नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा खुलेयाम लोकलदेखि ब्रान्डेड मदिराको बिक्री



नेपालगन्जमा जारी ‘प्रादेशिक महोत्सव २०८१’ मा व्यापारिक उद्देश्यले राखिएका स्टलहरूमा दर्शकको चहलपहल भएको देखिँदैन । थारू गाउँ र क्यान बाँकेले महोत्सवस्थलभित्र राखेको सूचना प्रविधि स्टलहरूमा दर्शकको केही चहलपहल देखिए पनि अन्य स्टलमा भने सुनसान हुने गर्दछन् । खुलेयाम महोत्सवस्थलभित्रका स्टलहरूमा लोकलदेखि ब्रान्डेड रक्सी बिक्री–वितरण भइरहेको छ ।


नेपालगन्ज (बाँके) ।

नेपालगन्ज उद्योग वाणिज्य संघको मुख्य आयोजनामा गत माघ १० गतेदेखि नेपालगन्जको कारकाँदोस्थित सडक डिभिजन परिसरमा सञ्चालित ‘प्रादेशिक महोत्सव २०८१’ मा व्यापारिक उद्देश्यले राखिएका स्टलहरूमा दर्शकको चहलपहल भएको देखिँदैन । दर्शकहरू केवल मनोरञ्जनका लागि सांगीतिक कार्यक्रममा मात्रै पुग्ने गरेको पाइएको छ । महोत्सव अवलोकन गर्न जाने दर्शकमध्ये अधिकांश दर्शकहरूको व्यापारिक स्टलमा भन्दा सांगीतिक कार्यक्रमप्रति रुचि देखिएको पाइएको हो ।

आयोजकले महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका कृषि, पर्यटन, अटोमोबाइल, सूचना तथा विज्ञान तथा प्रविधि, खाद्यपदार्थ, जडिबुटीलगायतका ३ सय ५० स्टलहरू राखिएको जनाएको छ । सूचना तथा विज्ञान तथा प्रविधिका ३० स्टल राखिएका छन् ।

महोत्सवस्थलमा राखिएका विभिन्न व्यापारिक स्टलहरूमा दर्शकहरूको रुचि नभएको एक व्यापारीले बताए । उनले भने, ‘दर्शकहरू त आएकै छन्, तर व्यापार छैन, टिकट काटेर आउँछन्, सिधै सांगीतिक कार्यक्रममा हुने नाचगान हेर्न मात्र जान्छन्, अलिअलि मानिस स्टलमा आउँछन्, मूल्य सोध्छन्, अनि सामान नकिनेरै जान्छन्, सोचेजस्तो व्यापार भएको छैन, महोत्सव अवधिभर स्टलको २५ हजार भाडा बुझाउनुपर्छ ।’

उद्योग, व्यापार, कृषि, जडिबुटी, रोजगारी, सूचना प्रविधि तथा पर्यटन, व्यवसाय उद्यमशीलता र कला संस्कृतिको प्रवद्र्धन गर्ने मूल नारासहित सञ्चालन गरिएको महोत्सवमा कर्णाली प्रदेशका स्थानीय खाद्य उत्पादन, अल्लोबाट निर्मित वस्तु, महिला उद्यमीले उत्पादन गरेका विभिन्न खाद्यवस्तुहरूका स्टल त छन् तर व्यापार भने सोचेजस्तो नभएको व्यापारी बताउँछन् ।

महोत्सव खाली मनोरञ्जनका लागि मात्रै भएको जस्तो देखिन्छ । महोत्सवमा बढीजसो फास्टफुड, खाजानास्ताका स्टलहरूमा ग्राहकको केही भीडभाड देखिन्छ । अन्य व्यापारिक स्टलहरूमा भने अत्यन्तै न्यून कारोबार भएको पाइएको हो ।

स्टलबाटै मदिरा बिक्री

महोत्सवस्थल भित्र विभिन्न व्यापारिक स्टलका साथै एउटा स्टल रक्सीको पनि राखिएको छ । २५ हजार भाडा बुझाउने गरी रक्सीको स्टल राखेको व्यापारी बताउँछन् । स्टलमा नम्बर नदेखेपछि गरिएको प्रश्नमा उनले भने, ‘स्टल त छ तर नम्बर छैन, बिना नम्बरको स्टल छ, २५ हजार भाडा छ, केही मानिसहरू रक्सी किन्न आउनुहुन्छ, यहाँ खानुहुन्न बाहिर लगेर जानुहुन्छ, अलिअलि मात्र व्यापार छ ।’

‘एउटा रक्सीको स्टल आफ्नो ब्रान्ड शो गर्नका लागि राखेको छ, महोत्सवभित्र रक्सी पिउन पाइँदैन, खाने खुवाउने गर्न पाइँदैन, कसैले खरिद गरेर आफ्नो घर लैजान सक्छ, तर कसैले आफ्नो उत्पादनको प्रचार गर्नका लागि स्टलमा शो गर्न त पायो नि १’ महोत्सवका स्टल संयोजक चिरञ्जीवि ओलीले मिसन टुडेसँग भने, ‘हाम्रो रेकर्डमा उक्त स्टलको नम्बर छ तर केही कारणवश स्टलमा नम्बरिङ हुन छुट्यो होला १’

थारू गाउँमा भीडभाड

महोत्सवस्थलभित्र थारू गाउँको छुट्टै मेला सञ्चालन गरिएको छ । थारू गाउँ प्रवेश गर्नका लागि ४० रूपैयाँ टिकटको व्यवस्था गरिएको छ । थारू गाउँमा बाँके, बर्दिया तथा कैलालीबाट आएका व्यापारीहरूले ८ वटा स्टल सञ्चालन गरेका छन् । थारू गाउँमा थारू गीतसंगीतका साथै नृत्य प्रस्तुत हुने गरेको छ । महोत्सवभित्र प्रवेश गर्ने दर्शकहरूमध्ये अधिकांश दर्शक थारू गाउँ पस्ने गर्दछन् ।

थारू गाउँको प्रवेशद्वारमा टिकट काट्न बसेका गणेशप्रसाद चौधरीले भने, ‘थारू गाउँ प्रवेशका लागि ४० रूपैयाँको टिकटको व्यवस्था गरिएको छ, महोत्सवभित्र आउने दर्शकहरू अधिकांश यहाँ आएर अवलोकन गर्नुहुन्छ, थारू गीतसंगीतमा रमाउनुहुन्छ । थारू परिकारहरूका कारण पनि धेरै दर्शकहरू यहाँ आउनुहुन्छ ।’

थारू गाउँभित्रका स्टलहरूमा थारू खानाका परिकारहरू ढिक्री, माछा, सुंगुर बंगुरको मासु, गँगटा, घोँघी, सिद्रा, अण्डा, अनदीको जाँड, अनदीको रोटी, कुखुराको मासु, अचार, लोकल मदिरालगायतका वस्तुहरू राखिएको छ । धेरैजसो दर्शकको रुचि थारू खानाको परिकारमा पाइएको हो । केही व्यवसायीहरूले भने लुकाएर थारू गाउँभित्र ब्रान्डेट मदिरा समेत बिक्री–वितरण गरिरहेका छन् ।

निःशुल्कदेखि ४० हजारसम्म भाडा

महोत्सवस्थलमा ३ सय ५० स्टल भनिए पनि करिब ३ सयको हाराहारीमा व्यापारिक स्टलहरू बुक भएको बताउँछन् स्टल संयोजक चिरञ्जीवी ओली । संयोजक ओलीका अनुसार टुरिजम, कृषि सामग्री मेसिनरीलगायतलाई प्रोत्साहन गर्नका लागि केही स्टलहरू निःशुल्क गरिएको छ । त्यसैगरी स्थान र प्रकृति अनुसार ५ हजारदेखि ४० हजार रूपैयाँसम्मका व्यापारिक स्टलहरू रहेको उनको भनाइ छ ।

स्टलहरू प्रायः २० देखि २५ हजार रूपैयाँ भाडामा रहेको स्टल व्यापारीहरू बताउँछन् भने सांगीतिक कार्यक्रम हुने फिल्डको नजिकै फास्टफुड स्टल सञ्चालन गरेकी एक महिला उद्यमीले ५० हजार रूपैयाँ भाडा रहेको बताइन् ।

दैनिक रूपमा हजारौँको सङ्ख्यामा दर्शकहरू महोत्सव अवलोकन गर्न आउने गरेको आयोजकले बताए पनि व्यापारिक स्टलमा भने भनेजस्तो व्यापार भएको देखिँदैन, प्रायः दर्शकहरू सांगीतिक कार्यक्रम मात्र हेर्न आएको पाइन्छ । उद्यमशीलता र व्यवसायमैत्री भन्दा सांगीतिक कार्यक्रम हेरेर मनोरञ्जन लिने दर्शकको रुचि देखिएको छ । प्रादेशिक महोत्सव केवल सांगीतिक कार्यक्रमकै लागि आयोजना भएको जस्तो लाग्ने गर्दछ ।

क्यान इन्फोटेकमा दर्शकको चासो

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) बाँकेले महोत्सवस्थल भित्र राखेको सूचना प्रविधि स्टलहरूमा भने दर्शकको चासो देखिएको छ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि क्यान महासंघ बाँकेले आयोजना गरेको ‘क्यान इन्फोटेक’मा नयाँ पिँढीका पुस्ताहरूले अवलोकन गरिरहेको बताउँछ क्यान बाँकेका अध्यक्ष यज्ञराज जोशी ।

‘इन्फोटेकमा स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएका कारण विशेषगरी प्रविधिमा चासो राख्ने युवा तथा विद्यार्थी वर्गको राम्रो उपस्थिति रहेको छ,’ उनले भने, ‘क्यान इन्फोटेक प्रदर्शनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरूका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलोका रूपमा हामीले लिएका छौँ ।’

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १५ गते मंगलबार