डान्स प्रतियोगितामा सुवास बगाले प्रथम



बुटवल : विगत ३ महिनादेखि बुटवलमा मिलन कला केन्द्रले ‘नो भोट, नो एसएमस’ लागू गरेर नयाँ प्रतिभाको खोजीका लागि अडिसन शुरु गरेको थियो । ‘नो भोट, नो एसएमस’ लागू गरेर मिलन कला केन्द्रले प्रदेशस्तरीय एकल नृत्य प्रतियोगिताको फाइनल सम्पन्न गरेको छ ।
भोट र एसएमएसका कारण कैयौँ लुकेर बसेका प्रतिभा पनि अगाडि आउन नसक्ने अवस्थालाई मध्येनजर गर्दै ती प्रतिभालाई बाहिर ल्याउने गरी ‘नो भोट नो एसएमस’बाटै प्रदेशस्तरीय एकल नृत्य प्रतियोगिताका लागि अडिसन सुरु गरिएको प्रतियोगिताको फाइनल शनिबार बुटवलमा सम्पन्न भएको हो ।

उक्त फाइनल प्रतियोगितामा सुवास बगाले प्रथम हुन सफल भएका छन् । प्रतियोगितामा किरण मगरले दोस्रो स्थान हासिल गरेका छन्, भने विश्वास थापा तेस्रो भएका छन् । प्रतियोगितामा दर्शकको रोजाइबाट तिलोत्तमा २ जानकीनगरकी बिआंशा सापकोटा उत्कृष्ट बनेकी छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५१ हजार १ सय ११ रुपैयाँ, २१ हजार १ सय ११ र १५ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार र प्रमाणसहितको पुरस्कार प्रदान गरिएको मिलन कला केन्द्र बुटवलकी अध्यक्ष मिना बुढाथोकीले जानकारी गराइन् । त्यस्तै दर्शकबाट रोजाइमा परेर उत्कृष्ट डान्स गरेकी वियनसा सापकोटाले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् ।

कार्यक्रम संयोजक दावा शर्माका अनुसार फाइनल प्रतियोगिता टप ट्वान्टीबाट छनोट गरिएको हो ।
बुटवलको देविनगरस्थित देवसिद्धचोकमा रहेको थ्री पयन्ट रिर्सोटमा भएको प्रतियोगिताको निर्णायकको भूमिका तेरिया फौजामगर, सुमन थापामगर र उपेन्द्र घर्तीमगर रहेका थिए । उक्त प्रतियोगिताका प्रमुख अतिथि रक्तिम सांस्कृतिक अभियानका पूर्वअध्यक्ष जीवन शर्माले कलाकारिताका क्षेत्र फराकिलो बनाउनु पर्ने बताउँदै यस्ता खालका प्रतियोागिताले गाउँघरमा लुकेका प्रतिभालाई बाहिर ल्याउन ठूलो सहयोग गर्ने बताए ।

कला र नृत्य मानिसको जीवनका लागि अपरिहार्य भएको उल्लेख गर्दै कला र नृत्यको माध्यमबाट समाज रुपान्तरण गर्न सकिने बताउँदै व्यवस्था परिवर्तन गर्न कलाकारहरुको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।मिलन कला केन्द्र बुटवलकी अध्यक्ष मिना बुढाथोकीको अध्यक्षता र सञ्चारकर्मी सुमन श्रेष्ठको सञ्चालनमा प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा कलाकार, मिलन कला केन्द्रमा आवद्ध सदस्य तथा सहयोगी र प्रायोजक संस्थाहरुलाई सम्मान गरिएको थियो ।
कला तथा नृत्य क्षेत्रलाई पेशागत रुपमा अगाडि बढाएको बुटवलको मिलन कला केन्द्रले फरक–फरक खालका प्रतियोगिता आयोजना गर्दै आएको छ ।
केन्द्रले आउने बैशाखदेखि ड्रामा प्रतियोगिताका लागि अडिसन सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । लुम्बिनी प्रदेशस्तरीय उक्त प्रतियोगिताका लागि जिल्ला जिल्लामा अडिसन गरिने बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २० गते आइतबार