वाम गठबन्धनप्रति मतदाताको विश्वास बढ्दो



कोहलपुर, १२ मंसिर/  आसन्न मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवारहरु प्रति जनताको आशा, भरोसा र विश्वास बढ्दै गएको मतदाताहरुले प्रतिक्रिया दिएका छन् ।

मंगलबार बाँकेको साविक नरैनापुर गाविसका प्रत्येक वडाहरुमा बाँके क्षेत्र नं.१ प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश्वर गहतराज (अथक) र प्रदेश सभा १ ‘क’ की उम्मेदवार कृष्ण केसी(नमूना) सहितको नेता कार्यकर्ताहरुको घरदैलो अभियानमा मतदाताहरु उत्साहित देखिएका थिए ।

मतदाताहरुले वाम गठबन्धनका उम्मेदवार प्रति भरोसा रहेको भन्दै उनीहरुलाई विजयी गराउन सहयोग गर्ने बताएका छन् । नरैनापुर र कटकुइयामा चुनावी सभालाई सम्वोधन गर्दै प्रतिनिधिसभा सदस्य गहतराजले अब नेपालमा विकास र संवृद्धि वाम गठवन्धनकै नेतृत्वमा सम्भव हुने बताउदै पाँच वर्ष वामपन्थीको स्थिर सरकारले समाजवादी कार्यदिशाको जग बनाउने धारणा व्यक्त गरे ।

त्यस्तै चुनावी सभामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवार दिनेशचन्द्र यादवले वाम गठबन्धनको विजयी सुनिश्चित भएकाले ढुक्क भएर वाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न मतदाताहरुलाई आग्रह गरे ।

त्यस्तै मङलबार नै लक्ष्मणपुरमा भएको चुनावी सभालाई सम्वोधन महेश्वर गहतराज (अथक) ले कसैको लोभलालचमा नपरी वाम गठबन्धलाई मतदान गरी आफुले पाएको मताधिकारको सदुपयोग गर्न आग्रह गरे ।

अथकले आफू यस क्षेत्रबाट विजयी भएमा राप्ती नदि नियन्त्रणका लागि दुबैतर्फ पक्की ड्याम बाध्ने, बाढी पीडितहरुको सुरक्षित बसोबासको व्यवस्था गर्ने, यस क्षेत्र भित्र रहेका सबै वडाहरुमा विद्युतीकरण गर्ने काम आफ्नो पहिलो प्राथमिकतामा रहने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै मंगलबार नै वाम गठबन्धनको राप्तीसोनारी–९ ढकेरी, बुच्चापुर, उद्यैन, खैरी र नमुना गाउँमा उम्मेदवार सहित घरदैलो कार्यक्रमहरु सम्पन्न भएका छन् । चुनावी कार्यक्रमलाई बाँके क्षेत्र नम्बर १ ‘ख’ प्रदेश सभाकी उम्मेदवार आरती पौडेलले यस क्षेत्रलाई आर्गनिक भिलेजको रुपमा विकास गराउन आफ्नो पहिलो पहल रहने बताइन् ।

साथै पौडेलले सो ठाउँको कृषिमा आधुनिकीकरण र व्यवसायिकरण गर्न लागि पर्ने बताउदै विकास निर्माणमा युवा सहभागितालाई अनिवार्य गराउने प्रतिवद्धता समेत गरिन् ।

मंगलबार नै वाम गठबन्धनले कोहलपुर नपा–२ प्रगतिनगर, प्रेमनगर, ७ को लखनवा, रजगढवा, वडा नम्बर ५, ९ र ११ मा घरदैलो सहित विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको १ को प्रदेश सभा ‘ख’ का निर्वाचन परिचालन संयोजक अब्दुल हुसेन खाँले जानकारी दिए ।

त्यस्तै बाँके क्षेत्र नं.३ अन्तर्गत प्रदेश सभा ‘क’ को बैजनाथ गाउँपालिकाको चिसापानी, नौवस्था, डिगिया र खजुरा गाउँपालिकाका विभिन्न वडाहरुमा समेत प्रदेश सभा ‘क’ का उम्मेदवार इन्द्र प्रसाद (आईपी) खरेल सहितको टोलीले घरदैलो कार्यक्रमहरु सम्पन्न गरेको जानकारी प्राप्त भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १२ गते मंगलबार