नेपालगन्ज ।
राप्ती नदीको तटीय क्षेत्रमा बस्ने चराहरूको गणना सुरु गरिएको छ । शनिबारबाट बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने राप्ती नदीबाट चरा गणना सुरु गरिएको हो ।
हरेक वर्ष यही सिजनमा गरिँदै आएको चरा गणनाको काम राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित राप्ती नदी तटबाट सुरु गरिएको फ्रेन्ड्स फर वाइल्ड लाइफ कन्जरभेसनका आशिष चौधरीले जानकारी दिए ।
चरा गणनाका क्रममा खटिएको टोलीले राप्ती नदीको तटीय क्षेत्रमा बसोबास गर्ने चराको गणना गर्नेछ । चरा गणना कार्यले चरा संरक्षणका साथै चरा पर्यटन र चराको बासस्थान सुरक्षित गर्नमा महत्वपूर्ण भूमिका निभाउने संरक्षणकर्मीको विश्वास छ । उक्त कार्य केही दिनसम्म चल्ने चौधरीले बताए ।
चरा गणना उद्घाटन कार्यक्रममा बाँके राष्ट्रिय निकिुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, निकुञ्जका कर्मचारी, सुरक्षाकर्मी, चरा विज्ञ राम शाहीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्