राप्ती सोनारीमा जंगली जनावरको आक्रमणबाट महिलाको मृत्यु



बाँके ।

बाँकेमा जंगली जनावरको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जंगली जनावरको आक्रमणबाट राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ ओभरीकी एक महिलाको ज्यान गएको हो ।

राप्ती सोनारी– ८ स्थित भगवती सामुदायिक वन उपभोक्ता समूहको जंगलमा घाँसदाउरा काट्न गएकी ओभरीकी ६७ वर्षीया चेती बुढाथोकीको ज्यान गएको शम्सेरगन्ज सवडिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत मनोज शर्माले जानकारी दिए ।

शर्माका अनुसार मृतक बुढाथोकी घरबाट घाँसदाउरा काट्नका लागि भनेर घरबाट बिहान ११ बजेतिर जंगल गएकी थिइन् । लामोसमयसम्म पनि घर नआएपछि दिउँसो ३ बजेतिर घरका अन्य सदस्यहरू खोजी गर्दै जाँदा उक्त सामुदायिक वन क्षेत्रभित्र जंगली जनावरले आक्रमण गरी शरीरका केही भाग खाएर छोडेको अवस्थामा उनको शव फेला परेको थियो ।

मृतक बुढाथोकीको टाउको, हातखुट्टा आंशिक रुपमा खाएर छोडेको अवस्थामा उनको शव फेला परेको शर्माले बताए । स्थानीयले बाघले आक्रमण गरेको आशंका गरेतापनि आक्रमण गर्ने बाघ हो या चितुवा हो भन्ने एकिन नभएको शर्माले बताए ।

वरिष्ठ वन अधिकृत शर्माका अनुसार महिलालाई आक्रमण गर्ने जंगली जनावर खोजीका लागि बुधबारनै दुई वटा सीसीक्यामेरा जंगलमा जडान गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा जंगल क्षेत्रमा बुधबार दुई वटा क्यामेरा जडान गरिएको र थप क्यामेरा जडान कार्य जारी रहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १० गते बिहीबार