कोहलपुर नगरपालिकाले लाखौँ खर्च गरेर हरित नगर अभियान सञ्चालन गरिरहेको छ । बिरुवा लगाउने र संरक्षण गर्ने अभियान आक्रमक रूपमा अगाडि बढाइरहेको कोहलपुरले पाँच/सात वर्ष लगाएर हुर्काएका बिरुवा रातिमा निर्मम तरिकाले काट्नेको पहिचान हुँदासमेत कारबाही गर्न सकेको छैन ।
गणेश रावत । कोहलपुर ।
कोहलपुर नगरपालिका–१० रामनगरमा गत भदौ २४ गते नगरपालिकाले रोपेका बिरुवा राति एकाएक काटियो । आराले धमाधम काटेर ५ वटा समीका बिरुवा ढलाइएका थिए । बिरुवा काटिएको खबर पाएपछि राति नै इलाका प्रहरी कार्यालय, कोहलपुर नगर प्रहरी र जनप्रतिनिधिसहितको टोली घटनास्थलमा पुगेर घटनाको अध्ययन गरे ।
घटनाको अध्ययनपश्चात रामनगरकै एक स्थानीय लक्ष्मीप्रसाद भुसालले ती बिरुवा काटेको पत्ता लाग्यो । भुसालले बिरुवा काट्दै गरेको सिसिटिभी फुटेजसमेत प्रहरीले फेला पा¥यो । यस्तो अपराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कारबाही गर्न कोहलपुर नगर प्रहरीले इलाका प्रहरी कार्यालय कोहलपुरमा जाहेरी दियो । तर प्रहरीले अहिलेसम्म ती व्यक्तिलाई पक्राउ गरेको छैन । घटना घटेको करिब दुई हप्ता बितिसक्दा पनि उनलाई प्रहरीले पक्राउ गर्न नसकेको हो ।
अहिलेसम्म उनीविरुद्ध नगरपालिकाले जाहेरी गर्ता नगराएकाले पक्राउ गर्न नसकिएको इलाका प्रहरी कार्यालय कोहलपुका प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीले बताए । नगर प्रहरीले अपराधसम्बन्धी जाहेरी पठाए पनि कानुनी रूपमा दर्ता गर्न नमिल्ने भएपछि अर्काे जाहेरी दिन आग्रह गरिएको तर अहिलेसम्म जाहेरी नआएकाले पक्राउ नगरिएको डिएसपी भण्डारीले मिसन टुडेलाई जानकारी दिए । ‘कानुनी प्रक्रिया पूरा नहुँदा पक्राउ गर्न नसकिएको हो,’ उनले भने ।
यता, नगर प्रहरी प्रमुख वीरबहादुर थापा फरार रहेका भुसाललाई कारबाही नगरे कोहलपुर नगरपालिका हरित नगर अभियानमा अन्यले पनि क्षति पु¥याउन सक्ने भएकाले जसरी पनि उनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउँछन् । तर जाहेरी नदिएको बारे भने थापाले यस विषयमा डिएसपी भण्डारीसँग छलफल गरेर अघि बढ्ने बताए ।
‘आपराधिक गतिविधिसम्बन्धी जाहेरी इलाका प्रहरी कार्यालयमा पठाए पनि दर्ता नभई फिर्ता भयो,’ उनले भने, ‘अब कुन विषयमा जाहेरी दिने भन्ने विषयमा कानुनी परामर्श चलिरहेको छ ।’ बीच सडकमा रहेका बिरुवामा बाँधेको गाईको दाम्लो नगर प्रहरीले काटेर गाई छाडिदिएको झोँकमा राति भुसालले बीच सडकमा हुर्किसकेका ५ वटा बिरुवा आराले धमाधम काटिदिएका थिए ।
उनको यो क्रियाकलाप नजिकै जडान गरिएको सिसी क्यामेरामा कैद भएको भेटिएको थियो । भुसाल हाफ प्यान्ट र चप्पल मात्र लगाएर हातमा आरा समातेर सडकमा पुगेको सिसिटिभी फुटेजमा देखिन्छ । तर, सबै कुरा जानकारी हुँदासमेत अहिलेसम्म उनलाई पक्राउ गरिएको छैन ।
स्रोतले भने नगर प्रमुख पूर्णप्रसाद आचार्यकै निर्देशनमा उनलाई पक्राउ नगरिएको दाबी गरेको छ ।
नगर प्रमुख आचार्यले नै भुसाललाई पक्राउ नगर्न डिएसपी भण्डारीलाई दबाब दिएको स्रोतले बतायो । भुसालको परिवारले नगर प्रमुख आचार्यसँग माफी मागेर एक पटकका लागि छाडिदिन आग्रह गरेकाले नगर प्रमुख आचार्यकै चाहनाबमोजिम उनलाई पक्राउ नगरिएको स्रोतले बताएको छ ।
नगर प्रमुख आचार्यले भने भुसाललाई पक्राउ गर्न पटकपटक आफूले ताकेता गर्ने गरेको बताएका छन् । ‘मैले पटक–पटक नगर प्रहरी प्रमुखलाई सोधेको छु, किन प्रहरीले पक्राउ गरेन भनेर ?’ नगर प्रमुख आचार्यले मिसन टुडेसँग भने, ‘भुसालको परिवारले भोलि उपस्थित गराउँछौँ भन्दै टार्ने गरेका छन् ।’ उनले नगर प्रहरी प्रमुखलाई तुरुन्त फोन गरेर यस विषयमा थप जानकारी गराउने बताए पनि पछि सम्पर्कमा आएनन् ।
भुसाल अहिले पनि घरमा लुक्दै आए पनि प्रहरीले पक्राउ गर्न कुनै चासो दिएको छैन । एकातिर कोहलपुर नगरपालिकाले लाखौँ खर्च गरेर हरित नगर अभियान सञ्चालन गरिरहेको छ । अर्कातिर रातिमा निर्मम तरिकाले हुर्किसकेका बिरुवा काट्नेको पहिचान हुँदासमेत सामान्य नसिहतसमेत नदिई उम्मुक्ति दिएकोमा नगरबासीले आपत्ति जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्