20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कोहलपुर–११ मा तेस्रो लहरको पूर्वतयारी ‘टोल–टोलमा स्वंयमसेवक परिचालन गरिने’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन ३०, २०७८  

कोहलपुर, बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ मा कोभिड–१९ को तेस्रो लहरबाट बच्न स्वंयमसेवक परिचालन गरिने भएको छ । कोहलपुर नगरपालिका केन्द्रको रुपमा रहेको वडा नम्बर ११ मा कोरोना संक्रमण फैलिने उच्च जोखिम रहेको भन्दै पूर्वतयारीको लागि टोल टोलमा स्वंयमसेवक परिचालन गरिने भएको हो ।

शुक्रबार वडामा सरोकारवाहरुबीच भएको छलफलमा कोलपुरको सबै भन्दा जोखिमयुक्त वडाका रुपमा रहेको वडा नम्बर ११ मा कोरोना रोकथाम र नियन्त्रणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका थिए । उनीहरुले जिल्लामा जारी निषेधाज्ञा खुकुलो पारेसँगै स्वास्थ्य मापदण्ड पुरा नगरेका कारण कोरोना संक्रमण बढ्न थालेको बताएका हुन् ।

उक्त बैठकले वडा नम्बर ११ मा कोरोना संक्रमण रोक्नको लागि जनचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएको छ । वडा नम्बर ११ का जनप्रतिनिधि, राजनीतिक दल नागरिक समाज सहभागी बैठकले विभिन्न निर्णय गरेको छ । कोहलपुर स्वास्थ्य चौकीका प्रमुख प्रकाशजंग हमालले उक्त बैठकले तेस्रो लहरको कोरोना वडा नम्बर ११ मा तीव्र रुपमा फैलिरहेकोले महामारीबाट बच्न जनचेतनामुलक कार्यक्रम मार्फत भीडभाड नियन्त्रण र अनिवार्य रुपमा मास्क प्रयोग गर्ने प्रेरित गर्न अभियान सञ्चालन गरिने निर्णय गरिएको जानकारी दिए ।

उक्त बैठकले संक्रमण तीव्र रुपमा फैलिएमा रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि राजनीतिक दलले स्वयम् सेवकका रुपमा युवा जनशक्ति परिचालन गर्ने, एम्बुलेन्सको सहज उपलब्ध हुन नसकेमा विद्यालयहरुसाग समन्वय गरी विद्यालयका बसहरु प्रयोग गर्ने निर्णय भएको जानकारी दिए । यस्तै बढी नै भीडभाड हुने क्षेत्र कृषि बजारमा कम्पाउण्ड भित्र मात्रै व्यवसाय गर्न दिइन् निर्णय गरिएको हमालले बताए । सोही अनुसार तरकारी, फलफूल सहित दैनिक उपभोग्य वस्तु बिक्रि वितरणको व्यवस्था मिलाइने निर्णय भएको छ ।

यसैगरी कोभिड–१९ को संक्रमण रोक्नको लागि बसपार्क क्षेत्रमा भीडभाड व्यवस्थित गर्ने निर्णय भएको छ । स्वास्थ्य चौकीका प्रमुख हमालले वडा नम्बर ११ मा गठिन टोल सुधार समितिलाई कोभिड–१९ सम्बन्धी अभिमुखीकरण गर्ने र समुदायमा परिचालन गर्ने निर्णय भएको मिसन टुडे दैनिकलाई जानकारी दिएका हुन् । उक्त अवसरमा बोल्दै वडा अध्यक्ष कर्ण बहादुर थापाले वडा नम्बर ११ अत्यन्त जोखिम अवस्थामा रहेकोले सम्पूर्ण नागरिकलाई सचेत रहन आग्रह गरेका छन् ।

वडा नम्बर ११ लाई सुरक्षित राख्नको लागि सबैको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । अनिवार्य स्वास्थ्य मापदण्डको प्रयोग गर्ने, मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्नुपर्न पनि सबैलाई अध्यक्ष थापाले सुझाव दिएका छन् । अहिलेसम्म कोहलपुर नगरपालिका वडा नम्बर ११ मा २४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

१२ जना वडाबासीको कोरोनाका कारण मृत्यु भएको छ । भने हाल २० जना सक्रिय संक्रमित रहेका छन् । उक्त छलफलमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, रेडक्रस, सहकारी, हाट बजार क्षेत्र र प्रहरीले लगायत कोरोना विरुद्ध बच्ने उपायका विषयमा सुझाव दिएका
थिए ।

प्रकाशित मितिः शनिबार, साउन ३०, २०७८     7:20:58 AM  |