मूर्ति स्थापना गर्दै सरस्वती पूजा



कोहलपुर : कोहलपुर नगरपालिका–१० स्थित तक्षशिला एकेडेमीले सरस्वती पूजाको अवसर पारेर सरस्वतीको मूर्ति स्थापना गरेको छ । सोमबार विद्यालय परिसरमा निर्मित सरस्वती मन्दिरमा सरस्वतीको मूर्तिको प्राण प्रतिष्ठापन गरिएको हो । बिहानको समयमा पुरोहितद्वारा विधिपूर्वक पूजाआजा गरी मन्दिरमा सरस्वतीको मूर्तिको प्राण प्रतिष्ठापन गरिएपछि विद्यार्थी तथा शिक्षकहरूले सरस्वतीको पूजा आरम्भ गरेका थिए । पूजाकार्यमा विद्यालय सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद बेल्बासे, प्रधानाध्यापक भीमबहादुर रोकाय, शैक्षिक सल्लाहकार खोपीराम ओलीलगायतले कर्ताको भूमिका निभाएका थिए । करिब ३ घन्टाको विधिवत् पूजाआजापछि मन्दिरमा सरस्वती पूजा सुरु भएको थियो ।

विद्याकी देवी सरस्वतीलाई वर्षमा एक दिन मात्र सम्झिनेभन्दा पनि प्रत्येक दिन उनको मूर्ति देखेर विद्यार्थीहरूमा विद्याप्रतिको आकर्षण बढोस् भन्ने हेतुले विद्यालयमा सरस्वतीको मूर्ति स्थापना गरिएको अध्यक्ष बेल्वासेले बताए ।
‘देवी सरस्वती विद्या र बुद्धिकी प्रतीक हुन् । शिक्षार्थीहरूका माझमा उनको बेग्लै महिमा छ,’ अध्यक्ष बेल्वासेले भने, ‘जसको दैनिकको दर्शनले पनि मनमा ज्ञान आर्जनप्रति सकारात्मक भावनाको विकास हुन्छ ।’ कुनै पनि बस्तु देखेर हाम्रो मनमा एउटा विचार उत्पन्न हुने गरेझैँ दैनिक सरस्वतीको मूर्ति देख्दा विद्यार्थीमा विद्याआर्जनप्रति सकारात्मक विचार वा ऊर्जा प्राप्त हुने उनको तर्क छ ।

तक्षशिला एकेडेमीले औपचारिक शिक्षाका अलावा व्यावहारिक र जीवनोपयोगी शिक्षामा जोड दिइरहेको बेल्वासेले बताए । ‘अब विद्यार्थीलाई शिक्षित मात्र बनाएर पुग्दैन, दीक्षित र नैतिक आचरणयुक्त पनि बनाउनु जरुरी छ,’ उनले भने, ‘जुन कुरामा हाम्रो जोड छ ।’आजैका दिनदेखि विद्यालयले प्ले गु्रप (पीजी)मा बालबालिकाको भर्ना सुरु गरेको छ । सरस्वती पूजाको अवसरमा बालबालिकालाई निःशुल्क भर्ना गरिएको थियो ।
सो अवसरमा विद्यार्थीहरूले पूजाआजाका साथै अनौपचारिक रूपमा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गरेका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २२ गते मंगलबार