कैलाली,सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मिडियामा आदिवासी जनजाति पत्रकारको उपस्थिति हुनु सकारात्मक पक्ष रहेको बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुदूरपश्चिम प्रदेशको तेस्रो महाधिवेशनको शनिबार धनगढीस्थित डायमन्डस् कटेजमा उद्घाटन गर्दै उनले आदिवासी जनजाति पत्रकार नेतृत्व तहमा समेत पुगिरहेकोमा खुसी व्यक्त गरे ।
प्रदेश सरकारले चाँडै नै आमसञ्चार नीति ल्याउने उल्लेख गर्दै उनले भने, ‘अहिले मन्त्रालयमा सचिव र उपसचिव नभएकाले यो अगाडि बढ्न सकेको छैन । तर, सञ्चार नीतिका लागि धेरै छलफल भइसकेको छ । अब पत्रकारहरूसँग अन्तिम पटक छलफल गरेर यसलाई चाँडै प्रदेश सभामा लैजान्छौँ ।’
मुख्यमन्त्री शाहले पछिल्लो समय मिडिया सर्भाइभ हुन कठिन भइरहेको र समस्याका कारण सरकारमाथि अलि बढी निर्भर हुनु परेको बताए ।
उनले प्रदेश सरकारले पत्रकारको विकासका लागि यो वर्ष पनि बजेट विनियोजन गरेको बताउँदै भने, ‘अनुदान र सहयोगका कार्यक्रमका लागि एकद्वार प्रणालीमार्फत आउन म पत्रकारको छाता संगठनलाई आग्रह गर्दछु ।’ उनले थारू भाषामा पनि समाचार छाप्न आफूले राष्ट्रिय समाचार समितिलाई आग्रह गरेको बताए ।
मुख्यमन्त्री शाहले सत्ता र सरकार नजिक भएकाले अनुदान, सहयोगलगायतका कार्यक्रम अलि बढी पाउने, पहुँच नभएकाले नपाउने जस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने बताए । उनले बडघर, भलमनसा ऐन प्रदेश सरकारले चाँडै ल्याउने बताए । यसैगरी, मुक्त कम्लहरी, हलियाको कार्यविधि पनि चाँडै बन्ने मुख्यमन्त्रीको भनाइ थियो ।
उनले थारू र राना थारू समुदायको सहयोगमा प्रदेश सरकारले प्रदेश निजामती ऐनलाई संशोधन गरेर कार्यान्वयनमा लग्न सकेको उल्लेख गर्दै थारू र रानाथारूको कोटा प्रतिशत बढाउनका लागि संशोधन गर्ने सवालमा प्रदेश सरकारले छलफल गरिरहेको उल्लेख गरे । ‘कुरा थारू र राना थारूको कोटा प्रतिशत बढाउने भन्ने थियो ।
तर, कार्यदलले बुझाएको प्रतिवेदनमा मागै नउठाएको र जनसंख्यासमेत नभएको अरू समुदायका कुरा पनि आयो,’ मुख्यमन्त्री शाहले भने, ‘थप कुरा आएपछि यसमा छलफल गर्नुपर्छ भनेर तत्काललाई रोकिएको छ । यसको मतलब मागलाई गुमराहमा राख्न खोजिएको होइन । छलफलपछि यो अगाडि बढ्छ ।’
यसैगरी, कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले गरेका काम र विकासको कुरा देखाउनका लागि पत्रकारको भूमिका महत्वपूर्ण रहने गरेको बताइन् । उनले कसैको पनि दबाबमा नपरेर कलम चलाउन आदिवासी जनजाति पत्रकारलाई आग्रह गरिन् । उपप्रमुख रानाले आदिवासी जनजाति पत्रकारको वृत्तिविकासमा सहयोग पुग्ने गरी ऐन बनाउन प्रदेश सरकारलाई आग्रह गरिन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले फोनिजले आदिवासी जनजाति पत्रकारको श्रीवृद्धि, क्षमता वृद्धि, आदिवासी रीतिरिवाज र संस्कृति संरक्षणको क्षेत्रमा काम गर्दै आएको बताए ।
यसैगरी, नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठ रहेको विभिन्न तथ्यतथ्यांकले पुष्टि गरेकाले त्यसका लागि पनि फोनिजले वकालत गर्दै आएको चौधरीको भनाइ थियो ।कपि पेस्ट पत्रकारिता फस्टाइरहेको वर्तमान सन्दर्भमा मातृभाषा पत्रकारितालाई प्राथमिकता दिन प्रदेश सरकारलाई आग्रह गर्दै पत्रकारको क्षमता अभिवृद्धिका लागि अनुदान दिन, विभिन्न योजना, कार्यक्रम अगाडि बढाउन प्रदेश सरकारलाई आग्रह गरे ।
२०५६ सालमा स्थापना भएको आदिवासी जनजाति पत्रकार संघ (फोनिज) मा आठ वटा जातीय संगठनका ५ हजार पत्रकार गोलबद्ध रहेको वरिष्ठ उपाध्यक्ष चौधरीले जानकारी दिए । उनले ६२ जिल्लामा फोनिजको संगठन विस्तार भएको उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाह, नेपाल आदिवासी जनजाति समन्वय परिषद् सुदूरपश्चिमका अध्यक्ष दलबहादुर घर्ती, बातचित घरका अध्यक्ष माधव थारू, थारू कल्याणकारिणी सभा कन्चनपुरका अध्यक्ष सानु चौधरी, प्रेस सेन्टरका प्रदेश महासचिव करन चन्दलगायतले धारणा राखेका थिए ।









प्रतिक्रिया दिनुहोस्