श्यामलाल पोखरेल । बुटवल ।
नेपालमा राम्रो पैसा कमाइ हुने देशमा पठाउँछु भन्दै पैसा उठाएर खाइदिने घटनाहरू नौला होइनन् । वैदेशिक रोजगारीका नाममा थुप्रै नेपाली युवा युवतीबाट लाखौँ पैसा उठाएर फरार तथा सम्पर्कविहीन हुने ठगहरू खोज्ने हो भने उनीहरूको नामको सूची लामै भेटिन्छ ।
वैदेशिक रोजगारीमा पठाउने नाममा नेपालका मन्त्री, नेता, उच्च तहका कर्मचारीले नै थुप्रैलाई ठगेका छन् । कैयौँ जेलमा छन्, भने कैयौँले मुद्दा खेप्दै आएका छन् । तर पीडितहरू भने न्यायको खोजीमा पीडा सुनाउँंदै हिँडेका छन् ।
पछिल्लो समय ललित विष्ट नाम गरेका व्यक्तिले वैदेशिक रोजगारीका नाममा ठगी गरेको खुलासा भएको छ । उदयपुरका ललित विष्टलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाउने नाममा लाखौँ रकम उठाएर ठगी गरेको आरोप लागेको छ । रूपन्देहीसहित अन्य विभिन जिल्लाका ४० जनाभन्दा बढी युवाहरूबाट लाखौँ उठाएर अहिले उनी सम्पर्कविहनि छन् ।
चार वर्षअघि माल्टा लैजाने भन्दै नक्कली पर्मीट पठाएर उदयपुरका ललित विष्टले प्रतिव्यक्ति ३ लाख दश हजारदेखि ६ लाख दश हजारसम्म रकम उठाएर माल्टा नलगी सम्पर्कविहीन भएको पीडितहरूको गुनासो छ । उदयपुरको वेलका नगरपालिका वडा न. ३ ठोक्सिला घर भएका विष्टले करोडौँ ठगी गरेर सम्पर्कविहीन भएपछि पीडितहरू समस्यामा परेका हुन् ।
बुटवल ३ गोलपार्कका दिनेश मुडभरीले माल्टा जानका लागि २०७९ सालमा ३ लाख ६३ हजार रूपैयाँ बुझाएका थिए । ऋण काढेर माल्टा जाने भनेर दिएको र माल्टा जानपनि नसकिएको गुनासो पोख्दै उनले भने ब्याजमा लिएको पैसा एकको दुई भैसक्यो अहिले, माल्टा पठाउँछु भनेर पैसा लिएको ललित विष्ट सम्पर्कविहीन हुँदा पीडामाथि पीडा थपिएको छ । साहुले छोड्दैनन्, न्याय दिने कोही छैन । आफू बर्बाद भएको दिनेशले गुनासो गरे ।
पीडितहरूका अनुसार माल्टा पठाउन नसकेपछि सम्पर्कविहीन बनेका विष्टले ४० जनासँग करिब डेढ करोड रूपैयाँ उठाएका थिए । यस्तै रूपन्देही तिलोत्तमाा नगरपालिका १६ कोटिहवाका निरबहादुर बयम्भु थापाले २०७७ साल फागुन १३ गते ४ लाख रूपैयाँ बुझाएको बताए ।
‘ब्याजे पैसा खोजेर माल्टा जानका लागि बुझाएँ, अहिले न विदेश जान पाएँ, न त पैसा पाएँ’ योभन्दा ठूलो समस्या कहिल्यै नपरेको उनले गुनासो गरे । बुटवल गोलपार्कका दिनेश मुडभरी र तिलोत्तमाका निरबहादुर बयम्भु थापा वैदेशिक रोजगारीमा ठगिने पात्र मात्रै हुन् । मुडभरी र बयम्भु जस्ता सयौँ युवाहरू ठगिएका छन् ।
विष्टको ठगी धन्दामा बुटवल १ गणेशथानका विक्रम थापा पनि परेका छन् । थापाले २०७७ साल फाल्गुन ११ गते ४ लाख ४० हजार रूपैयाँ दिएको बताए । विक्रमकी आमा कल्पना थापाले साहुसँग लिएको पैसाको ब्याज हालसम्म मासिक ६ हजारका दरले ७२ महिनाको तीन लाख २४ हजार तिरी सकेको रुँदै गुनासो गरिन् ।
विष्टले आफूहरूलाई पठाएको पर्मिटको फोटो पठाउँदा आधा मात्रै खिचेर पठाएपछि शंका लाग्यो, किनभने यदि सक्कली पर्मिटमा क्युआर स्क्यानसँगै ओटीपि नम्बरसहित हुने भएकाले त्यो काटेर सबैको पत्र पठाइएको पीडितहरूले बताए ।
हामीलाई पठाइएको पर्मिट पत्रमा क्वाइन्ट इन्टरप्राइजेजको नाम हालेर पठाएपछि हामीले वेवसाइडमा गएर क्वाइन्ट कम्पनीलाई सम्पर्क गर्दा आफूहरूले कोहीकसैलाई पर्मिट नदिएको थाहा पाएपछि आफूहरू ठगिन पुगेको पीडित तिलोत्तमाा ३ का पशुपति उपाध्यायले बताए ।
पीडित उपाध्यायका अनुसार विष्टकी श्रीमती नम्रता थापा विष्टले पाकिस्तानी नागरिकसँग मिलेर नक्कली पर्मिट निकालेर प्रतिव्यक्ति लाखौँ रूपैयाँ उठाएको कुरा विष्टले नै बताएको र त्यसपछि हामीले पटकपटक पैसा फिर्ता माग्दा केही थोरै पैसा पठाईदिएपछि जे गर्न सक्छस् गर भनेर सम्पर्कविहीन भए ।
ठगी गर्ने विष्टको नाममा रहेको एनआइसी एसिया बैंकको खातामा १ करोड बढी पैसा जम्मा भएको छ । माल्टा जाने भनेका सबैले विष्टको खातासँगै उनले दिएका विभिन्न व्यक्तिहरू गीता खुलाल, भगवती अधिकारी, गणेश राउत, गोकर्ण न्यौपाने, प्रभाकर थापा, श्याम तामाङ, रितेस सुयाल, मोहनसागर लामा र भुपाल कार्की लगायतका व्यक्तिहरूको खातामा जम्मा गरिएको पीडितहरूको भनाइ छ ।
पीडितहरूले बैंकमा पैसा जम्मा गरेको पैसाको भौचर साथमा राखेर ललित विष्ट फरार तथा सम्पर्कविहीन भएपछि त्यही भौचर देखाउँंदै न्यायको खोजीमा लागेका छन् । विदेश पठाउँछु भनेर विष्टले रकम उठाएर माल्टामा आफ्नै काठमाण्डौँ मार्ट, एक होटल र काठमाडौँमा आफ्नो र श्रीमतीको नाममा जग्गा खरिद गरेको रूपन्देही खैरेनीका माल्टामा विष्टसँगै बसेका सफल खरेलले बताए ।
विष्टसँग भएका कुराकानी र विष्टको ठगी धन्दाबारे यथेष्ट प्रमाण रहेकाले वैदेशिक रोजगार विभागमा उजुरी हाल्ने पीडितहरूले तयारी गरेका छन् । पीडितहरूले ललित विष्टलाई खोजी गरिदिन र आफूहरूले बुझाएको पैसा कसरी उठाउन सकिन्छ भन्दै मिडिया सामु आएका छन् ।
प्रतिक्रिया दिनुहोस्