नेपालगन्ज ।
नेपालगन्ज मेडिकल कलेज सञ्चालन भइरहेको संरचनामा सञ्चालनमा आउन लागेको सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी डा. नितेश कनोडियालाई दिइएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको सञ्चालक संस्था लर्डबुद्ध एजुकेसनल लिमिटेडका सहायक निर्देशकसमेत रहेका डा.कनोडियालाई सञ्जीवनीको सीईओको जिम्मेवारी प्रदान गरिएको हो ।
डा. कनोडियाले आफूलाई कलेजको सुरुवाती व्यवस्थापनका लागि उक्त जिम्मेवारी दिइएको र सबैको साथ लिएर कलेजलाई स्थापित गराउन लागिपर्ने बताए ।
हाल मेडिकल कलेज सञ्चालनमा रहेको संरचना नेपालगन्ज हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिसँग सञ्जीवनी कलेज गाभिएपछि अब उक्त संरचनाबाट मेडिकल कलेजको सेवा हटेर कोहलपुरमा मात्रै सञ्चालनमा आउने बताइएको छ ।
त्यसका लागि विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्टार्फ नर्सलगायत करिब ९ सय जनशक्ति माग गरेको छ ।
इच्छुकहरूले माघ मसान्तभित्र आवेदन दिन पाउने गरी सूचना जारी गरिएको थियो । उक्त स्थानमा अब तीन सय शड्ढयाको अस्पताल सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिका नाममा सञ्चालन हुनेछ ।
नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरू आफ्नो सेवा सुविधा सरकारी मापदण्डअनुसारको बनाउनुपर्नेलगायतका माग राखेर आन्दोलन गरिरहेकै बेला मेडिकल कलेजको बोर्डको ठाउँमा सञ्जीवनीको बोर्ड राखिएको थियो । पछि फेरि कर्मचारीहरूले सञ्जीवनीको बोर्ड निकालेका थिए । तर अहिले फेरि सबै गेटमा सञ्जीवनीको नाम लेखिएको छ ।
कर्मचारीहरूले एक हप्ताभन्दा बढी अस्पतालको ओपीडी सेवा नै बन्द गरेपछि अदालतले परेको मुद्दामा फैसला गर्दै अस्पताल बन्द नगर्न आदेश जारी गरेको थियो । कर्मचारीहरूले भने आफ्ना जायज माग पूरा नगरी व्यवस्थापन पक्षले आन्दोलन तुहाएको आरोप लगाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्