कथा : बाँसुरी



चरित्रा शाह : एकदिन मेरो श्रीमान्ले मेरो दराजको ¥याकमा सुरक्षित राखेको बाँसुरी झिके अनि एकाएक घरबाहिर ल्याएर फाले । मैले मनमनै भनेँ, के गरेको होला र यो बाँसुरीले ? एकछिनपछि टिपेर ल्याएँ अनि उही पुरानै ठाउँमा राखेँ । यो क्रम अर्को दिन पनि दोहोरियो । फेरि पनि मैले चुुपचाप उही ठाउँमा ल्याएर राखेँ । फेरि पनि केही समयपछि त्यस्तै कार्य दोहोरियो । मलाई खुलदुली लाग्यो अनि “किन ¥फालेको ?” भनी जिज्ञासा राखेँ । उनी केही बोलेनन् ।

“के ग¥यो र यो बाँसुरीले ?” मैले फेरि दाहो¥याएँ ।
“किन राख्ने यो कबाड ?” रिसाएका आँखा मतिर ठड्याउँदै भने ।
“बाँसुरी हो नि बजाउने, किन कबाड भयो र ?” मैले पनि झर्किएरै भनेँ ।
“कस्ले बजाउँछ यो बाँसुरी ?” उनले पुनः उस्तै शैली र स्वरमा प्रस्तुत गरे ।
“म बजाउँछु,” मैले भनेँ ।
“पर्दैन आइमाईले बाँसुरी बजाउन, फाले हुन्छ ।”

“फाल्दिनँ, यो मेरो माइतको चिनो हो ।” मैले बाँसुरी टिपेर फेरि ¥याकमा राखेँ । त्यसपछि उनी केही बोलेनन् । उनको मनमा के चलिरहेको छ ? मैले केही बुझिनँ, तर उनको चेहराले धेरै कुरा भनिरहेको जस्तो लाग्थ्यो । उनका आँखाले धेरै दृश्यहरू देखिरहेझैँ लाग्थ्यो । मैले योभन्दा धेरै खोतल्न चाहिनँ । थोरै केही अनुमान त गरेकी थिएँ तर अनुमानकै आधारमा केही उत्तर दिन पनि चाहिनँ ।

किनकि उनको मुखबाट पनि योभन्दा धेरै शब्दहरू निस्केका थिएनन् । यो फाल्ने र राख्ने क्रम धेरै पटक दोहोरियो तर कहिल्यै सोधेनन् कस्ले दिएको भनेर । कहिल्यै सोधेनन् माइतमा कस्ले बजाउँथ्यो भनेर । मैले पनि नसोधेर कसरी बताउनु ? मलाई पनि बताउन मन लागेन । कसरी हेर्छन् यो बाँसुरीलाई ? केके गर्छन् यसलाई ? कतिखेर मलाई मनमनै हाँसो पनि लाग्थ्यो, बाँसुरीप्रतिको घृणा देखेर । किन घृणा गर्छन् यो बाँसुरीलाई ? कि बाँसुरीको धुन मन पर्दैन होला उनलाई । कि यो बाँसुरीसँग उनको कुनै अप्रिय घटना जोडिएको हुनुपर्छ मैले यस्तै यस्तै सोच्न थालेँ ।

कुरा दस बाह्र वर्ष पहिलेको हो । असार महिना थियो । बादलले ढाकेर होला सूर्यलाई बिहान पनि त्यति उज्यालो थिएन। डाँडाहरूमा कुहिरो डुलिरहेको, सिमसिम पानी परिरहेको थियो । पल्लो घरको हजुर आमासँग म तेर्साखोला घट्ट गएँ । सानो थैलोमा मकै बोकेँ र बाहिरबाट प्लाष्टिक ओढेँ । मलाई घरमा बस्नभन्दा पनि यस्तै यस्तै काममा हिँड्न रमाइलो लाग्थ्यो । तेर्साखोलामा दस बाह्र ओटा जति घट्ट थिए तर ती वर्षायाममा मात्र चल्थे । सबैभन्दा पुछारको घट्टमा म गएँ । “हजुरआमा तलको घट्टमा जाम, राम्रो पिठो हुन्छ” मैले भनेँ ।

हजुरआमालाई तल झर्न मन थिएन । यतै घट्ट थुप्रै छन् । घट्टमा पालो पनि थियो तर मैले कर गरेर तल लगेँ । “बाटोका घट्ट छोडेर किन जाने हो कुनाकानी खोज्दै ? रोज्नु बिन्नु घट्ट यतै छन्”, भन्दै हजुरआमा भुनभनाउँदै तलझर्र्नु भयो ।

म खुसी भएँ । मेरो मनको पुग्यो । अब म त्यो बाँसुरीको धुन सुन्न पाउने छु । त्यो बाँसुरी छुन पाउने छु ।पुराना पुराना कथा पनि सुन्न पाउने छु । त्यहीँ बाँसुरी र तिनै राजकुमार राजकुमारीका कथाले नै मलाई बारम्बार घट्ट बोलाउँछन् । म आमाले तँ नजा भन्दा पनि जिद्दी गरेर जान्छु ।सँगै अघि लाएर लाने त पल्लो घरको काइँली हजुरआमाले मात्रै हो । बेला बेलामा कति पछि लाग्छ यो हरो भनी रिसाए पनि लैजानु हुन्छ । जब थैलीको पिठो सकिँदै जान्छ म खुसी हुन्छु, अब फेरि एउटा नयाँ कथा सुन्न पाइन्छ भनेर ।

सधै झैँ त्यस दिनपनि घट्टदेखि बाहिर बाँसुरीको धुन बजिरहेको थियो । घट्ट र ठाडो खोलाको आवाजले कानै खाने भए पनि उनको बाँसुरीले कानलाई लोभ्याउँथ्यो । म नजिकै गएँ । मलाई यस्तो आभास हुन्थ्यो । उनी पनि मलाई देखेपछि खुशी हुन्थे । मैले उनीसँग बसेर उनका धेरै कुराहरू खोतल्थेँ । उनका जीवनका थुप्रै कथा व्यथाहरू सुन्थेँ । सधै फुर्सद मिल्यो कि बाँसुरी बजाउने उनको रुचि थियो । उनी खुसी मान्दै आफ्नो जवानीका कथाहरू सुनाउँथे । एक्लो जीवनमा उनलाई सुन्ने कोही थिएन । अपवादमा म जस्ता एक दुई जना बाहेक । जीवनका अनगिन्ती अनुभवहरू उनी बाँड्न चाहन्थे । केही आशा र केही गुनासाहरू आफन्तहरूसँग पोख्न चाहन्थे ।

उनको नाम नै बाँसुरी राखेका थिए गाउँलेहरूले । मैले सोधेँ, “किन सधै बाँसुरी बजाउनु हुन्छ ?”
उनले भने, “मुक्तिको लागि ।”
“मैले बुझिनँ । के हो मुक्ति भनेको ?” फेरि सोधेँ ।
“मुक्ति भनेको छुटकारा हो ।”
“के को मुक्ति ? केबाट मुक्ति ?” फेरि सोधेँ ।
“सम्झनाबाट मुक्ति,” उनले भने ।
“कसको सम्झना ?”
“मेरो मुटुको । ”
“किन?”
“तिमी बुझ्दिनौ । बच्चै छौ । ”
“खोइ त हजुरको मुटु ? हजुरकै छातिभित्र छैन र ?”
“छैन ।”
“स्वर्गमा ।”
“कहाँ छ स्वर्ग ?”
“ऊ माथि आकासमा । ”
“कहिले गयो र आकाशमा ?”
“लामो समय भयो । ”
“अनि यो बाँसुरी बजाउन थालेको कति भयो त ?”
“त्यति नै, जति समय उनले छोडेर गएको भयो । ”

उनी भावुक हुन थाले । मैले सोधेभन्दा पनि बढी कुरा गरे । उनी बोल्दै गए । “जब उनले छोडेर गइन् म एक्लो भएँ । मलाई सुन्ने कोही थिएन । बुभ्mने पनि थिएन । दिनका दिन म उनकै सम्झनामा हराउन थालेँ । नजरमा हरपल उसैलाई देख्न थालेँ । उमेरले पनि तीन बिस कटिसकेको थिएँ । अर्काे घरजम गर्ने पनि सोचै आएन । देश विदेश घुम्ने उमेर पनि थिएन ।

तीर्थव्रत गराउने पनि छोरालाई चासो थिएन । साथीथियो त केवल यो घट्ट र यही खोला । यो घट्टको आवाजले मलाई भुलाउन सकेन । यो खोलाले पनि मलाई सुन्न सकेन । मेरा कान दुख्ने गरी कराइरह्यो ।एकातिर खोला सुसाइरह्यो, अर्काेतिर म सुक्सुकाइ रहेँ । त्यत्रो खोलाको धारले पनि मेरो मन धुन सकेन । खोलाको चिसो सिरेटोले पनि मेरा आँसु सुकाउन सकेन ।

मेरो बाले पनि सधै आफै बाँसुरी बनाउँथे र बजाउँथे । हामी त्यो धुनमा लठ्ठ हुँदै सुन्थ्यौँ ।
एक रात सपनामा बाले मलाई बाँसुरी बजाएर सुनाए । म ब्युझिएँ । चारैतिर आँखा डुलाएँ । चारैतिर बालाई आँखामा देखिरहेँ । कति मीठो थियो त्यो सपना? कतै त्यो सपना नभएर बिपना नै हो कि झँै भयो । यो निद्रालाई देखेर रिस पनि उठ्यो । किन यति छिटै ब्युँझिन परेको होला ? बिस्तारै शान्त भएँ । सत्य त सपना नै थियो । त्यसपछि मलाई बाबाको धेरै याद आयो । गाईगोरू लिएर पाखामा जान्थे ।

बाँसुरी पनि सँगै लिन्थे । मैले पनि बाँसुरी बनाएर बजाउन थालेँ । मैले यो सिप बाबाबाट सानैमा सिकिसकेको थिएँ । यो बाँसुरी नै मेरो साथी भयो । यसैले मलाई भुलायो । आनन्द सागरमा पनि डुबायो । भगवानश्रीकृष्णको याद गरायो । यसैले बचायो ।”
उनले थुपै्र गन्थन गरे, तर मैले केही बुझेँ केही बुझिनँ । घट्टदेखि माथि छानोमा उनले चार पाँच ओटा बाँसुरी घुसारेर राखेका थिए । मैले त्यतैतिर हेर्दै भनेँ,

“मलाई एउटा बाँसुरी दिनु न ।”
“किन चाहियो र तिमीलाई ? जान्छ्यौ र बजाउन !”
मैले भनँे,“ सिक्छु नि ।”
“अर्काे पटक राम्रो बनाइदिन्छु र लैजाउली । यिनी त्यति राम्रो बज्दैनन् । सिक्ने मान्छेलाई राम्रो चाहिन्छ । ”
मैले “हस् छिट्टै बनाइदिनु होला है” भनेँ ।

त्यसपछि पनि म धेरै पटक घट्ट गएँ विभिन्न आशामा । तर उनी कहिल्यै भेटिएनन् । उनको घट्ट चल्न छोड्यो ।
मेरो बाबाको मृत्युपछि उनलाई देख्दा बाबाको झल्को मेटिन्थ्यो । बाबाको जस्तै मिठो स्वरमा बाँसुरी बजाउँथे उनी पनि । मेरो बाबा सधैँ साँझमा एउटा कथा सुनाउनु हुन्थ्यो । लालहिराको कथा, तोतामैेनाको कथा, राजकुमार दिक्पालको कथा, अकवर वीरबलको कथा, लिखेटोगेनीको कथा यस्तै यस्तै । मेरो बाबाको मृत्युपछि मलाई धेरै कुराको अभाव भयो । मैले धेरै ज्ञान र सिपबाट वञ्चित हुनु प¥यो ।

एकदिन म उनको घरमा गएँ उनलाई भेट्न । उनी ओछ्यानमा थला परेर सुतिरहेका थिए । म नजिकै गएर बाजे नमस्कार भनेँ । उनको वरिपरि गुञ्जिने बाँसुरीको धुन बन्द भइसकेको थियो, तर उनको बाँसुरी भने सिरानीमै थियो । उनले मलाई देखेर हेरिरहे । मैले भनेँ, चिन्नुभयो मलाई ? उनले बिस्तारै मुन्टो चलाएर “अँ” भनेको सङ्केत गरे । धेरै समयदेखि उनको बाँसुरीको धुन सुन्नमा लालायित मेरा कानहरूले उनका एक शब्द पनि सुन्न सकेनन् । म उनलाई हेर्दा हेर्दै कताकता हराउन थालिछु ।

मान्छेको जीवन देखेर भित्रभित्रै दुःख लाग्यो । त्यति मीठो बोल्ने मान्छे एक दिन एक शब्द पनि निकाल्न नसक्ने अवस्थामा पुग्नु पर्दाे रहेछ । यी सम्पूर्ण कुराहरू क्षणिक रहेछन् । मेरो मन भक्कानियो । रोक्दा रोक्दै पनि आँसु बग्न थाले ।
उमेर बढ्दै गयो । उच्च शिक्षा अध्ययनको लागि म राजधानीतिर लागेँ । पढाइ सकियो । बिहे भयो । यस्तै यस्तै कारण मेरो, घट्ट, तेर्सा खोला र बाँसुरीको धुनसँग बिछोड भयो ।

बिहे भएपछि म दसैँमा मात्र माइत जान्थेँ । मेरो प्रिय महिना असार थियो र पनि म जान सकेकी थिइनँ असारलाई भेट्न । आउन त असार प्रत्येक साल आउँछ, प्रत्येक स्थानमा आउँछ तर मेरो माइतको असार र यहाँको असार धेरै भिन्न लाग्छ । आज दश वर्षपछि म मेरो प्रिय असारलाई भेट्न आएकी छु । असारको सिमसिमे पानीलाई स्पर्श गर्न पाएकी छुं ।

मेरो जन्मघरको बार्दलीमा बसेर डाँडाकाँडा हेर्दै बाँसुरी बजाइरहेकी थिएँ । डाँडाको कुहिरो सर्रसर्र गर्दै उडिरहेको थियो । मेरो श्रीमान् कोठामा बसेर मोबाइल चलाइरहेका थिए । मेरो बाँसुरीको धुनले तानेर होला उनी पनि बाहिर आए । “ओहो ! फेरि यहाँ पनि आइपुग्यो यो बाँसुरी ?” उनले खिन्नताको भावमा मलाई हेरे ।“आयो । बाँसुरी बजाउनलाई उपयुक्त वातावरण बल्ल त मिलेको छ ।” मैले यति भनेर बाँसुरी बजाइरहेँ । उनी केही नबोली अँधेरो मुख लाउँदै मतिर पीठ फर्काएर बसे ।

घरछेउको आरुको रूखबाट एक झोला आरु टिपेर मेरो सानो भाइ आइपुग्यो । आरुको झोला भुइँमा राखेर हामी दुवैको मुखमा हेर्दैैैैैैैैै भाइले भन्यो,“ म त बाबाको बाँसुरी कहाँ गयो भनेर कति खोजेथेँ ? दिदीले पो लिनु भएको रहेछ । आमाले त भन्दै हुनुहुन्थ्यो, बाबाको सुद्ध्याइँमा दान दिएको भनेर ।” उसले मुस्कुराउँदै भन्यो ।

“हँ । के रे ? बाबाको बाँसुरी ? यो ?” मेरो श्रीमान्ले आश्चर्यचकित भावमा भाइलाई हेरे ।
“हजुर । हाम्रो बाबाको बासुरी हो यो । म सानो छँदा अलिअलि सम्झन्छु, बाबाले मेरी सासुको चिनो भन्दै बेलाबेलामा बाकसबाट निकालेर बजाउनु हुन्थ्यो र फेरि बाकसमा नै राख्नु हुन्थ्यो ।” भाइले वर्सौैँदेखि लुकेको रहस्यको पोको खोल्यो । रहस्यको पोको खुल्न पनि समय आउनुपर्ने रहेछ ।
“ए । कुरो त्यस्तो हो” भनी श्रीमान्ले मतिर हेरे ।

“कुरो त्यति मात्र कहाँ हो र अझै रोचक कथा त भन्न बाँकी नै छ यो बाँसुरीको ।
दान दिने कुरो पनि चलेको थियो । मैले नै नमानेर बुवाको सब सामान बुवाको कोठामा मिलाएर राखेको । बुवाले बजाउने हार्मोनियम पुस्तक सबै त्यही ¥याकमा मिलाएर राखिदिएको छु । जुन कोठा अहिले हामीहरूको लागि एउटा महत्त्वपूर्ण सङ्ग्रहालय बनेको छ । जसलाई म पुग्नासाथ सर्वप्रथम दर्शन गर्छु । सङ्गीतका सबै धुनमध्ये मलाई बाँसुरीको धुन साह्रै मन पथ्र्यो । बुवाका बाँसुरीहरूमध्ये पनि यो बाँसुरी विशेष थियो । मेरो बाबा र आमाको बिहे नहुँदै मेरी हजुरआमाले उक्त बाँसुरी र दुईओटा सुन्तला दिनु भएको रे ।

शिक्षण पेसाको सिलसिलामा बाबा मेरो मावली गाउँमा जानु भएको थियो । विद्यालयको एउटा कार्यक्रममा बाँसुरी बजाएको सुनेर हजुरआमाले बाँसुरी किनेर ल्याई टुप्पोमा चाँदीको घेरा लगाएर दिनु भएको । बाँसुरी सोमबारे औँसीझैँ कहिलेकाहीँ मात्र बजाउनु हुन्थ्यो र पुनः बाकसमा हाल्नुहुन्थ्यो रे कसैलाई पनि छुन नदिएर । सबैजना बसेर पारिवारिक गफगाफ हुँदा बाबा भन्नुहुन्थ्यो, तिमीहरू सबै यही बाँसुरीका देन हौ । यति कुरा गरिरहँदा हामी तीनै जना भावुक मुद्रामा थियौँ । बुवाको चिनो भनेर मैले लगेकी हुँ ।”

म अतीततिर फर्किएँ । मैले बाबाको पुनः स्मरण गरेँ । बाबाको सानो कथा पनि सुनाएँ । कुरा गर्दागर्दै मेरो गला अड्कियो । यो सम्झना भन्ने चिज नै यस्तो रहेछ जो दिमागमा आयो कि तीर बनेर मुटुमा घोचिरहने । सम्झ्यो कि हृदयको आकासमा बादल लागेर झरी बनेर बर्सिरहने । जुन कथा बाबाको मुखबाट सुन्दा मलाई रमाइलो लागेको थियो, त्यही कथा आज आफूले सुनाउँदा भावुक भएँ ।

भावुक भएर सुनाएँ मैले । भावुक भएरै सुने सुन्नेहरूले पनि ।
“यता देऊ त बाबाको बाँसुरी” भन्दै मुसुक्क मुस्कुराएर मेरो श्रीमान्ले ओल्टाइ पल्टाइ हेरे । यतिबेला उनी पनि साह्रै भावुक देखिन्थे । बाँसुरीलाई हेर्दै गम्भीर भएर भने,“ ओहो ! मैले त यत्रावर्ष यो बाँसुरी न हेर्न जानेको रै’छु न बुझ्न । म त मात्र भ्रममा पो बाँचेको रै’छु । एैले त लाग्दैछ, हाम्रो जीवन पनि यही बाँसुरी पो रहेछ । बजाउन जाने बाँसुरीको धुन नजाने त सुकेको काठ ।

बाँच्न जाने जिन्दगी आनन्द संसार र बाँच्नुको सार, नजाने जिन्दगी पृथ्वीको भार । मेरी श्रीमतीसँगै मेरो घरमा भित्रिएको यो बाँसुरी मैले बेलैमा चिन्न सकेको भए आजसम्म कति आनन्द लिन सक्थेँ ? मेरा आँखामा भ्रमको पर्दा लागे । जार जस्तो मानेर आँखा तर्दातर्दै बाह्र तेह्र वर्ष बिते । यत्रा वर्षको अपमान र तिरस्कारको लागि मलाई माफ गर सम्बन्धित सबैसबैले जजसलाई मैले चित्त दुखाएँ ।” बाँसुरीलाई हेर्दाहेर्दै जिन्दगीप्रतिको यो दर्शन निर्माण गरे उनले । मैले पनि सम्झिएँ ती दिन जतिबेला उनले मेरो बाँसुरी झिक्दै बाहिर फाल्दै गर्थे ।

गैह्रो थियो समुद्र मोती देखिनँ ।
धमिला आँखाले ज्योतिदेखिनँ ।।
शङकाले मलाई लङ्का पु¥यायो ।
बल्ल मेरो घैँटोमा घाम झुिल्कयो ।।

त्यसपछि यिनै गीतका टुक्काहरूलाई त्यही बाँसुरीको धुनभित्र भरेर बजाउन सुरु गरेका हुन् मेरा श्रीमान्ले जो आज पनि बजाइरहेका छन् । भोलि पनि बजाइरहने छन् सायद ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १९ गते शनिबार