो । अहिले आफूमा सकारात्मक सोचको विकास भइरहेको उनले बताए ।
सो अवसरमा डा. विकासानन्दले योग तथा ध्यानका माध्यमबाट धेरै रोगहरूको औषधि नखाई सन्चो गराउने गरेको समेत दाबी गरेका थिए । उनले आफ्नो आध्यात्मिक जीवनको ४४ वर्ष लामो यात्रामा पहिलो पटक यति धेरै मानिसहरूको सङ्ख्यामा प्रवचन दिएको जानकारी दिए ।
उनले गोरखा स्कुलले आयोजना गरेको यसखाले कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए । योग तथा ध्यानले विद्यार्थीहरूको स्मरण गर्ने शक्ति र सकारात्मक सोचको विकासमा टेवा पुग्ने उनको भनाइ थियो ।
दुईदिने योग तथा ध्यान शिविरको आफ्नो अनुभव सुनाउँदै अभिभावक लोकेन्द्र शर्माले सकारात्मक सोचको विकास गर्न शिविरले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्र्रतिक्रिया दिए । सकारात्मक सोचले अभिभावक र विद्यार्थीहरूको समेत जीवनशैली परिवर्तन गर्न मद्दत पुग्ने उनले बताए । स्कुलले निःशुल्क रूपमा ध्यान र योगमा जोडिने अवसर प्रदान गरेको भन्दै विद्यालयलाई धन्यवादसमेत दिए । असल र सच्चा नागरिक बन्न योग तथा ध्यानको आवश्यकता रहेको उनको भनाइ छ । दुई दिनमा सिकेका कुरा नियमित रूपमा व्यवहारमा लागू गरे जीवन परिवर्तन हुनेमा कुनै शंका नरहेको उनले बताए ।
कार्यक्रमको समापन गर्दै विद्यालयका सञ्चालक तथा संस्थापक केशर बहादुर आलेले विश्व प्रख्यात डा.विकासनन्दको उपस्थितीले विद्यालय परिवार हर्षीत रहेको बताए । विद्यालयले विगत एक वर्ष देखिको प्रयास पछि डा.विकासनन्दलाई विद्यालयमा ल्याउन सफल भएको उनले जानकारी दिए । समाज परिवर्तनमा स्कुलको तर्फबाट थोरै भए पनि सकारात्मक सोचको विकास गर्न योग तथा ध्यान शिविर सञ्चालन गरिएको उनको भनाइ थियो । दुई दिनसम्म अभिभावक, शिक्षक, कर्मचारीलगायतका व्यक्तिहरूको उपस्थितिले कार्यक्रम भव्य र सव्य रूपमा सम्पन्न भएको उनले बताए ।
स्कुलका सञ्चालक तथा संस्थापकहरूले डा. विकासानन्दलाई मायाको चिनोका साथै अभिनन्दन गरेका थिए । त्यस्तै, स्कुलकी प्रध्यानाध्यापक साधना थापाले स्कुलको लोगोे अंकित मायाको चिनो प्रदान गरेकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्