व्यापारीको चुनावमा दलहरूको बढ्दो हस्तक्षेप !



व्यापारीहरूको चुनावमा कोहलपुरका व्यापारीहरूकै खासै उत्साह देखिएको छैन । तर यहाँका दलहरूलाई भने मज्जाले चुनाव लागेको छ । चुनावमा होमिएकाबाहेक कुनै पनि व्यापारीमा चुनावको उत्साह देखिँदैन । आर्थिक मन्दीको मारमा पिल्सिएका यहाँका व्यापारीहरू चुनावप्रति उदासीन छन् ।


सनत सापकोटा । कोहलपुर ।

करिब २ महिनाअघि तोकिएको कोहलपुर उद्योग बाणिज्य संघको चुनाव आज हुँदै छ । संघको चुनावमा दलीय प्रतिनिधित्वका आधारमा प्रमुख दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुँदै छ । संघको यसपटकको चुनावमा दुवै पक्षबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । त्यसमा पनि मतदाताले प्यानललाई भन्दा पनि व्यक्तिलाई मतदात गर्ने धेरैको अनुमान छ ।

नेकपा (एमाले)का तर्फबाट अन्जना धितालको प्रगतिशील व्यावसायिक प्यानल चुनावी मैदानमा छ भने कांग्रेसका तर्फबाट प्रदीप भट्टराई नेतृत्वको लोकतान्त्रिक समावेशी व्यवसायी समूह चुनावमा होमिएको छ । कांग्रेसको समूहमा पाँच दलीय गठबन्धन बनेको छ । यो समूहमा कांग्रेसअलावा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा सामेल छन् । यी दलले संयुक्त रूपमा उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेको समूहमा भने स्पष्ट रूपमा अन्य दलीय आबद्धता नदेखिए पनि नेकपा (माओवादी केन्द्र)लगायतका दलले साथ दिइरहेको बताइन्छ । अन्य दलले दलीय प्रतिनिधित्वका आधारमा भन्दा पनि स्वतन्त्र रूपमा यो समूहबाट उम्मेदवारी दिएका छन् । पछिल्लो समय यस क्षेत्रमा आफ्नो राम्रै उपस्थिति देखाइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने संघको चुनावमा कुनै पक्षधरता देखाएको छैन । उसले राम्रो उम्मेदवार छानेर भोट हाल्ने जनाएको छ ।

‘हामीले कुनै उम्मेदवारी पनि दिएका छैनौँ,’ कांग्रेसका तर्फबाट कोहलपुर उद्योग बाणिज्य संघको नेतृत्व गरिसकेका तर हाल रास्वपाका बाँके जिल्ला सचिव रहेका राजेन्द्र श्रेष्ठले भने, ‘भोट पनि राम्रो उम्मेदवार छानेर हाल्ने हो ।’ श्रेष्ठले आफूले व्यक्तिगत रूपमा पनि यसपटक संघको चुनावमा कुनै चासो नदिएको बताए । बजार चर्चाअनुसार यसपटकको संघको चुनावमा तीव्र प्रतिस्पर्धा हुने देखिएको उनको भनाइ छ । ‘यसपटकको चुनावमा तीव्र प्रतिस्पर्धा हुने स्थिति छ,’ उनी भन्छन्, ‘जसले जिते पनि थोरै भोट अन्तरले जित्छ ।’

व्यापारीहरूको चुनावमा यहाँका व्यापारीहरूकै खासै उत्साह देखिएको छैन । तर यहाँका दलहरूलाई भने मज्जाले चुनाव लागेको छ । चुनावमा होमिएकाबाहेक कुनै पनि व्यापारीमा चुनावको उत्साह देखिँदैन । आर्थिक मन्दीको मारमा पिल्सिएका व्यापारीहरू चुनावप्रति उदासीन छन् । ‘जुन जोगी आए पनि कानै चिरेको,’ कोहलपुरका एक व्यापारी निराशा व्यक्त गर्दै भन्छन्, ‘जो आए पनि हुने केही होइन, व्यापार व्यवसाय दिनप्रतिदिन घट्दै गएको छ । हामी व्यापारीका दुःख हामीसँगै छन् ।’

तर पनि दलहरू आफ्नो दलीय अस्तित्व रक्षाको सवालझैँ यो चुनावमा होमिएका छन् । पछिल्ला दिनमा संघमा एकल वर्चस्व कायम गर्दै आएको कांग्रेसलाई आफ्नो वर्चस्व गुम्ने हो कि भन्ने डर छ भने एमालेलाई संघमा गुमेको आफ्नो सुरुवाती साख फर्काउनुछ । यस्तो लाग्छ, यो व्यापारीको चुनाव होइन, प्रमुख दलहरूबीचको प्रतिस्पर्धा हो ।

चुनावमा उम्मेदवार उठाउनेदेखि लिएर चुनावी प्रचारप्रसारमा खट्ने, खर्च जोहो गरिदिने र चुनावी रणनीति बनाउनेसम्म दलहरूकै निर्णयमा हुने गरेको छ । संघको चुनावमा दलका जिल्ला तहका नेतृत्वदेखि नगर नेतृत्व, सांसद, पूर्वमन्त्रीलगायतका व्यक्तिसमेत आफ्नो पक्षका उम्मेदवारलाई भोट माग्दै हिँडिरहेको देखिन्छ । आमचुनाव वा स्थानीय चुनावजत्तिकै महत्व दिँदै राजनीतिक दल र तिनका नेतृत्व चुनावमा होमिएका छन् ।

आखिर यस्ता चुनावमा राजनीतिक दलहरू यसरी लाग्नुको कारण के हो ? राजनीतिक विश्लेषक प्राडा जनार्दन आचार्यका अनुसार राजनीतिक दलहरू कमजोर बन्दै गएको प्रमाण हो यो । उनले पछिल्लो समय विद्यार्थी, व्यापारी, डाक्टरलगायतका समूहमा हस्तक्षेप गरेर आफ्नो अस्तित्व रक्षा गर्ने काममा दलहरू अग्रसर देखिने गरेको आरोप लगाए ।

‘दल र तिनका नेतामा दूरदृष्टि, चिन्तन, मनन र व्यवहार हराउँदै गयो, उनीहरू मानसिक रूपमा कमजोर हुँदै गए, नेताहरू दलगत, गुटगत र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न सकेनन्,’ प्राडा आचार्यले भने, ‘त्यसैले उनीहरू आफ्नो अस्तित्व रक्षाका लागि यस्तै
स–साना स्वार्थ समूहमा बाँडिन थाले ।’

कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने हो भने पछि परिन्छ भन्ने भाष्य निर्माण गरिएकाले यस्ता व्यावसायिक संगठनमा स्वतन्त्र उम्मेदवारी दिने आँट कसैले नगर्ने गरेको उनको भनाइ छ । व्यक्तिगत रूपमा उम्मेदवारको कुनै दलसँग आबद्धता देखिनु स्वाभाविक भए पनि दलहरू नै हस्तक्षेपकारी भूमिकासहित यस्ता चुनावमा होमिनु असल राजनीतिक संस्कार नभएको प्राडा आचार्यलाई लाग्छ ।

हाल रास्वपा प्रवेश गरेका कोहलपुर उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठ बाणिज्य संघको चुनावबाट स्थानीय तहमा राजनीतिक, सामाजिक प्रभाव पर्ने भएकाले पनि तीव्र राजनीतिक हस्तक्षेप हुने गरेको धारणा राख्छन् ।

‘सामान्य स्कुल, खानेपानी, रेडक्रसलगायतका चुनावमा त तीव्र दलीय हस्तक्षेप हुने गरेको छ, यो त बाणिज्य संघको चुनाव हो,’ दलीय हस्तक्षेप हुनुलाई स्वाभाविक रूपमा लिँदै संघका पूर्वअध्यक्ष श्रेष्ठ भन्छन्, ‘यो चुनावले स्थानीय तहको राजनीतिलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा प्रभाव पार्ने भएकाले पनि दलीय हस्तक्षेप बढी हुने गरेको हो ।’ श्रेष्ठ बाणिज्य संघको चुनावलाई स्थानीय तहको मिनी चुनावका रूपमा अथ्र्याउँछन् ।

दलका नेताहरू बाहिरी रूपमा प्रचारप्रसारमा हिँडे पनि दलभित्रैबाट हुने घात अन्तर्घातका कारण आफ्नै दलका उम्मेदवारहरू पनि पराजित बन्नुपर्ने अवस्था आउने गरेको छ । आमचुनाव, स्थानीय चुनाव होस् वा बाणिज्य संघ जस्ता सानातिना चुनावमा होस् यो समस्या देखिने गरेको छ । बाणिज्य संघको यो चुनावमा पनि त्यसको सम्भावना टरेको छैन । उम्मेदवारहरू स्वयम् आ–आफ्नै दलप्रति सशंकित छन् ।

दलभित्र कुनै घात अन्तर्घात नभए आफूले चुनाव जित्ने पक्का रहेको कांग्रेसतर्फका अध्यक्षका उम्मेदवार प्रदीप भट्टराईले केही समयअघि मिसन टुडेसँगको संवादका क्रममा भनेका थिए । यो दलभित्रैबाट आफूमाथि अन्तर्घात हुनसक्ने कुराको स्पष्ट संकेत थियो ।

त्यस्तै, एमालेतर्फकी अध्यक्ष उम्मेदवार अन्जना धितालले पनि पछिल्लो समय दलहरूभित्रैबाट घात अन्तर्घात हुने गरेको स्वीकार गर्दै आफू यसप्रति सचेत रहेको बताएकी थिइन् । उनीहरूका भनाइ अनुसार पनि दलभित्र पनि गुट–उपगुट हाबी हुने गरेको स्पष्ट हुन्छ । आफ्नै दलका उम्मेदवारलाई जिताउँदा पनि आफ्नो गुट स्वार्थ वा व्यक्तिगत स्वार्थ पूरा नहुने भएपछि दलभित्रैबाट उम्मेदवारविरुद्ध अन्तर्घात हुने गरेको पाइन्छ ।

उम्मेदवारहरूका यही आशंकालाई दूर गर्न पनि दलीय नेतृत्वलाई प्रचारप्रसारमा लतारिनुपर्ने बाध्यता आइलाग्ने गरेको छ । यो चुनावमा पनि यो अवस्था देखिएको छ । आफ्नो पक्षका उम्मेदवारहरूलाई आश्वस्त पार्नैका लागि कांग्रेस गठबन्धन दलका नगर नेतृत्वहरू तथा कांग्रेसका तर्फबाट संघमा नेतृत्व गरिसकेका पूर्वअध्यक्षहरूले संयुक्त रूपमा विज्ञप्ति नै निकाल्नुपरेको अवस्था छ ।

बिहीबार उनीहरूले एक संयुक्त विज्ञप्तिमार्फत ऐक्यबद्धता जाहेर गर्दै चुनावमा आफ्नो पक्षका उम्मेदवारहरूलाई जिताउन आम नगरबासी मतदातामा अपिल गरेका छन् ।

प्रकाशित मिति : २०८१ कात्तिक ३ गते शनिबार