सुर्खेत कारागारका कैदीबन्दीलाई मनोसामाजिक परामर्श



सुर्खेत ।

जिल्ला कारागार कार्यालय सुर्खेतका तीन सय ७२ कैदीबन्दीलाई मनोसामाजिक परामर्श दिइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश सुर्खेतको आयोजनामा कैदीबन्दीलाई मनोसामाजिक परामर्श दिइएको हो । कार्यक्रममा प्रशिक्षण दिँदै जीवन प्रशिक्षक राधा पौडेलले मानिस मानसिक, शारीरिक, सामाजिक र अध्यात्मिकरुपले स्वस्थ हुनका लागि परामर्श, योग र ध्यान आवश्यक रहेको बताइन् ।

प्रशिक्षक पौडेलले भनिन्, ‘सोच बिग्रँदा गलत भावनाको विकास हुन्छ र त्यसले चेतना शक्ति नै कमजोर बनाइदिन्छ । तपाई सकारात्मक सोच मात्र राख्नुस्, यसले प्रेम, आनन्द, शान्ति र खुसी दिलाउँछ ।’ म भित्र हिरा र रत्नको खानी छ र यो समाजलाई म केही दिन सक्छु भन्ने सोच राख्न र योग ध्यानमा जोड दिन प्रशिक्षक पौडेलले कैदी बन्दीलाई सुझाइन् ।

कैदीबन्दीले गलत गरेर आएकाका लागि कारागार सुधार गृह भएपनि कमजोरीबिना फसाइएका यहाँ आएर डिप्रेसनको सिकार हुनुपरेको गुनासो गरे । उनीहरूले भने, ‘पहुँचवाला गलत गरेर आएका पनि पैसा तिरेर बाहिरिन्छन् तर पहुँचविहीन निर्दोष हुँदासमेत अन्याय सहेर थन्किनुपरेको छ ।’ गलत र सहीको अध्ययन अनुसन्धान नभई शक्ति र पहुँचका आधार न्याय दिने प्रणालीले निर्दोषले बिनाकारण सास्ती भोग्नुपरेको उनीहरूले पीडा व्यक्त गरे ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका निमित्त सचिव उत्तम गौतमले कैदीबन्दीमा सिर्जनशील सोच, पठन संस्कृति र सहि भावनाको विकास गराउने ध्येयले कारागारमा मनोसामाजिक परामर्शसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको बताए । ‘आशा छ, थोरै भएपनि परामर्श कार्यक्रमले उनीहरूको मनभित्र हुने आत्मग्लानी, हिनताबोध र कमजोरी भाव कम गर्न सघाउनेछ’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ ६ गते आइतबार