सरकारले चासो नदिएको डेरी व्यवसायीको गुनासो



बुटवल ।

किसानसँग प्रत्यक्ष जोडिएका डेरी उद्योगलाई सरकारले लगानी गर्न नमानेको डेरी व्यवसायीले बताएका छन् । किसानलाई बचाईरहेका डेरी व्यवसायीका समस्याप्रति सरकारले चासो नदिएको गुनासो छ, डेरी व्यवसायीको ।

सरकारबाट एक प्रकारले अपहेलित जस्तै भएर डेरी व्यवसाय गर्नु परेको नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले बताए । आज सोमबारदेखि बुटवलमा हुने नेपाल डेरी एसोसिएसन केन्द्रीय समितिको २६औँ साधारण सभाबारे जानकारी गराउने उद्देश्यले आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले सरकारले डिडिसी र सहकारीहरूलाई मात्रै लगानी गर्न खोज्ने बताए ।

किसानहरूसँग मिलेर दूधका उपभोक्ता बढाउन प्रयास गरिएको र दूरदराजका किसानले उत्पादन गरेको दूधको मूल्य दिने गरिएको उनले बताए । राज्य तथा सरकारले गर्ने काम डेरी उद्योगहरूले गरेको उनको दाबी छ । अध्यक्ष दाहालले निर्वाहमुखी किसानहरूले उत्पादन गरेको दूधबाट नेपालमा ९० प्रतिशत दूध पुगेको बताउँदै अहिलेपनि दूरदराजको दूध पूर्णरुपमा बजारमा ल्याउन नसकिएकाले त्यसको उचित व्यवस्थापनमा ध्यान दिन सरकारसँग माग गरे ।

किसान र डेरी व्यवसायीको सम्बन्ध नङ र मासुको जस्तै रहेको उल्लेख गर्दै डेरी उद्योगहरूले किसानको दूधको पैसा बाँकी नराखेको दाबी गरे । उक्त पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति अनुसार नेपालमा दैनिक रुपमा ६२ लाख लिटर दूध संकलन उत्पादन हुने गर्दछ । दैनिक उत्पादन हुने ६२ लाख लिटर दूध मध्ये ३१ हजार लिटर दूध खपत भएको छैन । नीजि क्षेत्रबाट डेरी व्यवसायमा अनुमानित ५० अर्ब लगानी भएको र ५० हजार जनाले रोजगार पाएको नेपाल डेरी एसोसिएसनको तथ्याङ्कंले देखाएको छ ।

त्यस्तै डेरी एसोसिएसनको तथ्याङ्क अनुसार डेरी उद्योग तथा व्यवसायीले वार्षिक रुपमा २ अर्ब राजस्व तिर्ने गरेका छन् । दूध उत्पादनमा ६ लाख किसान अप्रत्यक्ष रुपमा र प्रत्यक्ष रुपमा ५० लाख नागरिक संलग्न छन् ।

नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेश अध्यक्ष तथा कार्यक्रम संयोजक थानेश्वर न्यापानेले किसानमुखी काम गरेपनि सरकारबाट पाउनु पर्ने सहयोग नपाएको बताए । राज्यको नीति नियमको पालना गरेर दूरदराजका किसानले उत्पादन गरेको दूधको उचित मूल्य दिएर दूध संकलन गर्ने योजना रहेको उनले बताए ।

नेपाल डेरी एसोसिएसनको स्थापना दिवसका अवसरमा आज र भोली बुटवलको महाराजा होटलमा हुने २६औँ साधारण सभामा देशका सातै प्रदेशबाट २ सय बढी डेरी उद्योगीहरूको सहभागिता रहने नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ७ गते सोमबार