श्यामलाल पोखरेल । बुटवल ।
रूपन्देहीको तिलोत्तमा क्षेत्र कृषि उत्पादनका लागि उर्वर भूमि मानिन्छ । नेपालमै विकसित र राम्रो मानिने तिलोत्तमा खाद्यान्न बालीका लागि आत्मनिर्भर मानिन्छ । तर पछिल्लो समय भने खेतीयोग्य जमिनको क्षेत्रफल क्रमशः घट्दै गएको छ । रूपन्देहीबाटै र रूपन्देही वारिबाट बसाइसराइ गरेर आउनेहरूको सङ्ख्या बढ्दै जाँदा तिलोत्तमाको खेतीयोग्य जमिन घडेरीका रूपमा बिक्री हुन थालेपछि खेती गर्ने जमिनको क्षेत्रफल घट्दै गएको हो ।
बढी मात्रमा कृषि उत्पादन हुने भएपछि सिँचाइको उचित व्यवस्था भएको तिलोत्तममा अहिले सिँचाइको व्यवस्था कमजोर हुँदै गएको छ । सिँचाइको मूल आधार तिनाउ नदीको नहर पछिल्ला केही वर्षयतादेखि अव्यवस्थित हुँदै गएपछि सिँचाइको अभाव हुनथालेको तिलोत्तमा– ११ मद्ररानीका रुपेश पाण्डेयले बताए ।
खेतीयोग्य जमिन घडेरीमा बिक्री हुन थालेपछि तिनाउ नदीबाट खेतबारीमा आउने नहरबाट कुलो ल्याउन ढिला हुन थालेकाले मोटर लगाएर जमिनमुनिको पानी प्रयोग गर्न थालिएको पाण्डेयले बताए । तिलोत्तमा नगरपालिकाको कृषि शाखाको तथ्यांकअनुसार तिलोत्तममा ६० प्रतिशत बढी क्षेत्रमा हिउँदमा पनि सिँचाइ हुने गर्दछ ।
खाद्यान्न बालीअन्तर्गत धान खेती ६ हजार ८ सय ४ हेक्टर क्षेत्रफलमा हुने गर्दछ । गहँुबाली २ हजार ७ सय १ हेक्टर र मकै बाली (सय ८) हेक्टर खेती हुने तिलोत्तमा नगरपालिका कृषि शाखा प्रमुख दोमलाल भुसालले जानकारी दिए ।
कृषि शाखा प्रमुख भुसालका अनुसार ३ हजार ५० हेक्टर क्षेत्रफलको जमिनमा तरकारी खेती हुने गरेको छ । जसमा १२ सय ५० हेक्टरमा बर्खे तरकारी खेती र १८ सय हेक्टरमा हिउँदे तरकारी खेती हुने गर्दछ । सानादेखि ठूला उद्योग, शिक्षण संस्था र अस्पतालहरू बन्दै गएपछि कृषियोग्य जमिन घट्दै गएको र सिँचाइको व्यवस्था र अवस्था पनि कमजोर हुँदै गएको स्थानीय दिनेश खनालले बताए ।
सिँचाइका लागि भैरहवा, लुम्बिनी भूमिगत सिँचाइ योजना रूपन्देहीकै पुरानो ठ्रलो योजना हो, जुन योजनाबाट तिलोत्तमाको खेतिपाती हुने धरै भाग सिँचाइको पहुँचमा थियो । त्यस्तै, तिलोत्तमा नगरपालिकाले पनि सिँचाइका लागि विशेष चासो दिँदै आएको छ ।
सिँचाइ डिभिजन कार्यालयले मोटरको माध्यमबाट सिँचाइका लागि किसानहरूलाई सहयोग गरेको छ । तर सबैभन्दा भरपर्दाे पुस्तौँपुस्तादेखि सिँचाइ गरिने तिनाउ नदीको नहरबाटै कुलोमा पानी कम आउन थालेपछि तिलोत्तमाको अधिकांश ठाउँमा मोटरको प्रयोग गरी जमिनमुनिको पानीबाट किसानले सिँचाइ गर्न थालेका छन् ।
मानव बस्ती बढेपछि र उत्पादमूलक कृषि गर्ने जमिन खण्डीकरण हुँदै गएपछि तिलोत्तमाको खेती हुने धेरैजसो ठाउँ बजार बनेको छ । मानवीय बस्ती र भौतिक विकासले फड्को मारे पनि तिलोत्तमाको खेतीयोग्य जमिन घढ्दै गएको छ भने भएको खेतीयोग्य जमिनमा पनि सिँचाइ सुविधा पर्याप्त नभएपछि उत्पादनमा प्रतिकूल प्रभाव पर्न थालेको छ ।









प्रतिक्रिया दिनुहोस्